coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा

नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ। एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर्गत सेग्रिगेसन हाउस निर्माण गरिएको हो।

केन्द्रीय सरकारको विशेष अनुदान शीर्षकबाट प्राप्त ४० लाख रूपैयाँ र नगरपालिकाको ४० लाख गरी ८० लाख रूपैयाँमा सेग्रिगेसन हाउस निर्माण गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए। ‘विदुर नगर हाम्रो सहर, सफा स्वच्छ राख्ने सबैको रहर’ उद्घोषका साथ सरसफाइ अभियान चलाइरहेको नगरपालिकाले वडा नम्बर ९ स्थित सामरी दोभानमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको जग्गामा सेग्रिगेसन हाउस निर्माण गरेको हो।

यसअघि नगरपालिकामा उत्पादित फोहोरलाई खम्बाली क्याम्पमा व्यवस्थापन गरिन्थ्यो। उक्त स्थानमा केन्द्रीय कारागार निर्माण भइरहेको छ। फोहोर व्यवस्थापन गर्ने स्थानको विकल्प खोज्नुपर्ने अवस्था आएकोले उत्पादित फोहोरको मात्रा कम गराउने अभियानमा नगरपालिका लागेको मेयर पण्डितको भनाइ छ।

‘फोहोर व्यवस्थापनको लागि जमिनको क्षेत्रफल बढाउनेभन्दा पनि मात्रा कम गराउने सोच थियो नगरपालिकाको। सोही अनुसार सेग्रिगेसन हाउस निर्माण गर्ने निर्णय भयो। नगरवासीको घरबाटै कुहिने र नकुहिने फोहोर विभाजन गरेर कुहिनेलाई कम्पोस्ट मल बनाउने र फलाम, सिसा, प्लास्टिक जस्ता नकुहिनेलाई सेग्रिगेसन हाउसमार्फत छानेर बिक्री गर्नेर्छौं,’ मेयर पण्डितले भने, ‘फोहोरलाई मोहोरमा बदल्ने लक्ष्य हो हाम्रो।

ठूलो मात्रामा रहेको फोहोरलाई थोरै ठाउँमा बिसर्जन गर्न सक्छौं। टोल विकास संस्थामार्फत कुहिने र नकुहिने फोहोर छुट्याउन घरघरमा डस्टबिन उपलब्ध गराइरहेका छौं।’ विदुर नगरपालिकाबाट दैनिक  १४ टन फोहोर उत्पादन हुन्छ। त्यसमध्ये ६० प्रतिशत नकुहिने हुन्छ।

स्वच्छ र सफा नगर स्थापनाको लागि नगरपालिकाको १, २, ४, ६, ८ र ९ वडामा गरी ४१ वटा टोल विकास संस्था स्थापना गरिएको विपद तथा वातावरण शाखा प्रमुख सुवास पाण्डेले बताए। विदुर नगरपालिकाले केही महिनादेखि रङमा आधारित वर्गीकरण र बारमा आधारित संकलन प्रणाली विकास गरेको छ। तर यो प्रक्रिया कार्यान्वयनमा चुनौती रहेको पाण्डेले बताए। 

प्रकाशित: ९ फाल्गुन २०७७ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App