८ वैशाख २०८१ शनिबार
अर्थ

व्यवसायीको प्रश्नः दिनहुँ आमसभा गर्दा केही नहुने, तर, विदेशी आउँदा कोरोना सर्ने ?

कास्कीको मर्दी हिमाल पदयात्रामा रहेका पर्यटक । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणका कारण नेपालको पदयात्रा पर्वतीय पर्यटन बढी नै थला परेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । कोरोनाले पर्यटनका सबै क्षेत्रलाई मार पारेपनि पदयात्रा र पर्वतीय पर्यटन क्षेत्र झनै बढी थला परेको व्यवसायीको भनाई छ ।  

त्यस्तै राजनीतिक दल र सरकारले दिनहुँजसो हजारौं नागरिक भेला गराएर आमसभा गर्दा कोरोना संक्रमण नहुने, तर विदेशी पाहुना घुम्न आउन खोज्दा कोरानाको त्रास देखाउँदै कडाई गरेको भन्दै व्यवसायीले आपत्ति पनि जनाएका छन् । सम्पन्न मुलुकका सचेत पाहुना घुम्न आउन खोज्दा राज्यले नै अवरोध खडा गरेको व्यवसायीको गुनासो छ । कोरोनाको साच्चै त्रास हो भने राजनीतिक दलहरुले दिनहुँ हजारौं नागरिकलाई भेला गरेर सभासम्मेलन गर्न नहुने पनि व्यवसायीको भनाई  छ ।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष दीपकराज अधिकारी भन्छन्, ‘दशौंहजार कार्यकर्ता भेला गराएर राजनीतिक दल र स्वयं सरकारले दिनहँुजसो विभिन्न सहरमा भेला, आमसभा गर्दा कोरोना संक्रमण नहुने, तर, घुम्न आउन चाहेका विदेशीका लागि अनेक बहानामा तगारो तेर्साएका छन । यस्ता अवरोधले पर्यटनलाई नोक्सान पुगेको छ ।’

सम्पन्न मुलुकका सचेत पाहुना घुम्न आउन खोज्दा पनि यहाँ विभिन्न स्वास्थ्य प्रोटोकलका निहुँमा अवरोध खडा गरिएको उनले बताए । ‘कुनै न कुनै रुपमा पर्यटकलाई अप्ठेरो पारिएको छ । सावधानी अपनाएर सहजीकरण गर्ने हो भने पर्यटनमा केही राहत हुनेछ,’ अधिकारीले भने, ‘तर, पाहुनालाई नै तर्साउने गरि यहाँ नीति बनाइएको छ ।’ राजनीतिक दल र स्वयं सरकार नै कोरोनाप्रति सचेत हुन्थ्यो भने यो बेला हजारौंको सहभागितामा भेला र आमसभा गर्न नहुने उनले बताए ।  

‘राजनीतिक दल र सरकारलाई भेला गर्दा संक्रमण नसर्ने, तर, जहाज चढेर घुम्न आउँछु भन्दा पर्यटकलाई अवरोध गर्ने अवस्था छ,’ उनले भने । अहिले नेपाल आउन चाहेका पाहुना आउन नपाउँदा चिन्तित रहेको उनले बताए । ‘राजनीतिक दलको भेला दिनहुँ चलिरहन्छ । भेला र अमसभाले कोरोना नसर्ने, तर, विदेशी आउँदा तगारो खडा गर्ने नीति दल र सरकारले अपनाएको छ,’ उनले भने ।  

