८ वैशाख २०८१ शनिबार
अर्थ

आइइईविपरीत नदीजन्य पदार्थको ठेक्का सम्झौता

वीरेन्द्रनगर नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनविपरीत नदीजन्य पदार्थको ठेक्का सम्झौता गरेको छ। झुप्राखोला, गिरीघाट र भेरी नदीकिनार क्षेत्रको वातावरणीय परीक्षणमा चालु आर्थिक वर्षका लागि ६० हजार ४६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने उल्लेख छ। पुस मसान्तसम्म अमानतमा ६४ हजार ९१ घनमिटर संकलन गरिसकेको नगरपालिकाले थप ३६ हजार ३७.६० घनमिटर नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाएको हो।

राजस्व उपशाखा प्रमुख देव मुलेलका अनुसार माघ १५ गते रोयल बिल्डर्सलाई ३६ हजार घनमिटर नदीजन्य पदार्थ संकलनका लागि १ करोड ६० लाख ६० हजारमा ठेक्का दिइएको छ। ‘झुप्राखोला, गिरीघाट र भेरी नदी किनारबाट पुस मसान्तसम्म ६४ हजार ९१.५ घनमिटर नदीजन्य पदार्थ संकलन भएको राजस्व संकलनले देखाउँछ,’ मुलेलले भने, ‘आइइई प्रतिवेदनमा भने ६० हजार ४६ घनमिटर मात्रै उठाउन मिल्ने उल्लेख छ।’  

माघ १ देखि १५ गतेसम्म कति परिमाणमा नदीजन्य पदार्थ अमानतमा संकलन भयो त्यसको तथ्यांक नगरपालिकाले दिएको छैन । ‘ठेक्का सम्झौतापछि माघ १५ गतेदेखि रोयल बिल्डर्सले नदीजन्य पदार्थहरू उत्खनन गरिरहेको छ,’ उनले भने, ‘माघ १ देखि १५ गतेसम्मको तथ्यांक नगरपालिकामा आइसकेको छैन ।’ आफैंले आइइईले तोकेको परिमाणभन्दा धेरै नदीजन्य पदार्थ संकलन गरिसकेको नगरपालिकाले थप ३६ हजार घनमिटर संकलनका लागि ठेक्का दिएको छ। नगरपालिकाले माघ २ गते वडा नम्बर १४ का वडाध्यक्ष टोपबहादुर दर्लामीको संयोजकत्वमा ६ सदस्यीय नदीजन्य पदार्थको मौज्दात यकिन समिति गठन गरेको थियो। सो समितिले दिएको प्रतिवेदनका आधारमा ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए।

‘झुप्रा खोला भेरी नदी क्षेत्रमा आइइईले निर्दिष्ट गरेको ठाउँका लागि उल्लिखित स्थानहरूबाट हालसम्म करिब ४२ प्रतिशत नदीजन्य पदार्थ उत्खनन तथा निकासी भएको पाइयो,’ अनुगमन समितिको प्रतिवेदनमा भनिएको छ, ‘बचत परिणाम हेर्दा बोल्डर गिट्टी, बालुवा, माटो र केही मात्रामा ठूला ढुंगा मौज्दात देखिन्छ।’ यस्तै गिरीघाट भेरीखोला क्षेत्रकने स्थल–१ बाट १५ प्रतिशत र स्थल–२ बाट ८० प्रतिशत नदीजन्य पदार्थ निकासी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले आइइईले तोकेको स्थानभन्दा बाहिरबाट र केही अन्य पालिकाबाट ल्याइएको नदीजन्य पदार्थको पनि नगरपालिकाले रसिद काटेको बताए। ‘अनुगमन समिति गठन गरेर उसैको प्रतिवेदनका आधारमा हामीले ठेक्का सम्झौता गरेका हौं,’ उनले भने, ‘हेर्दा आइइई प्रतिवेदनभन्दा धेरै निकासी भएको देखिए पनि मौज्दात बाँकी नै रहेकाले ठेक्का लगाएका हौं।’

५५ लाख राजस्व गुम्यो

अमानतमा नदीजन्य पदार्थ संकलन गरे पनि नगरपालिकाले ६० हजार ४६ घनमिटरकै ठेक्का आह्वान गरेको थियो। उक्त परिणाम संकलन र निकासीका लागि रोयल बिल्डर्सले ३ करोड १ लाखमा ठेक्का सकार गरेको थियो। आइइई प्रतिवेदनभन्दा ३६ हजारभन्दा बढी घनमिटर नदीजन्य पदार्थ संकलन गर्दा पनि नगरपालिकालाई ५५ लाख बढी राजस्व घाटा भएको छ। नगरपालिकाले अमानतमा नदीजन्य पदार्थबापत पुस मसान्तसम्म ६४ लाख ९१ हजार ५ सय राजस्व संकलन गरेको छ। आइइईविपरीत संकलन अनुमति दिइएको ३६ हजार २७ घनमिटरबापत संकलनकर्ताले १ करोड ८० लाख ६० हजार रूपैयाँ दिनेछ। 

‘नगरपालिकाले अमानतमा नउठाएर ठेक्का दिएको भए ३ करोड १ लाख रूपैयाँ राजस्व जम्मा हुन्थ्यो, आइइई प्रतिवेदनभन्दा धेरै उठाउनुपर्ने बाध्यता पनि हुन्थेन,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘नेतृत्वको कमजोरीका कारण ५५ लाख ४८ हजार ५ सय रुपैयाँ नगरपालिकाको आम्दानी गुम्यो।’

प्रकाशित: २९ माघ २०७७ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App