१२ मंसिर २०७८ आइतबार
अर्थ

पूर्वाधारमा पालिकाः लकडाउनमा ११ किलोमिटर पर्यटन पदमार्ग

अतिथि

कोरोना भाइरस महामारीको त्रासले गत चैतदेखि मुलुकमा लकडाउन भयो । यसका कारण मानवीय आउजाउ मात्र रोकिएन । ठूला तथा साना विकास निर्माणका काम पनि ठप्प भए । लकडाउनका कारण मजदुर एका एक बेरोजगार बनेपछि कैयौं दिन पैदलै हिडेर घरसम्म पुगे । बेरोजगार र कम आयश्रोत हुने वर्गका लागि राहत वितरण गर्न थालियो । सहरदेखि गाउँसम्म राहतका कार्यक्रम ल्याइए ।

लकडाउनले सबैतिरका आर्थिक गतिविधि ठप्प भएको यही बेलालाई कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने विकास निर्माणलाई गति दिने अवसरको रूपमा उपयोग गर्‍यो । लकडाउनमा बाहिरी आउजाउ बन्द भएको सोही मौका छोपेर गाउँपालिकाले स्थानीयस्तरमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनायोे  । त्यही योजना अनुसार अरु सुतेकै बेला अन्नपूर्णले ११ किलोमिटर पर्यटन पदमार्ग तयार पार्‍यो ।

लकडाउनमा बाहिरी आउजाउ बन्द भएको मौका छोपेर गाउँपालिकाले स्थानीयस्तरमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनायो। सोही योजना अनुसार अन्नपूर्णले ११ किलोमिटर पर्यटन पदमार्ग तयार पार्‍यो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवर भन्छन्, ‘सबैतिरका विकास निर्माण रोकिए । तर हामीले त्यही लकडाउनलाई सदुपयोग गर्दै ११ किलोमिटर पर्यटन पदमार्ग बनायौं । अरुलाई लकडाउनले नोक्सान मात्र पुर्‍यायो, हामीलाई फाइदा दियो ।’ उनका अनुसार लकडाउनको मौका पारेर काँडे–अस्ट्रेलियन क्याम्प, मर्दी हिमाल, झिनु–छोमरोङलगायतका पदमार्गमा नयाँ सिँढी बनाइएको थियो, जुन पदमार्गमा दिनहुँजसो पर्यटक हिड्छन् । ‘अरुतिर राहत बाढ्न थाले । हामी भने सिँढी बनाउन थाल्यौ,’ अध्यक्ष कुँवरले भने, ‘करिब अढाई करोड रुपैयाँ खर्च गरेर विभिन्न पदमार्ग सुधारेर हिड्न योग्य बनायौं । पदमार्ग वर्षौंदेखि मर्मतसम्भार नहुँदा अस्तव्यस्त थिए । तर, लकडाउनको मौका पारेर हामीले सिँढी बनायौं ।’

त्योभन्दा अघि पनि गाउँपालिकाले पर्यटन पदमार्गमा सिँढी बनाउन थालेको थियो । पञ्चासे पर्यटन पदमार्गमा पनि डेढ किलोमिटर दूरीमा सिँढी बनाएर हिड्न सहज बनाएको उनले बताए । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमै जोड दिएको गाउँपालिकाले ७ किलोमिटर दूरीको पर्यटन पदमार्गमा सिँढी बनाउने तयारी थालेको छ । चालु आर्थिक वर्ष पर्यटन पदमार्गमा सिँढी बनाउन मात्रै करिब डेढ करोड रुपैयाँ खर्च गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । उनका अनुसार अन्नपूर्ण आधारशिविर क्षेत्रको पदमार्ग सहित झिनु–छोमरोङ खण्डको पदमार्गमा पनि थप सिँढी बनाउने तयारी भइरहेको छ ।

‘अन्नपूर्ण गाउँपालिका पर्यटनमा आश्रित छ । अन्नपूर्ण आधारशिविर (एविसी) सहितका गतिला पर्यटकीय गन्तव्य यही गाउँपालिकामा पर्छन,’ उनले भने, ‘त्यही भएर पनि पर्यटन पूर्वाधारलाई हामीले विशेष जोड दिएका हौं ।’ उनका अनुसार कतिपय पदमार्ग नियमित मर्मतसम्भार नहुँदा भत्किएका थिए । बाह्रैमहिना मान्छेको हिडडुल हुँदा पदमार्ग मर्मतसम्भार पनि हुन पाएको थिएन । हामीले त्यही पदमार्गमा सिँढी बनाएर सहज बनायौं,’ उनले भने, ‘अब ती पदमार्गमा हिड्न सहज भएको छ ।’

