coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पुँजीगत लाभकर छली विवादः स्वामित्व परिवर्तन भएको बोटलर्स नेपालद्वारा स्वीकार

पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले सेयर स्वामित्व परिवर्तन भएको स्वीकार गरेको छ। पुँजीगत लाभकर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा बोटलर्स नेपालले सेयर बिक्री भएर स्वामित्व फेरिएको स्वीकार गरेको हो।

विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। छानबिनको क्रममा बोटलर्सले सेयर स्वामित्व बिक्री भएको स्वीकार गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। ‘सेयर बिक्री गर्दा पुँजीगत लाभकर छलीको सूचनाका आधारमा अनुसन्धान अघि बढाएका थियौं,’ मैनालीले भने, ‘सेयर खरिद–बिक्री भएको बोटलर्स नेपालले स्वीकार गरेको छ। थप छानबिन हुँदैछ।’

बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टा जस्ता हल्का पेय पदार्थ उत्पादन गर्ने अमेरिकी कम्पनी हो। सब्को एसिया कम्पनीमार्फत साउथ अफ्रिकन गुत्से परिवारले बोटलर्स नेपालमा लगानी गरेको थियो। गुत्से परिवारले सब्को कम्पनीमार्फत लगानी गरेको सेयर द कोकाकोला साउथ वेस्टलाई बिक्री गर्दा पुँजीगत लाभकर छली भएको विभागको आंशका छ। दुबईमा दर्ता भएको कम्पनीमार्फत लगानी भएकाले विदेशमा नै सेयर बिक्री गर्दा नेपालको सरकारी निकायलाई जानकारी दिइएन। विदेशमा दर्ता भएको कम्पनी भए पनि नेपालको कम्पनीमा गरिएको लगानीको स्वामित्व परिवर्तन गर्दा नाफाको २५ प्रतिशत पुँजीगत लाभकर तिनुपर्ने कानुनी व्यवस्था छ। बोटलर्स नेपाल कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता छ। बोटलर्स नेपालको सेयर स्वामित्व परिवर्तन हुँदा कम्पनी रजिस्ट्रार कार्यालयलाई जानकारी दिनुपर्ने भए पनि दिइएको छैन।  

प्रारम्भिक अनुसन्धानमा करिब चार अर्ब रूपैयाँ पुँजीगत लाभकर छली गरेको विभागको अनुमान छ। खरिद–बिक्रीमा भएको नाफामा पुँजीगत लाभकर निर्धारण गरिन्छ। बोटलर्स नेपालको सेयर कारोबार सब्को एसिया दुबईमा भए पनि नेपालको कानुनअनुसार नेपालमा दर्ता भएको कम्पनीमा लगानी गरेर बिक्री गरेकाले पुँजीगत लाभकर तिर्नुपर्ने विभागको तर्क छ।  

यस्तै, सेयर खरिदबिक्री विवादमा एनसेलले पुँजीगत लाभकर तिरेको छ। यसका आधारमा बोटलर्सको सेयर किनबेचमा नेपालमा पुँजीगत लाभकर तिर्नुपर्ने विभागको तर्क छ।

२०७१ सालमा कोकाकोला साउथ वेस्टलाई सेयर बिक्री गरेको भए पनि ६ वर्षपछि मात्र नेपालको सरकारी निकायले सूचना पाएर अनुसन्धान अघि बढाएको हो। स्वामित्व परिवर्तन भएको स्वीकार गरेकाले थप छानबिन अघि बढाउने महानिर्देशक मैनालीले बताए। ‘बल्ल स्वामित्व परिवर्तन भएको स्वीकार गरेको छ,’ मैनालीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं।’  विभागले अहिले बोटलर्स नेपालका लेखा प्रमुख अशोक मण्डललाई तारिखमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानको विषय भएकाले अहिले नै धेरै बताउन नमिल्ने विभागका अधिकारी बताउँछन्।

बोटलर्स नेपालमा तीनपक्षीय लगानी छ। कुल सेयरमा ७६.१७ प्रतिशत सेयर दुबईमा दर्ता भएको सब्को एसिया कम्पनीको छ। कम्पनीमा २२ प्रतिशत सेयर गोर्खा बु्रअरीको छ भने १.८४ प्रतिशत सेयर सर्वसाधारणको छ। यसमध्ये ७६.१७ प्रतिशत विदेशी लगानीको सेयर किनबेच हुँदा लाभकर छली भएको आशंका विभागको छ। ‘बोटलर्सका बोर्ड अफ डाइरेक्टर परिवर्तन भएपछि बिक्री गरेको सूचना आयो,’ विभागका एक उच्च अधिकारीले भने, ‘त्यसपछि अनुसन्धान अघि बढाएका हौं।’

कम्पनीले स्वामित्व परिवर्तन गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी दिनुपर्ने भए पनि त्यसो नगरी कारोबार गरेको छ। बोटलर्स नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको नाममा यसको सेयर सूचीकृत छ। बिहीबारको बजार मूल्य कुल १४ अर्ब ५७ करोड ७४ लाख रूपैयाँ रहेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको चुक्तापुँजी १९ करोड ४८ लाख ८८ हजार सात सय रूपैयाँ र बोटलर्स नेपाल (तराई) भरतपुरको चुक्तापुँजी १२ करोड १० लाख रूपैयाँ छ।  

नेप्सेका अनुसार बिहीबार बोटलर्स नेपाल (बालाजु) को प्रतिकित्ता सेयर मूल्य १८ सय ३० र बोटलर्स नेपाल (तराई) को प्रतिकित्ता सेयर मूल्य नौ हजार एक सय रूपैयाँ छ। बिहीबारको बजारमूल्य अनुसार बोटलर्स नेपाल (बालाजु) को बजार पुँजीकरण तीन अर्ब ५६ करोड ६४ लाख रूपैयाँ र बोटलर्स नेपाल (तराई) को बजार पुँजीकरण ११ अर्ब एक करोड १० लाख रूपैयाँ छ। बोटलर्स नेपाल (तराई) मा बोटलर्स नेपाल (बालाजु) को लगानी करिब ९० प्रतिशत छ।

यता नेपाल राष्ट्र बैंकले बोटलर्स नेपालको लाभांश लैजान रोक लगाएको छ। बोटलर्स नेपाल अन्तर्गत बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालि छन्। विभागले कम्पनीको लाभांश लैजान गर्न रोक लगाउन अनुरोध गरेपछि राष्ट्र बैंकले लाभांश सटही रोकेको हो।

प्रकाशित: ७ फाल्गुन २०७७ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App