१६ चैत्र २०८० शुक्रबार
अर्थ

अनुदानले कृषि तथा पशुपालनमा आकर्षण

कास्कीको बाख्रापालन । तस्बिरः नागरिक

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले कृषि तथा पशुपालनमा अनुदान रकम छुट्टाएको छ । अनुदान उपयोग गर्न सर्वसाधारण कृषि तथा पशुपालनमा प्रेरित भएका छन् । अनुदानकै आशमा धेरैजसो सर्वसाधारण कृषि कर्ममा होमिएका छन् ।  

सरकारी तथ्यांक भने कृषि तथा पशुपालनको ठ्याक्कै छैन् । महानगरपालिकाले किसानलाई परिचय पत्र दिन शुरु गरेको छ । यसबाट मात्रै यकिन किसानको तथ्यांक आउने छ । यसभन्दा अघि किसानको विवरण भने थिएन । महानगरमा पछिल्लो समय कृषि तथा पशुपालनको लागि फार्म दर्ता गर्ने व्यक्ति तथा संस्था बढेका छन् ।  

विगतका वर्षमा ४०÷५० को संख्यामा थपिने कृषि फार्म झण्डै शतप्रतिशतले बढेको छ । कोरोना कहरसँगै लकडाउन शुरु भयो । त्यसपछि स्वदेश तथा विदेशमा रहेका सर्वसाधारणको अधिकांशको रोजगारी गुम्यो । रोजगारी गुमेपछि सर्वसाधारणको आकर्षण कृषि तथा पशुपालनमा मोडिए । ‘बैशाखपछिको तथ्यांकलाई केलाउँदा शतप्रतिशत नै कृषि तथा पशुपालन फार्म थपिएका छन्,’ पोखरा महानगरपालिका पशु विकास अधिकृत नवराज अधिकारीले भने, ‘व्यवसायिक फार्महरु बढेका छन् ।’ उनका अनुसार विशेष गरी विदेशबाट फर्किएका सर्वसाधारणहरु बढी व्यवसायिक कृषि तथा पशुपालन तर्फ आकर्षित भएको तथ्यांकले देखाउँछ ।  

पोखरामा ६ सय ५० परिवार भन्दा बढीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । पशुपालन र कृषिमा महानगरपालिकाले छुट्टाछुट्टै अनुदान समेत दिदैं आएको छ । महानगरपालिकाले आगामी फागुनदेखि सिमान्तकृत समूह अन्तर्गत ५० घरपरिवारलाई २० वटा दरले १ हजार चल्ला वितरण गर्ने जनाएको छ । यसले पनि व्यवसायिक कुखुरा पालनमा आकर्षित हुने र आर्थिकोपार्जनमा सहज हुने विश्वास उनले लिए । पशुपालनको लागि महानगरपालिकाले अनुदान दिदैं आएको छ ।  

पशुको संख्यामा ६० नम्बर, जग्गाको उपलब्धतामा २० नम्बर युवाले सञ्चालन गरेको भए ५ नम्बर, महिलाले गरेकोलाई ५ नम्बर, तालिमप्राप्तलाई ५ नम्बर र फरक क्षमता भएकाहरुले फार्म सञ्चालन गरेको भए ५ नम्बर दिई अनुदान रकम उपलब्ध गराईने छ । महानगरपालिकाले यो आर्थिक वर्षमा ६ करोड रुपैयाँ अनुदान रकम छुट्टाएको छ । ‘महानगरपालिकाको अनुदान र बैंकहरुले सफ्ट लोन(ऋण) उपलब्ध गराउने भएपछि व्यवसायिक कृषि तथा पशुपालनमा आकर्षित भएका छन्,’ शाखा प्रमुख अधिकारीले बताए । उनका अनुसार केही बैंकहरुले विना धितो १० देखि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराएपछि कृषि तर्फ सर्वसाधारण बढ्दै गएको अनुमान लगाउन सकिन्छ । व्यक्तिगत तथा समूहगत रुपमा कृषि एवं पशुपालनमा सर्वसाधारण जोडिएका छन् ।  

भैंसीपालनलाई २१ लख, बंगुर पालनलाई १० लाख, बाख्रा पालनलाई १० लाख लगायत अन्य व्यवसायिक पशुपालनलाई लागत साझेदारी अनुसार अनुदान उपलब्ध गराईने महानगरपालिकाकै कृषि महाशाखा प्रमुख मनहरी कडरियाले सुनाए । ‘किसानलाई कृषि सामाग्री खरीद, फलफुल तथा अन्य पकेट क्षेत्र निर्माण गर्न समेत महानगरपालिकाले अनुदान उपलब्ध गराउने उनको भनाई थियो । लागत साझेदारी अनुसार महानगरपालिकाले निकालेको सूचनामा कार्यक्रम अनुसार किसानलाई अनुदान दिईने गरिएको छ ।

‘महानगरपालिकाको कार्यक्रम अनुसार प्रक्रियामा समावेश गरेर उपयुक्त देखिए अनुदान दिन्छौं,’ कडरियाले भने, ‘ठूलालाई मात्रै होईन सानालाई पनि पाए नपाएको हेरेर उपलब्ध गराउँछौं ।’ तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकेजी ३ रुपैयाँ अनुदान दिइने उनले सुनाए । उत्पादिन तरकारीलाई महानगरपालिकाकै किसान बजारमा विक्री गरेवापत अनुदान दिईने गरिएको छ । महानगरपालिकाले कार्यत्रमm हेरेर अनुदान उपलब्ध गराउँदै आएको उनको भनाई थियो । पशुपालन गर्ने किसानलाई गाईबस्तलाई लाग्ने खोरेत खोप, औषधी उपचारमा अनुदान दिईन्छ । जिल्ला पशु तथा भेटेनरी कार्यालयको तथ्यांक अनुसार कास्कीमा ३१५ वटा गाई÷भैंसीको फार्म छन् । १७५ वटा बाख्रा फार्म छन् । बंगुरका २८ वटा, कुखुराको ७३ वटा, भेडाको ५ वटा र माछाका ८ वटा फार्म सञ्चालनमा रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रकाशित: २१ माघ २०७७ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App