coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने सडकको २३ किलोमिटर क्षेत्रमा कालोपत्रे

रसुवागढी नाका जोड्ने सडक खण्डको पहिलो खण्डमा पर्ने गल्छी मैलुङ सडकको स्तरोन्नततिको काम गरिँदै । तस्बिर:नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडक खण्डमा २३ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ। रसुवागढी जोड्ने सडक खण्डको दुई खण्डमा नेपाली पक्षले र एक खण्डमा चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अनुसार पहिलो खण्डमा कालोपत्रे गर्ने काम चलिरहेको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ को असार मसान्तभित्र ४१ किलोमिटर कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। अहिलेको गतिमा काम हुन सकेको खण्डमा समयसीमा भित्रै कालोपत्रे सकिने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘चालु आर्थिक वर्षभित्रमा गल्छीदेखि ढुंगेसम्मको स्तरोन्नतिको काम सकाउने लक्ष्य राखेका छौं’, उनले भने, ‘अहिले कालोपत्रे गर्नुका साथै भीर कटिङको काम पनि भइरहेको छ।’  

गल्छी मैलुङ सडक खण्ड अन्तर्गत गल्छी ढुंगे सडकको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। पिलटारदेखि ढुंगेसम्म अदालतको स्टे अडरका कारण काम रोकिएको भएपनि यसअघि नै ३ किलोमिटर क्षेत्रमा पहिलो लेयर कालोपत्रे गर्ने काम सकिएको छ।

पहिलो खण्ड अन्तर्गत गल्छी मैलुङ सडक खण्डमा ४६ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्र हुने उनले बताए। पहिलो खण्डको स्तरोन्नतिको काम हालसम्म करिब ६७ प्रतिशत भएको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ। गल्छी मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ।  

दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ। चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम गर्ने तयारी छ।  

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन।  

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २४ माघ २०७७ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App