१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेलम्ची पानी वितरण गर्न २० अर्बको संरचना

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्‍याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ। साढे ७४ हजार घनमिटर क्षमताका १० वटा ट्यांकी समेत तयारी अवस्थामा छन्। पहिलो चरणमा ११ सय ३२ किलोमिटर वितरण सञ्जालमध्ये अहिलेसम्म ११ सय २२ किलोमिटरभन्दा धेरै तयार भइसकेको छ। बाँकी १० किलोमिटर निर्माण भइरहेको छ। ललितपुरमा १० किलोमिटर जतिको काम जारी छ।  

पिआइडीका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ मेलम्चीको पानी सुन्दरीजल खसेसँगै उपत्यकामा वितरण गर्न सकिने बताउँछन्। ‘हामी तम्तयार छौं,’ उनले भने, ‘पानी सुन्दरीजलमा खसेसँगै थोक वितरण लाइनमार्फत तीनै जिल्लामा निर्माण गरिएका १० वटा करोडौं लिटर क्षमताको ट्यांकीमा हालेर उपभोक्ताको घरमा पठाइनेछ।’ मेलम्चीको पानी सुन्दरीजलमा आइसकेपछि टेस्टिङ र कमिसनिङको काम गरिनेछ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ।  

पिआइडीका कार्यकारी निर्देशक श्रेष्ठले एसियाली विकास बैंकको सहुलियत ऋणमा काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो चरणमा पानी ट्यांकी तथा थोक र वितरण पाइप लाइन बिछ्याउन करिब २० अर्ब रूपैयाँ खर्च भइसकेको बताए। निर्देशनालयका अनुसार आरुबारी, जगडोल, खुमलटार, कीर्तिपुर, निलबाराही, बाँसबारी, पानीपोखरी, बालाजु, कटुन्जे लगायत १० ठाउँमा साढे ७४ हजार घनमिटर क्षमताका १० वटा पानी ट्यांकीमध्ये कटुन्जेबाहेक अन्य नौ स्थानका ट्यांकी तयार भइसकेका छन्। तयार भएका ट्यांकीको परीक्षण पनि भइसकेको छ।

पिआइडीले २०६९ सालमा उपत्यकामा खानेपानीको थोक तथा वितरण लाइनको काम सुरु गरेको हो। मेलम्चीको पहिलो र दोस्रो खण्ड तयार भएको अवस्थामा दैनिक ५१ करोड लिटर पानी उपत्यका ल्याउन सकिनेछ। पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर र दोस्रो चरणमा यांग्री र लार्केको ३४ करोड लिटर पानी आउनेछ। निर्देशनालयले खानेपानीको भल्ब च्याम्बर, एयर भल्ब, वासआउट, वितरण कन्ट्रोल प्रणाली लगायत संरचना निर्माण पनि लगभग सकिने चरणमा पुगेको जनाएको छ।

पहिलो चरणमा एक लाख १४ हजार घरधुरीमा मेलम्ची पानी पठाउने लक्ष्य छ। योमध्ये २० हजार घरधुरीमा नयाँ वितरण लाइनबाट र बाँकीमा पुरानै वितरण लाइनमा इन्टरकनेक्सन गरेर पानी वितरण गर्ने तयारी रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए। ‘पहिलो चरणमा मेलम्चीको पानी रिङरोडभित्रका उपभोक्ताले नयाँ पाइप लाइनबाट प्राप्त गर्नेछन्,’ उनले भने, ‘रिङरोडबाहिरका उपभोक्ताले भने पुरानै पाइप लाइनबाट पाउनेछन्।’  

निर्देशनालयले अहिले अनामनगर, थापागाउँ, कोटेश्वर, नरेफाँट, दरबारमार्ग, नक्साल, चःमती जग्गा एकीकरण आयोजना, बालाजु लगायत क्षेत्रमा नयाँ विस्तारित पाइप लाइनबाटै पानी वितरण गरिरहेको छ। निर्देशनालयले सुन्दरीजलमा पानी आएपछि एकदेखि डेढ महिनामा सम्पूर्ण परीक्षण सकेर उपभोक्ताको घरमा पठाउनेछ।

अर्को साता सुरुङ परीक्षण  

मेलम्ची खानेपानी आयोजनाले फागुन १० गते वा त्यसको १–२ दिनभित्रै अस्थायी ड्याममार्फत सुरुङमा पानी छिराएर परीक्षण गर्ने तयारी गरेको छ। आयोजनाले गत असार ३० गतेको दुर्घटनापछि संरचनागत त्रुटि सच्याउँदै फेरि सुरुङमा पानी पठाएर परीक्षण गर्न लागेको हो। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले फागुन दोस्रो साताभित्रै सुरुङमा पानी हालेर परीक्षण गर्न लागेको बताए। ‘विगतका त्रुटि र कमजोरी सच्याइसक्यौं। दातृ निकाय र जर्मनीबाट आएका विज्ञले दिएको सुझाव अनुसार सुरुङको अवस्था, गेट जडान लगायतको काम सम्पन्न भइसकेको छ।’  

आयोजनाले आगामी वैशाख १ गतेअगावै सबै प्रकारको परीक्षण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोजनाका अनुसार सुरुङमा मार्चको पहिलो सातासम्म पानी भरेर राखिनेछ। मार्च अन्तिम साता सुरुङको पानी फालेर फेरि निरीक्षण गरिनेछ। अप्रिल पहिलो सातादेखि फेरि सुरुङमा पानी भर्न थालिनेछ। सुरुङको अपरेसन तथा कमिसनिङको काम भने वैशाखदेखि गरिनेछ।

 कार्यकारी निर्देशक खत्रीले आगामी वैशाखभित्रै मेलम्चीको खानेपानी उपत्यकामा झार्ने लक्ष्य सहित काम गरिरहेको बताए।‘नयाँ वर्षभित्रै मेलम्चीको पानी परीक्षणको रूपमा उपत्यका ल्याउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘अन्य कुनै समस्या नआए पानी भित्रिनेछ।’ आयोजनाले सुरुङमा पानी भरिएसँगै कम्तीमा आठदेखि १० दिनसम्म होल्ड गरेर प्रेसर जाँच गरिने जनाएको छ।  

प्रकाशित: ९ फाल्गुन २०७७ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App