८ वैशाख २०८१ शनिबार
अर्थ

मेलम्ची सुरुङ परीक्षण गर्न दोस्रोपटक पानी

मुहानस्थल अम्बाथानमा रहेको कन्ट्रोल कक्षको स्विच थिचेर परीक्षणका लागि सुरुङमा पानी प्रवेश गराउँदै खानेपानीमन्त्री मणिचन्द्र थापा । तस्बिर:  ध्रुव/नागरिक

बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे। पहिलोपटक असफल भएपछि पुनः दोस्रोपटक सुरुङ परीक्षण थालिएको हो।

यसअघि गत असारमा गरिएको परीक्षण प्राविधिक दुर्घटना निम्तिएर असफल भएको थियो। मुहानस्थल अम्बाथानस्थित कन्ट्रोल कक्षको स्विच थिचेर सुरुङमा पानी प्रवेश गराउँदै मन्त्री थापाले मेलम्ची आयोजना काठमाडौं उपत्यकावासीको सपना मात्रै नभएर मुलुककै समृद्धिको आधार भएको बताए।  

‘मेलम्चीको सफलताले मुलुकको विकास क्षेत्रमा उत्साह भर्ने काम गर्छ,’ चुनावी नारा बनाइँदा आयोजना ढिलाइ भएको उल्लेख गर्दै उनले भने। आयोजना सम्पन्न हुने दिशामा अघि बढेकाले मन्त्रालयले छिट्टै मेलम्ची पानी वितरणको योजना बनाउने उनले जनाए। प्राविधिक त्रुटि सच्याएर पुनः परीक्षण थालिएसँगै काकाकुल काठमाडौं उपत्यकावासीको दुई दशक लामो आयोजना लगभग पूरा हुने चरणमा पुगेको छ।  

आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले साढे दुई महिनाभित्र सुरुङ परीक्षण पूरा हुने बताए। ‘अबको १५–१६ दिनमा मेलम्ची पानी सुन्दरीजल पुग्छ,’ उनले भने। परीक्षण पूरा गरेर आगामी चैत अन्तिम सातादेखि वैशाखसम्ममा मेलम्ची पानी उपत्यकावासीको घर–घरमा वितरण गर्ने आयोजनाको तयारी रहेको उनले जानकारी दिए।  

खत्रीका अनुसार सुरुङसँगै, सुन्दरीजलमा रहेका प्रशोधन केन्द्र र वितरण पाइप लाइनसमेत परीक्षण गरिनेछ। सुरुङ भरिन १५–१६ दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर खालि गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी छ। ‘प्रशोधन केन्द्रमा पानी संकलन भएपछि एकसाथ पाइपलाइन परीक्षण र वितरणको काम सुरु हुन्छ,’ उनले भने।  

मेलम्चीबाट सुन्दरीजल पुग्ने पानी संकलन गर्न त्यहाँ प्रशोधन केन्द्र निर्माण गरिसकिएको छ। त्यहाँ साढे आठ करोड लिटर क्षमताका दुईवटा प्रशोधन केन्द्र छन्। मेलम्ची सुरुङ दैनिक ५१ करोड लिटर पानी लैजान सकिने गरी बनाइएको छ। पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर उपत्यका लैजाने तयारी छ। तर परीक्षण प्राविधिक मापदण्डअनुसार अहिले प्रतिसेकेण्ड दुई सय ६० लिटर पानी सुरुङमा हालिएको खत्रीले जनाए।

‘यसले पुर्‍याउन सक्ने असर अध्ययन गर्न थोरै मात्र पानी छिराउनु परेको हो,’ उनले प्रस्टाए। यही सुरुङमार्फत सिन्धुपाल्चोककै लार्के र यांग्री खोलासमेत मिसाएर थप १७/१७ करोड लिटर पानी लैजाने आयोजनाको तयारी छ। यसका लागि मेलम्ची मुहानसम्म थप नौ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। यसका लागि प्रारम्भिक कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ। सुरुङ परीक्षणको क्रममा यसअघिको जस्तो दुर्घटना नहोस् भनेर विशेष सावधानी अपनाउँदै उद्धार योजना पनि बनाएको आयोजनाले जनाएको छ। मेलम्ची दक्षिण एसियाकै पहिलो सुरुङ खानेपानी आयोजना समेत हो।

प्रकाशित: ११ फाल्गुन २०७७ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App