coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खानेतेलमा ४५ र गेडागुडिमा ४० रुपैयाँसम्म मुल्यवृद्धि

महंगीले उपभोक्ताको ढाडै सेकियो

गत साउनमा तोरिको तेलको मुल्य प्रतिलिटर २२५ रुपैयाँ थियो । तर, अहिले मुल्य २० रुपैयाँ बढेर तोरिको तेलको प्रतिलिटर मुल्य २४५ रुपैयाँ पुगेको छ । त्यस्तै सनफ्लावर तेलको मुल्य पनि प्रतिलिटर १६५ रुपैयाँबाट बढेर २१० रुपैयाँ पुगेको छ । सनफ्लावर तेलमा लिटरको ४५ रुपैयाँ मुल्य बढेको छ । त्यसैगरि भटमासको तेलको मुल्यमा पनि ४५ रुपैयाँ बढेको छ । साउनमा पोखरामा भटमासको तेलको मुल्य लिटरको १५५ रुपैयाँ रहेकोमा अहिले २०० रुपैयाँ पर्छ ।  

तेलमा मात्र होइन, गेडागुडी र दालको मुल्य पनि उत्तिकै आकाशिएको छ । सातमहिना (साउन–माघ) अवधिमा मासको दालमा किलोमा १० रुपैयाँ मुल्य बढेको छ । मसुरोको दालमा पनि किलोमा १५ रुपैयाँ बढेको छ । चनाको मुल्यमा किलोमा १० रुपैयाँ बढेको छ । सबैभन्दा बढी सेतो केराउमा किलोमै ४० रुपैयाँ बढेर ७० बाट ११० रुपैयाँ पुगेको छ ।  

सबै उपभोक्ताको भान्छामा दिनहुँ चाहिने तेल, गेडागुडी र दालको मुल्य आकाशिएको छ । एकलिटर तेलमै ४५ र एककिलो गेडागुडीमा ४० रुपैयाँसम्म मुल्य बढ्दा भान्छा महंगो भएको गुनासो उपभोक्ताको छ । कोरोना भाइरस महामारिले आम्दानी घटेको बेला दैनिक उपभोग्य बस्तुको मुल्य आकाशिएपछि घरखर्च धान्न मुस्किल भएको उपभोक्ताको गुनासो छ । ‘एककिलो केराउमा ४० रुपैयाँ बढेको छ । आम्दानी घटेको बेला बढेको यो मुल्यले हामीलाई खर्च थेग्नै सकस भयो,’ गैहपाटनका राजु भुजेलले भने, ‘किलोमा २–४ रुपैयाँ तलमाथि हुनु स्वभाविक हो । तर, ४०–४५ रुपैयाँसम्म मुल्य बढेपछि खर्च थेग्नै सकिन्न ।’

तेल, गेडागुडी र दालको मुल्य बढ्दा सबैभन्दा सकस भएको उनले बताए । ‘तरकारी, तेल, गेडागुडी, दाल भान्छामा दिनहुँ नभई नहुने उपभोग्य बस्तु हुन । तर, तिनै उपभोग्य बस्तुको मुल्य आकाशिएको छ,’ भुजेलले भने, ‘आम्दानी घटेको बेला उपभोक्ताको ढाडै सेक्नेगरि महंगी बढ्दा पनि सरकारले ध्यान दिन सकेन । पछिल्लो सातमहिनाको अवधिमा उपभोग्य बस्तुको मुल्य छोइनसक्नु भएको छ ।’ कोरोना भाइरस संक्रमणको कारण थलिएको व्यवसाय उकासिन नपाउँदै उपभोक्ता महंगीको मारमा परेको उनले बताए ।

व्यवसायी पनि कच्चा पदार्थ आयातमै मुल्य बढेकोले उपभोक्ताको ढाड सेक्नेगरि खुद्रा मुल्यमा मार परेको बताउँछन् । चिप्लेढुंगाको मुनाल स्टोरका संचालक मोति भुजेल भन्छन, ‘साच्चै यो बेला उपभोक्ताको ढाडै सेकिनेगरि मुल्य बढेको छ । तेल, गेडागुडी र दालको मुल्य ह्वात्तै आकाशिएको छ । सबै वर्गका उपभोक्तामाथि  महंगीको  भार थपिएको छ । उनका अनुसार तेलको कच्चा पदार्थ आयातमै मुल्य बढेको हो । बढी मुल्य पाइने भन्दै केराउ, दाल लगायतका खाद्यबस्तु बाहिर निर्यात गर्दा महंगो भएको उनले बताए । ‘नेपालबाट बंगलादेशमा केराउ निर्यात हुन्छ । अष्ट्रेलियाबाट आयात भएको केराउ बंगलादेश निर्यात हुँदा नेपालमा अभाव हुन गई मुल्य बढेको हो,’ व्यवसायी भुजेलले भने, ‘अस्टे«लियामा उत्पादित केराउ विभिन्न मार्ग हुँदै नेपाल आउँछ । नेपाल भित्रिएको त्यही केराउ बंगलादेश निर्यात हुन्छ । नेपालमा भन्दा बढी मुल्य पाउने भएपछि नेपाली व्यवसायीले बंगलादेशसम्म केराउ निर्यात गर्छन ।’

