लामो समयदेखि बिकराल समस्याको रूपमा देखिएको फल कुहाउने किराको प्रकोप केही वर्षयता नियन्त्रण उन्मुख हुन थालेपछि जुनार किसानलाई यस वर्ष पनि समयमै ध्यान दिन आग्रह गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुलीले जुनार तथा सुन्तला जातमा लाग्ने औंसा व्यवस्थापनसम्बन्धी एकदिने गोष्ठी गरी किसानलाई समयमै धान दिन आग्रह गरेको हो। लामो समयदेखि जुनारको दानामा फल कुहाउने तथा औंसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सको प्रकोप बढेसँगै किसान चिन्तित थिए।
यही बेला कार्यालयले जुनार क्षेत्रमा नमूनाको रूपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम प्रभावकारी देखिएपछि विगत वर्ष झैं यस वर्ष पनि सिन्धुली र रामेछापका थप बगैंचामा प्रोटिनबेट (औषधी) छर्दै किरा व्यवस्थापनमा समयमै जुट्न किसानलाई आग्रह गरिएको परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख देवराज अधिकारीले जानकारी दिए।
परियोजना कार्यान्वयन एकाइले जुनारमा लागेको किरा नियन्त्रण गर्न अभियानकै रूपमा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गरी स्प्रेकर्तालाई पारिश्रमिक दिएर समयमै औषधी छर्न प्रेरित गरेसँगै विगतमा भन्दा यस वर्ष किराको प्रकोप घटेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिन कार्यालयले आग्रह गरेको हो।
आगामी चैत, वैशाखमा जमिनबाट बयस्क झिँगा निस्कने र फलको दाना लाग्ने समयमा औंसाले फललाई आक्रमण गर्ने भएकाले समयमै ध्यान दिनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद्का पूर्वमुख्य वैज्ञानिक डाक्टर समुन्द्रलाला जोशीले बताए। उक्त किराको प्रमुख रुचिकर आहारा जुनार भएकाले यसैमा बढी क्षति गरेको उनको भनाइ छ।
जुनार किसानले किराको दिगो नियन्त्रण खोज्नुपर्ने भन्दै उक्त किराले जुनारमात्रै नभएर निबुवामा समेत क्षति गर्न थालेको गुनासो गरेका थिए। पहिलो वर्ष यहाँको गोलञ्जोर गाँउपालिका–४, तीनकन्यामा नमूनाको रूपमा करिब आठ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रमको नमूना परीक्षण नै प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधि प्रयोग गरी किरा नियन्त्रण गर्ने अभियान सुरु गरिएको परियोजनाको सिन्धुली कार्यालयले जनाएको छ।
क्षेत्रगत किरा नियन्त्रण कार्यक्रममा फलमा किरा देखिएको जुनारको बोटमा प्रोटिन बेट नामक औषधिको प्रयोग गरिएको थियो। औषधिको प्रयोग गरेसँगै किरा नियन्त्रण हुन थालेको जुनार कृषक बताउँछन्। कार्यालयको ५० प्रतिशत अनुदानमा उक्त ग्रेट फ्रुट फ्लाई बेट (हाइड्रोलाइज प्रोटिन) उपलब्ध गराउन किसानको तर्फबाट ५० रकम जम्मा भएपछि कार्यालयले थप ५० प्रतिशत बजेटबाट उक्त औषधी खरिद गरि स्प्रेकर्तामार्फत बगैंचामा पुर्याउँदै आएको छ।
जुनारको फल कुहाउने औंसा पार्ने किराको पोथी झिँगाले फुल पार्न प्रोटिन आवश्यक पर्ने र तत्कालीन सिजनमा किराले प्रोटिनकै खोजी गर्ने भएकाले प्रोटिन बेट फल दिने जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक जहानसिंह कार्कीले जनाए।
प्रकाशित: २८ माघ २०७७ ०४:५४ बुधबार