८ वैशाख २०८१ शनिबार
अर्थ

प्रधानमन्त्री ओली भन्छन्ः विद्युत बेचेर नेपाल धनी हुँदैछ

कालिगण्डकी सवस्टेशनको प्रधानमन्त्रीले भर्चुअल उद्घाटन

काठमाडौंबाटै भर्चुअल माध्यमबाट प्रशारण लाइन उद्घाटन गर्दै प्रधानमन्त्री ओली ।

गण्डकी प्रदेशकै बहुप्रतिक्षित कालीगण्डकी करिडोर २२०–१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको १३२ केभी क्षमताको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार काठमाडौंबाटै भर्चुअल उदघाटन गरेका छन् ।  

हेलिकप्टरबाट पर्वतको खुर्कोटमा पुगेर उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको पूर्व निर्धारित कार्यक्रम नेकपा प्रचण्ड–माधवको नेपाल बन्द घोषणाका कारण स्थगित गरिएको थियो । भर्चुअल रुपमा आयोजनाको उद्घाटन गदैं प्रधानमन्त्री ओलीले विद्युत उत्पादनमा देशले फड्को मारेको बताए ।  

‘देशमा विकासको गति रोकिदैन, विद्युतमार्फत समृद्ध नेपालको सपना पुरा गछौ,’ प्रधानमन्त्री ओलीले भने । उनले नेपालमा उत्पादन गरिएको विद्युतलाई भारत र बंगलादेशमा निर्यात गर्ने सम्झौता भइसकेको बताउँदै आफ्नो नौ महिने सरकारमा गरेका कामहरुको प्रगति देखिन थालेको बताए ।  

‘अब नेपाली नागरिक अध्याँरोमा बस्नुपर्दैन, विद्युत बेचेर नेपाल धनी हुन्छ’ भर्चुअलबाट सम्बोधन गदैं प्रधानमन्त्री ओलीले भने । उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायत उच्चपदाधिकारी सहित स्थानीय तहमा जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।  

कालीगण्डकी कोरिडोरको पहिलो खण्ड सञ्चालनमा आएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिनेछ । सवस्टेशनले समग्र धौलागिरी क्षेत्रको जलविद्युतमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । प्रशारण लाइनमा भएको ढिलासुस्तीका कारण केही आयोजनाले बाहना बनाउँदै काम होल्ड गरेका थिए । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) अन्तर्गत निर्माण अगाडि बढाइएको कालीगण्डकी कोरिडोरको पहिलो खण्डमा पर्ने लाइनमा उत्तरी म्याग्दी दाना, पर्वतको खुर्कोट सबस्टेसन र दाना–कुस्मा प्रसारण लाइन पर्ने आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए ।  

उनका अनुसार २२० केभी दाना–कुस्मा डबल सर्किन प्रसारण लाइनको ३९.६ किलोमिटर क्षेत्रमा ११० वटा टावर निर्माण गरिएको छ । धौलागिरी क्षेत्रमा उत्पादित विद्युतलाई लुम्बिनी प्रदेशको ब्यापारिक केन्द्र बुटवलसम्म लैजाने गरी दोस्रो खण्डको काम समेत अगाडी बढेको छ । यस प्रसारण लाइनमाफर्त धौलागिरी क्षेत्रका चार जिल्लामा उत्पादन हुने करिब ६ सय मेगावाट विद्युत् प्रवाह  गर्न सक्नेछ ।  

एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य सहित सन् २०१६ मा दुईअर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । यो प्रसारण लाइनअन्तर्गत मुस्ताङको १३.६ मेगावाटको थापा खोलाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाट क्षमताबाट उत्पादन भइरहेको विद्युतकेन्द्रीय ग्रिडमा जोडिएको छ ।

म्याग्दीका जलविद्युत लगानीकर्ताले समेत सबस्टेशन म्याग्दीको विद्युत क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको बताएका छन् । यस्तै ४२ मेगावाटको मिस्त्रीखोलाले केही महिनाभित्रै ब्यवसायिक उत्पादन गर्ने तयारीमा छ । सवस्टेशनमार्फत उत्तरी क्षेत्रमा १४ मेगावाटको घारखोला, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्यले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज लगायतका आयोजनाहरु समेत छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन सम्पन्न हुन थालेपछि पूर्वाधार निर्माणमा जुट्न थालेका छन् ।

प्रकाशित: २२ माघ २०७७ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App