coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिएको अवसर र उच्च अध्ययनमा त्रिवि तगारो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधिलाई दिँदै आएको समकक्षता रोक्दा सयौं सिए उच्च शिक्षा अध्ययन लगायत विभिन्न अवसरबाट वञ्चित भएका छन्। त्रिविको कदमबाट समकक्षता पाउने समयमा कलेज भर्ना भई स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका व्यक्तिसमेत प्रमाणपत्र र ट्रान्सकृप्टबाट वञ्चित छन्।  

त्रिविले बिनासूचना यसअघि दिँदै आएको समकक्षता रोकेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले जनाएको छ। एक वर्ष अघिसम्म नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया लगायत संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेका विद्यार्थीलाई त्रिवि लगायत नेपालका अन्य विश्वविद्यालय अन्तर्गतका कलेजहरूले स्नातकोत्तर तहमा भर्ना लिन्थे।

ती सिएहरू लोकसेवा आयोगका परीक्षामा सहभागी भएर सरकारी सेवामा प्रवेश गर्न सक्थे। त्रिविले समकक्षता रोक्दा यी दुवै अवसरबाट सिएहरू वञ्चित भएको संघका महासचिव तेजप्रसाद सुवेदी बताउँछन्। ‘त्रिभुवन विश्वविद्यालयले बिनासूचना समकक्षता स्थगित गर्दा चार्टर्ड एकाउन्टेन्ट उपाधि प्राप्त गरेको ठूलो जनशक्ति रोजगारी, संस्थागत नियुक्ति, थप अध्ययन, अनुसन्धान लगायत अवसरबाट वञ्चित भएको छ,’ महासचिव सुवेदीले भने, ‘समकक्षता पाउने समयमा विभिन्न कलेजमा भर्ना भएर अध्ययन गरी हाल परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले प्रमाणपत्र र ट्रान्सकृप्टसमेत पाएका छैनन्।’

कोटेश्वरकी रितिशा शर्मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजबाट एमबिएस उत्तीर्ण गरेर पनि समकक्षताकै कारण प्रमाणपत्र नपाउने विद्यार्थीमध्येकी एक हुन्। भारतबाट चार्टर्ड एकाउन्टेन्सी सकाएकी उनी सन् २०१७ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा भर्ना भइन्। क्याम्पसले तत्कालीन चलन अनुसार उनलाई भर्ना लियो, नियमित अध्ययन गरिन्, परीक्षा दिइन् र पास गरिन्। थेसिस पनि सकाएर प्रमाणपत्र माग्न जाँदा समकक्षताको अड्को थापियो।  

‘त्यो बेला समकक्षता गराउनु पर्दैनथ्यो, टियूको एउटा पुस्तिका छ, त्यसैमा उल्लेखित प्रावधानको आधारमा कलेजले भर्ना लियो। त्रिवि दर्ता नम्बर लेख्नुपर्ने ठाउँमा त्यो नभए पनि हुन्छ भनेर भर्ना लिइएको थियो,’ उनले भनिन्, ‘अहिले परीक्षा पास लगायत सबै कुरा सकाएर प्रमाणपत्र लिन जाँदा टियू रजिस्ट्रेसन नम्बर चाहिन्छ भनेर रोकिएको छ।’

संघका अनुसार सिए उपाधि पाएका विद्यार्थीलाई विश्वविद्यालयहरूले उपाधि दिने नियमनकारी निकायसँगको समन्वयमा स्नातक तहको समकक्षता दिन्छन्। ‘एक वर्षअघिसम्म त्रिभुवन विश्वविद्यालयले पनि समकक्षता दिइरहेकै थियो,’ महासचिव सुवेदी भन्छन्, ‘अहिले आएर एक्कासि रोकेको छ। रोक्नु पर्नाको कारण पनि लामो समयसम्म खुलाइएन।’  

