४ वैशाख २०८१ मंगलबार
अर्थ

मदन भण्डारी राजमार्ग: धरान–चतरा–हेटौंडा खण्डको प्रगति ३४ प्रतिशत

सरकारले २०७५ सालमा चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने बहुसंख्यक जनतालाई सहज यातायात सुविधा प्रदान गरी जनताको जीवनस्तरमा सुधार गर्ने लक्ष्यसहित झापाको बाहुनडाँगीदेखि सुदूरपश्चिम डडेल्धुराको रूपालसम्म जोड्ने मदन भण्डारी राजमार्ग आयोजना निर्माण गर्ने योजना अघि सार्‍यो।

निर्माण सुरु भएको दुई वर्ष बित्यो, आयोजनाको सडक रेखांकन विवाद टुंगिएको छैन।

२०७६ जेठ ६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार यो राजमार्गको रेखांकन बाहुनडाँगी–शान्तिनगर–धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाडी–हेटौंडा–गैंडाकोट–रामपुर–राम्दी–रिडी–बलकोट–सन्धिखर्क–बिजुवार–सितलपाटी–सुर्खेत–बड्डीचौर–बडुर–जोगबुढा–रूपाल जोड्ने सडक निर्माण गर्ने योजना कार्यान्वयनमा ल्याएको हो। प्रस्तावित यो सडक खण्डको रेखांकनमा केही स्थानीयवासीले विरोध जनाउँदै आएका छन्।

मदन भण्डारी राजमार्ग आयोजना निर्र्देशनालयका निर्देशक उमेशबिन्दु श्रेष्ठ आयोजनाको निर्माण र डिपिआरको काम सँगसँगै अघि बढेको बताउँछन्। ‘यो आयोजना गत आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको हो,’ उनले भने, ‘कतै निर्माण भइरहेको छ। कतै डिपिआर अध्ययनको काम भइरहेको छ।’ निर्देशक श्रेष्ठले झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रूपालसम्म लम्बिएको यो राजमार्गको लम्बाइ १२५० किलोमिटर रहेको बताए।

‘निर्देशनालय मातहत ७ सय ६५ किलोमिटर सडक रहेको छ,’ उनले भने, ‘अन्य सडक योजना कार्यालय मातहत निर्माणाधीन अवस्थामा छन्।’ यो खण्ड मदन भण्डारी राजमार्ग योजना कार्यालय र डिभिजन सडक कार्यालय मातहत निर्माण भइरहेको छ। निर्देशक श्रेष्ठले ७६५ किलोमिटरमध्ये अहिलेसम्म २६५ किलोमिटर कालोपत्रे भइसकेको बताए। ‘यो राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको छ। महेन्द्र राजमार्गको समानान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिनेछ,’ उनले भने, ‘यो सडक बनेसँगै चुरेको वन क्षेत्र र आसपासमा रहेका भूमिहरू कृषि, पशुपालन, उद्योग तथा वस्ती विकासको लागि अत्यन्तै उपयुक्त मानिन्छ। महेन्द्र राजमार्ग र मध्यपहाडी राजमार्गको बीचबाट जाने अन्य उत्तर–दक्षिण राजमार्गहरूसँग पनि जोडिने हुँदा यो राजमार्गले हिमाल, पहाड र तराईलाई राष्ट्रिय यातायातको सञ्जालमा जोड्छ। यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।’

यो राजमार्ग अन्तर्गत धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा २४९ किलोमिटर खण्डको स्तरोन्नति तथा उक्त खण्डमा आवश्यक पुल निर्माण भइरहेको छ। त्यस्तै पश्चिम तम्घास–सिमलटारी–प्युठान ४५ किलोमिटर खण्डको समेत निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ।  

अनुमानित १२५० किलोमिटरमध्ये ४२० किलोमिटर अन्य योजना कार्यालय तथा सडक डिभिजन कार्यालयले निर्माणको काम गरिरहेका छन्। करिब ७६५ किलोमिटर सडक स्तरोन्नति तथा सो खण्डमा पर्ने पुलको निर्माणको काम मदन भण्डारी राजमार्ग आयोजनाबाट भइरहेको छ।  

पूर्वमा धरानदेखि झापाको बाहुनडाँगीसम्म ९५ किलोमिटर सडकको डिपिआर तयार भइसकेको छ। सो खण्डमा पर्ने ४९ वटा पुलको ठेक्का सम्झौता भइसकेको छ। ‘यो खण्डमा पर्ने ४९ वटा पुलको ठेक्का सम्झौता भइसक्यो,’ आयोजना निर्देशक श्रेष्ठले भने, ‘सडकको भने अझैसम्म ठेक्का सम्झौता हुन सकेको छैन।’  

पश्चिममा सुर्खेतको बड्डीचौरदेखि कर्णाली नदीसम्म ९४ किलोमिटरको डिपिआर तयार हुने क्रममा छ। डोटीको जोगबुढादेखि डडेल्धुराको रूपालसम्म १५ किलोमिटर खण्डको डिपिआर तयार भइसकेको छ। सरकारले यो आयोजनालाई आगामी ०८१/८२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।  

हाल निर्माणाधीन सडकको लागतको आधारमा यस आयोजना निर्देशनालय मातहतको ८३० किलोमिटर सडकमा पुल निर्माणसहित सडक स्तरोन्नति कार्य गर्न करिब ८५ अर्ब रूपैयाँ लाग्ने अनुमान छ। चालु आवमा यो राजमार्ग आयोजना कार्यान्वयन गर्न नेपाल सरकारबाट तीन अर्ब सात करोड ७० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। आयोजनाले हालसम्म सो बजेटको ५० प्रतिशत बजेट खर्च भएको छ।  

मदन भण्डारी राजमार्ग आयोजना निर्र्देशनालयका निर्देशक श्रेष्ठले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ५० प्रतिशत खर्च भइसकेको बताए। ‘चालु आवमा विनियोजित बजेटमध्ये ५० प्रतिशत खर्च गरिसक्यौं,’ उनले भने, ‘आफ्नो योजना अनुसार आयोजना निर्माणको लागि थप पाँच अर्ब बजेट आवश्यक पर्ने भएको सोको माग गरेका छौं ।’

प्रकाशित: २५ माघ २०७७ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App