पदमार्गसँगै गाउँपालिकाले यो वर्ष सडक सुधारमा पनि ठूलो रकम खर्चंदैछ । गाउँपालिका अध्यक्ष कुँवरका अनुसार यो वर्ष काँडे–भदौरे–सल्यान सडक खण्डको झन्डै ३ किलोमिटर दूरीलाई ढलान गर्ने तयारी छ । काँडेदेखि सल्यानसम्म ९ किलोमिटर छ । तर, अघिल्लो वर्ष १ किलोमिटर भन्दा बढी दूरी ढलान भएकोमा यो वर्ष करिब ३ किलोमिटर दूरी ढलान हुने उनले बताए ।  

‘यो वर्ष सडक ढलान गर्न साढे ४ करोड रुपैयाँ खर्च हुँदैछ,’ उनले भने, ‘कच्ची सडक भएकाले बर्खामा गाडी गुडाउन निकै सकस थियो ।’ यो सडकले अन्नपूर्णका ३ र ४ वडा हुँदै पर्वतलाई जोड्छ । ‘यो वैशाखसम्म ढलान सकिसक्ने योजना छ । बोलपत्र आह्वान भएर पनि काम सुरु भएको छ,’ कुँवरले भने ।

गाउँपालिकाले अघिल्लो आर्थिक वषर्मा ७ किलोमिटर दूरीमा ढलान गरेको थियो । यो वर्ष १२ किलोमिटर दूरीलाई ढलान र १२ किलोमिटर सडक ग्राभेल गर्ने योजना रहेको अध्यक्ष कुँवरले बताए । सडक ढलान, मर्मतसम्भार र ग्राभेल गर्न पनि साढे ४ करोड रुपैयाँ खर्च गर्ने उनले बताए । ‘अन्नपूर्ण गाउँपालिकाले मात्रै यो वर्ष सडक पूर्वाधारमा ९ करोड रुपैयाँ खर्च गर्दैछ,’ उनले भने, ‘ग्रामिण भेग भएकोले पनि गाउँपालिकाभित्र सडकका पूर्वाधारको अवस्था कमजोर छ । अब ती पूर्वाधारलाई पूर्णता दिनुपर्नेछ ।’

गाउँपालिकाले यो वर्ष विभिन्न ठाउँमा झोलुंगे पुल पनि बनाउने कामलाई निरन्तरता दिएको बताएको छ । अघिल्लो आर्थिक वर्षमा अन्नपूर्णले गाउँपालिकाभित्रका ७, ८, १० र ११ वडाका विभिन्न खोलामाथि ७ वटा झोलुंगे पुल बनाएको थियो । ‘कतिपय खहरे खोला हुन् । ती खोलामा बर्खामा भेलको त्रास हुन्थ्यो,’ अध्यक्ष कुँवरले भने, ‘पर्यटकीय पदमार्गमा झोलुंगे पुल  

आवश्यक थियो । पुल नहुँदा पदमार्गमा जोखिम पनि बढी थियो अहिले निकै सहज भएको छ ।’ उनका अनुसार अघिल्लो वर्ष बनेका मध्ये ३ वटा झोलुंगे पुल त लान्द्रुक क्षेत्रमा मात्र बनेका थिए । ती पुल बनाउन ३५ लाखदेखि ६५ लाख रुपैयाँसम्म खर्च भएको बताइएको छ । चालु आर्थिक वर्षमा पनि त्यहीँ क्षेत्रमा दुईवटा झोलुंगे पुल बनाउने तयारी भएको अध्यक्ष कुँवरले बताए । ‘बाहिरबाट हेर्दा झोलुंगे पुल बनेको देखिन्छ । तर, झोलुंगे पुलको महत्व पर्यटनमा जोडिन्छ,’ उनले भने, ‘झोलुंगे पनि पर्यटन पूर्वाधार हुन् ।’

