७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘रानीमहललाई हेरिटेज होटल बनाउनु हुँदैन’

तानसेन नगरपालिका–१३ स्थित ऐतिहासिक दरबार रानीमहललाई ‘हेरिटेज’ होटल बनाउन नहुने स्थानीयले बताएका छन् । नेपाल पर्यटन बोर्डले रानीमहललाई हेरिटेज होटल बनाउने प्रस्ताव सरकारलार्ई गरेको थियो । ऐतिहासिक दरबारलाई अहिलेको अवस्थामा राख्न नहुने तर होटल पनि बनाउने नहुने भन्दै यहाँ भित्रिने पर्यटक तथा स्थानीय बताउँदै आएका छन् ।  

यही सोमबार खोटाङबाट रानीमहल अवलोकनका लागि आएको लोमस निरौलाको नवजोडी दिनभर रानीमहल क्षेत्रमा फोटो खिच्न व्यस्त थियो । रानीमहलको नाम सञ्चारमाध्यमबाट धेरै सुनेकाले आफूहरूको पहिलो गन्तव्य रानीमहल बनेको बताउँदै थिए । ‘पुरातात्विक महत्वको राष्ट्रिय सम्पत्ति हो । यसलाई होटल बनाउनुभन्दा यसको जगेर्ना गर्ने र पहिलेको जस्तो संरचना थियो, त्यस्तै संरचना राखेर हामी पछाडिका ५०औं पुस्ताले रानीमहल अवलोकन गरी प्रेम साटासाट गर्ने अवसर प्राप्त गरून्,’ लोमसले भने, ‘रानीमहल होटल होइन, रानीमहलकै रूपमा रहनुपर्छ ।’  

वामिटक्साल गुल्मीबाट रानीमहल वनभोज खान पुगेकी शिला खराल भन्छिन्, ‘यति धेरै महत्व बोकेको, यति धेरै पुरानो, पुरातात्विक सम्पदालाई होटल बनाउनु यसको गलत प्रयोग गर्नु हो । यसको प्रवद्र्धन गर्नुपर्छ, यसको संरक्षण गर्नुपर्छ, यसलाई पर्यटकीय स्थल बनाउनुपर्छ ।’  

पर्वतका रामप्रसाद ढकालले नेपालकै ऐतिहासिक ठाउँ देश तथा विदेशमा नेपालको ताजमहल भनेर चिनिने भएकाले यसको उचित संरक्षरण, संवद्र्धन र प्रवद्र्धन हुन नसकेको कारण अझै पनि कताकता ओझेलमा परेको हो कि भन्ने लागेको बताए । ‘पछिल्लो केही वर्षयता देशविदेशबाट पर्यटकहरू आउने क्रम बढेको छ,’ शिक्षकसमेत रहेका ढकालले भने, ‘युवापुस्तालाई यसले आकर्षित गरेको छ । यसलाई तिनै तहको सरकारले विशेष पहल गरेर विशेष विकास गरिनुपर्छ न कि होटलको रूपमा ।’  

तिलोत्तमा नगरपालिका रुपन्देहीकाका विष्णुप्रसाद ज्ञवालीले हजारौं पुर्खाको त्याग र परिश्रमबाट रानीमहलले स्वरुप प्राप्त गरेको भन्दै होटल बनाउने कुराबाट आफू आश्चर्यमा परेको बताए । बुटवल रुपन्देहीका रामप्रसाद पंगेनीले रानीमहललाई नै होटल होइन यसको आसपासमा राम्रा होटलको व्यवस्थापन गर्नुपर्ने बताए ।  

नेपाल पर्यटन बोर्डले सात प्रदेशका सात वटा महत्वपूर्ण पर्यटकीय प्रोडक्टको पहिचान गरी पर्यटकीय गन्तव्य बनाउने विषयमा रानीमहललाई पनि अगाडि सारेपछि रानीमहल चर्चामा आएको हो । रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि पर्यटन बोर्डले हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा र्‍याफ्टिङ, गण्डकीकिनारमा टेन्ट क्याम्प बनाउन सकिने धारणा अगाडि सारेको छ । रानीमहललाई खण्डहरबाट जोगाउन व्यावसायिक उपयोगमा लैजानुपर्ने पर्यटन बोर्डले बताएको छ ।  

इतिहासविद् निर्मल श्रेष्ठले रानीमहलको पहिचान नभइकन प्रस्ताव गर्ने योजनाले कुनै अर्थ नलाग्ने बताए । सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाएर मात्र रानीमहलको उपयोग, संरक्षण र विकासको योजना बनाउनुपर्ने श्रेष्ठको सुझाव छ । ‘रानीमहलमा म्युजियम बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न ।’ जिल्लाका सरोकारवालाहरूले रानीमहललाई होटल बनाउन नहुने भन्दै सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । कालीगण्डकीको उत्तरवाहिनी मोड, गण्डकी तटमा अवस्थित रानीमहललाई नेपालमा प्रेमको प्रतीक रुपमा लिने गरिएको छ । सरकारले होटलको प्रस्ताव अगाडि सारेर रानीमहलप्रति चिन्ता व्यक्त गरेकोमा पाल्पाका कृष्ण थापाले धन्यवाद व्यक्त गरे । तर रानीमहलमा होटलको नभई संरक्षणको आवश्यकता रहेको उनको तर्क छ । तानसेन नगरप्रमुख अशोककुमार शाहीले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरी सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालन गर्ने भनेर तानसेन नगरपालिकाले निर्णय गरिसकेको बताए ।  

के हो रानीमहल ?  

१९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । रानीमहल १९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदीको चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाईएको थियो ।  

प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ । प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतीक्षा गर्नेहरूको भीड लाग्ने गर्दछ । धार्मिक र प्रर्यटकीय रूपले महत्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।  

तानसेन नगरपालिका–१३ स्थित ऐतिहासिक रानीमहल (रानीघाट दरबार) संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी हस्तान्तरण गरेको थियो । साउन १० गते मन्त्रालयमा आयोजित समारोहबीच तत्कालीन पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको उपस्थितिमा पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई रानीमहल हस्तान्तरणको सहमति पत्र प्रदान गरेका थिए ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App