टानले पनि विदेशी पाहुनाका लागि अप्ठेरा प्रावधान लागु गरेको भन्दै विज्ञप्ति निकालेर विरोध पनि जनाएको छ । ‘नेपाल आएका विदेशी पाहुनामध्ये ७० प्रतिशत पदयात्रा क्षेत्रको पर्यटन गतिविधिमा संलग्न हुन्छन् । तर, सरकारले विदेशी पर्यटनलाई नेपाल भिœयाउने गरि योजना नबनाउँदा अप्ठेरो भयो,’ टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले भने, ‘कोरोनाले पर्यटनका सबै क्षेत्र मर्कामा परेका छन् । पदयात्रा क्षेत्र झनै मर्कामा परेको छ ।’ साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको पदयात्रा क्षेत्रलाई पूर्नजीवन दिन सरकार गम्भिर नभएको पौडेलले बताए ।

सरकारले विदेशी पर्यटकका लागि जारी गरिएका भिसा र स्वास्थ्य प्रोटोकलले पाहुना आउन नपाएको पनि अध्यक्ष पौडेलको भनाई छ । ‘नेपाल भित्रिएका विदेशीको विमानस्थलमै कोरोना परीक्षण गरेर छोटो समयमै रिपोर्ट दिएर पदयात्रामा जाने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘एकसातासम्म होटल क्वारेन्टिनको प्रावधान अब सच्चाउनुपर्छ ।’ उनले पनि दिनहुँको भेला र आमसभाले संक्रमण नसर्ने, तर विदेशी पाहुना सुरक्षित तरिकाले घुम्न आउँछु भन्दा विभिन्न निहुँ बनाएर अवरोध खडा गरिएको बताए ।  

अहिले बढीमा ७२ घण्टा अघिको कोरोनाको पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट लिएर आएका विदेशीलाई पाँचदिनमा पुन पिसिआर परीक्षण गराउने र नेगेटिभ रिपोर्ट आएमा मात्र सातौंदिनमा बल्ल पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा अब त्यो प्रावधान सच्चाउनुपर्ने उनले बताए । ‘सातदिनसम्म होटल क्वारेन्टिन बस्ने झन्झट बेहोर्न विदेशी पर्यटक नेपाल आउँदैनन,’ पौडेलले भने, ‘त्यसैले छोटो समयमा रिपोर्ट दिन मिल्ने गरि विमानस्थलमा ओर्लनासाथ कोरोनाको पिसिआर परीक्षण गराउनुपर्छ ।’  

त्यस्तै कोरोनाका कारण बन्द गरिएका र हालसम्म पनि सुचारु नभएका हवाई उडानलाई पहिलेकै अवस्थामा संचालनमा ल्याउने पहल गर्न पनि व्यवसायीले माग गरेका छन् । नेपाल र चीन तथा नेपाल–भारत बीचका सिमा नाका खुलाएर पर्यटक र सवारीको सहज आवागमन मिलाउन पनि पदयात्रा व्यवसायीले माग गरेका छन् । टानका अध्यक्ष पौडेलले विज्ञप्ती नै प्रकाशित गरि सवारी साधन सहित पर्यटकको आवागमनका लागि यथाशिघ्र नेपाल–भारत तथा नेपाल–चीनका नाका खुल्ला गर्नुपर्ने उल्लेख गरेका छन । ‘अहिले भारतीय पर्यटक चाहेर पनि नेपाल आउन पाएका छैनन,’ उनले भने, ‘नाकाको झन्झट सहज बनाउने हो भने केही विदेशी पक्कै आउनेछन । आउन चाहेका पर्यटकलाई अहिले नाका बाधक बनेका छन् ।’  

कोरोनाको दोश्रो खेप पुरा गरेको प्रमाण सहित नेपाल घुम्न आउने बिदेशी पर्यटकलाई पिसिआर परीक्षण नगरि  भिसा उपलब्ध गराई निर्वाध रुपमा आउने वातावरण मिलाउन पनि व्यवसायीको आग्रह छ । त्यस्तै विदेशीका लागि नेपाल घुम्न आउँदा ५ हजार अमेरिकी डलरको कोरोना बिमाको प्रावधान पनि सच्चाउनुपर्ने टानका अध्यक्ष पौडेलको भनाई छ । 

प्रकाशित: ११ फाल्गुन २०७७ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App