एक वर्ष अघिसम्म त्रिविले चार्टर्ड एकाउन्टेन्सी उपाधि (पेसागत डिग्री) प्राप्त गरेका व्यक्तिलाई स्नातक सरहको र चार्टर्ड एकाउन्टेन्सीका अतिरिक्त स्नातक तहको बिबिएस वा बिबिए उत्तीर्णलाई स्नातकोत्तर सरहको समकक्षता दिइरहेको थियो। त्रिविले समकक्षता नदिएसम्म चार्टर्ड एकाउन्टेन्ट उपाधि प्राप्त गरेका व्यक्तिले लोकसेवा आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी स्वामित्वका अन्य संस्थानमा रोजगारीको अवसर पाउने छैनन्।

शैक्षिक योग्यता स्नातक तोकिएका सरकारी र राजनीतिक नियुक्तिको अवसरबाट पनि उनीहरू वञ्चित हुनेछन्। संघका अध्यक्ष आनन्द शर्मा वाग्ले त्रिविले गरेको समकक्षता स्थगनले ब्रेन ड्रेन (प्रतिभा पलायन) लाई बढावा दिने बताउँछन्। ‘त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेसँगै स्नातकोत्तर उपाधि लिन विदेशी विश्वविद्यालयमा भर्ना हुने क्रम बढिसकेको छ,’ शर्माले भने, ‘कतिपय सिएहरू विदेशी विश्वविद्यालय अन्तर्गतका कलेजमा स्नातकोत्तर तहमा भर्ना भइसकेका छन्।’

संघले समकक्षता रोक्नुको कारण माग गर्दा विश्वविद्यालयले प्रस्ट जवाफ दिएको छैन। संघले गत असोज २९ गते समकक्षता रोक्नु पर्नाको कारणबारे जानकारी माग्दै त्रिभुवन विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखामा पत्र बुझाएको थियो। महाशाखाले सोको जवाफ नदिएपछि संघले पुनः मंसिर १४ गते अर्को पत्र बुझायो। विश्वविद्यालयले त्यसलाई पनि बेवास्ता गरेपछि संघले गत पुस २१ गते सोही व्यहोराको पत्र विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा बुझाएको छ।  

तीनवटै पत्रको जवाफ नआएपछि संघले सूचना आयोगसमेत गुहारेको छ। विश्वविद्यालयले सूचना नदिएको व्यहोरा खुलाउँदै संघले पुस १ गते राष्ट्रिय सूचना आयोगमा पत्र दर्ता गराएको छ। 

यसैबीच, त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले गत माघ २ गतेको मितिमा संघलाई एउटा पत्र लेखेर त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद १४ मा शैक्षिक तथा प्राज्ञिक संस्थाहरू तथा तिनका प्रमाणपत्र वा उपाधिहरूलाई मान्यता तथा समकक्षतासँग सम्बन्धित कुराहरू मात्र उल्लेख भएको, त्यसमा पेसागत पाठ्यक्रमसँग सम्बन्धित प्रमाणपत्रको सकमक्षतासम्बन्धी कुरा उल्लेख नभएको र सिएको पाठ्यक्रम पनि पेसागत नै भहेकोले २०७७ पुस २७ गतेको समकक्षता निर्धारण बोर्ड बैठकको निर्णय बमोजिम यस्ता प्रमाणपत्रहरूको समकक्षताका सम्बन्धमा स्पष्ट राय उपलब्ध गराउन अनुरोध गर्दै त्रिवि, व्यवस्थापन संकाय, डिनको कार्यालयमा पत्राचार गरेको जानकारी गराएको छ।

 सो पत्रमा पाठ्यक्रम विकास केन्द्रले डिनको कार्यालयबाट निर्णय भई जानकारी आएपछि संघले मागेको सूचना दिन सकिने बताएको छ। सिएको हकमा नियमनकारी निकायले दिएको पेसागत डिग्रीलाई सोही संस्थासँगको समन्वयमा विश्वविद्यालयहरूले समकक्षता दिने चलन विश्वभर छ। विगतमा त्रिभुवन विश्वविद्यालयले पनि यसै गथ्र्यो। 

प्रकाशित: १० फाल्गुन २०७७ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App