भारतमा उत्पादिन बस्तु आन्तरिक रुपमै खपत भएपछि बल्ल बाहिर निर्यात हुने भएकोले नेपालमा केराउ, बोडी लगायतका उपभोग्य बस्तु अष्ट्रेलियाबाट आउने उनले बताए । ‘भारतले आन्तरिक रुपमै खपत गरेपछि बल्ल बाहिर पठाउने हो, त्यही भएर भारतीय उत्पादन आउँदैन,’ उनले भने, ‘तर, त्यही भारत हुँदै भित्रिएको केराउ पनि पुन बंगलादेश निर्यात हुँदा नेपालमा अभाव देखाएर मुल्य बढाइन्छ ।’  

त्यस्तै खानेतेलको मुल्य पनि उत्तिकै बढ्नुमा कच्चापदार्थको महंगीको कारक रहेको उनले बताए । ‘तेलको कन्टेनर बाहिरबाट आउने हो । यहाँ रिफिल र फिल्टरिङ मात्र गर्ने हो । यहाँ आफैले तेल उत्पादन गर्ने होइन,’ उनले भने, ‘कोरोनाका कारण अहिले तेल आयात गर्दा कन्टेनरलाई बढी समय लाग्ने गरेको छ । पहिला एकमहिनामै भित्रिने कच्चा पदार्थ अहिले दुईमहिना लगाएर आउँछन । कोभिडका कारणले तेलका कन्टेनरलाई समय लाग्ने गरेको छ, त्यसले पनि महंगी बढाउन सघाएको हो ।’ खानेतेल मलेशिया लगायतका मुलुकबाट आउँछ । ‘उपभोक्ताको ढाड सेक्नेगरि अचाक्ली मुल्य बढेकै हो,’ मुनालका संचालक भुजेलले भने ।  

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला पनि उपभोग्य बस्तुको मुल्य आकाशिएको बताउँछन् । ‘तेल, दाल र गेडागुडीमा मुल्य बढेको छ । उद्योगबाट बढेरै आएको छ,’ कोइरालाले भने, ‘अधिक उपभोग्य बस्तु बाहिरबाट आउने भएको मुल्य बढेको टुलुटुलु हेर्ने बाहेक विकल्प छैन । उद्योगले आपत्तिजनक रुपमा मुल्य बढाएका छन् ।’ मुल्य बढ्नुको कारण पनि भन्न सकिने अवस्था नरहेको र सरकारले मुल्य नियन्त्रण गर्न नसकेको उनले बताए ।  ‘एकलिटर तेलमै ५० रुपैयाँ भन्दा बढी मुल्य बढेको छ । मुल्यवृद्धिबारे बाणिज्य विभागमा हामिले पनि उजुरी गरेका छौ,’ उनले भने । जर्बजस्ती मुल्य बढाएको भनेर दुईवटा तेल उद्योगलाई कारवाहि स्वरुप तीनलाख रुपैयाँका रुपैयाँ जरिवाना तिराएपनि मुल्य नियन्त्रणमा आउन नसकेको उनले बताए ।  

‘खानेतेलको कच्चापदार्थ मलेशियाबाट आउने हो । यहाँ उत्पादन छैन । रिफाइन मात्र गर्ने हो,’ उनले भने, ‘कच्चा पदार्थ ल्याउँदा नै केही मुल्य बढेको छ । तर, व्यवसायीले पनि मुल्य थपेकाछन् ।’ दैनिक उपभोग्य बस्तुमा चलखेल भएको उनले बताए । ‘मुल्य नियन्त्रण गर्ने  निकायले नै हलो अड्काएर गोरु चुटेको जस्तो गरेका छन् । कच्चा पदार्थमा केही बढेको छ, तर, त्यो भन्दा बढी मुल्य व्यवसायीले बढाएका छन,’ उनले भने, ‘कच्चा पदार्थको बहानामा मुल्य बढाएका छन् ।’

गेडागुडीको मुल्य बढ्नुमा भारतमा किसान आन्दोलनको पनि कारण रहेको उनले बताए । ‘भारतमा किसान आन्दोलन डेढमहिना चल्यो । त्यसले गर्दा उत्पादित बस्तु बाहिर जान पाएन । उत्पादिन बस्तु बजारमा आएन, स्टक सामानको मुल्य बढाएर चलखेल गराइयो,’ उनले भने, ‘कच्चा पदार्थको मुल्य बढ्दा मारमा उपभोक्ता छन् । तर, सरकारले नियन्त्रणको प्रयास नै गरेन ।’

प्रकाशित: १० फाल्गुन २०७७ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App