७ वैशाख २०७८ मंगलबार
अर्थ

सैलुङ कन्स्ट्रक्सनको अर्को बदमासीः मेलम्चीको पाइप लाइन पनि अलपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीको सैलुङ कन्सट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको बूढानीलकण्ठ नगरपालिका क्षेत्रको पाइप लाइन र ओभरहेड ट्यांकी निर्माण अलपत्र पारेको छ। सैलुङले भारतीय सिआइपिइएलसँगको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा लागत अनुमानभन्दा ५० करोड रूपैयाँ कममा ठेक्का सकारेको थियो। कामको भौतिक प्रगति ज्यादै न्यून छ।  

सैलुङले सडक तथा पुलको जस्तै मेलम्चीको पाइपलाइन र ओभरहेड ट्यांकी पनि अलपत्र पार्ने छनक देखिएको छ। ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा निर्माणको भौतिक प्रगति १२ प्रतिशत मात्रै छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले सैलुङ/सिआइपिइएल जेभीले पाइप लाइन र ओभरहेड ट्यांकी निर्माणमा ढिलासुस्ती गर्दै आएको बताए। ‘ठेकेदार कम्पनीले एक सय ५५ किलोमिटर खानेपानीको पाइप बिछ्याउनुपर्नेमा अहिलेसम्म २० किलोमिटर बिछ्याएको छ,’ उनले भने, ‘ओभरहेड ट्यांकी निर्माण पनि सुस्त छ।’ ठेकेदार कम्पनीले एक अर्ब ४१ करोड रूपैयाँ लागतमा एक सय ५५ किलोमिटर पाइप लाइन र १२ सय ९४ घनमिटर क्षमताको ट्यांकी निर्माण गर्ने ठेक्का पाएको थियो। २०१९ मार्च २७ मा ठेक्का सम्झौता भएको थियो। सम्झौता गरेको ३० महिना (सेप्टेम्बर २०२१) मा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। सैलुङले लागत अनुमानभन्दा ५० करोड रूपैयाँ कम कबोलेर ठेक्का पाएको थियो। उक्त आयोजनाको लागि दुई अर्ब पाँच करोड रूपैयाँको लागत इस्टिमेट तयार थियो। यस अन्तर्गत ११ हजार घरधुरीमा पानीको धारा जडान गर्ने लक्ष्य छ।

निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बोलपत्रमा सहभागी थिए। आयोजनाका कार्यकारी निर्देशक श्रेष्ठले ठेकेदार कम्पनीलाई निर्माण कार्य अघि बढाउन बारम्बार अनुरोध गरे पनि ढिलासुस्ती गर्दै आएको बताए। ‘ठेक्का सम्झौता अनुसारको म्याद त सकिएको छैन,’ उनले भने, ‘तर कामको सुस्त गति देखेर ठेकेदार कम्पनीलाई दबाब दिइरहेका छौं।’

सैलुङले यसअघि ठेक्का पाएका भक्तपुर–नगरकोट, चाबहिल–जोरपाटी, जोरपाटी–सुन्दरीजल लगायत आधा दर्जनभन्दा बढी सडक अलपत्र छन्। तर राजनीतिक पहुँचका आधारमा यो कम्पनी कालोसूचीमा पर्नबाट जोगिएको छ।  

मेलम्ची खानेपानी आयोजनाले फागुन १० गते मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी पठाएर परीक्षण गरिसकेको छ। मेलम्चीको सुरुङ परीक्षणमा कुनै प्राविधिक कमजोरी नआए दुई महिनाभित्र सम्पूर्ण प्रविधिक कार्य पूरा गरेर आगामी वैशाखसम्म मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा वितरण गर्ने लक्ष्य छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?