कोदोको पहिचान

कोरोना भाइरस संक्रमण फैलने डरले मुलुकमा लकडाउन भएपछि दैनिक ज्यालादारी गरेर जीविका चलाउने मान्छे कामविहीन भए । कामविहीन ती मजदुरलाई साँझ बिहानको छाक टार्न समेत समस्या हुन थालेको भन्दै ठाउँ ठाउँमा राहत वितरण गर्न थालियो । स्थानीय तहमार्फत राहतका कार्यक्रम अघि बढे । सरकारी बाहेक निजी क्षेत्रले पनि विभिन्न वस्ती, टोल र घरघरमा पुगेर राहत सामग्री वितरण गरे ।

धेरैले राहत सामग्रीका रूपमा चामल, मैदा, आँटा, दाल, तेल, चाउचाउ, चिउरा जस्ता खाद्यवस्तु वितरण गरेका थिए । तर, अन्नपूर्ण गाउँपालिकाले भने त्यसको साटो कोदो वितरणको योजना बनायो । प्रयाप्त पौष्टिक तत्व हुने र गाउँमै उत्पादन हुने भएकाले अन्य खाद्यान्नको सट्टा कोदो वितरण गर्दा सहज र सस्तो पर्ने भएकाले कोदो राहत दिने योजना गाउँपालिकाले बनायो । त्यही अनुसार कोदो खरिद गरेर पनि राख्यो । तर गाउँलेलाई कोदो नै राहत भने दिनुपरेन ।

गाउँपालिका अध्यक्ष कुँवरले भने, ‘गाउँपालिकाभित्रै ४ हजार मुरी कोदो फल्छ । बाहिरबाट चामल किन्नु पनि परेन । त्यही भएर कोदोको योजना अघि सारेका थियौ ।’ अन्नपूर्णले यो पटक मात्रै नभई केही वर्षअघिदेखि नै कोदोको महत्व बुझाउँदै खेती गर्नमा किसानलाई उत्साहित बनाइदै आएको छ । ‘हामी अर्गानिक खानामा जोड दिन्छौं । खाना नफाल्ने र स्थानीय उत्पादनलाई उपभोग गर्ने योजना हाम्रो हो,’ अध्यक्ष कुँवरले भने, ‘त्यही अनुसार तरकारीदेखि खाद्यबालिसम्मका लागि हामीले योजना बनाएका हौं ।’ कोरोनाको त्यही लकडाउनमा अन्य ठाउँमा चामल र चाउचाउ बाँड्दा अन्नपूर्णमा भने कोदो जुटाउनतिर लागेको उनले बताए ।

गाउँपालिकासँग अझै पनि पाँच सय मुरी कोदो मौज्दात रहेको उनले बताए । ‘कुनैपनि बेला आवश्यक पर्न सक्छ भनेर गाउँमै कोदो किनेर राखेका छाैं । पाँच सय मुरी कोदो हामीसँग छ,’ उनले भने, ‘आवश्यक परेको खण्डमा राहतमा पनि काम लाग्न सक्छ । तत्काल नबिग्रने भएकोले खेर जाने डर समेत छैन ।’

अध्यक्ष कुँवरका अनुसार गाउँमै प्रयाप्त कोदो उत्पादन हुने भएकाले खरिद गर्न बाहिर जानु पर्दैन । गाउँको कोदो गाउँमै खपत हुँदा पैसा पनि गाउँमै रोकिन्छ । चामल किन्दा पैसा बाहिरिन्छ । तर, गाउँमै प्रयाप्त कोदो पाइने र गाउँपालिकामार्फत खरिद गर्दा गाउँलेले घरबाटै कोदो बेच्न पाउँछन् । गाउँमै कोदो बिक्री गर्न पाउँदा गाउँलेको आम्दानी समेत बढ्छ । यसले दिगो विकासमा फाइदा पुग्ने स्थानीय सरकारको विश्वास छ ।  

गाउँपालिकाभित्रका एकैजना किसानले वर्षमा करिब ४० मुरी कोदो फलाउँछन् । उनका अनुसार अन्नपूर्ण–४ सल्यान, ७ को लाम्द्रुक, ८ को दाङसिङ, ९ को उल्लेरी, तिखेढुंगा प्रयाप्त कोदो फल्ने गाउँ हुन् । सुख्खा हुने र कम स्याहारसुसारमै प्रयाप्त उत्पादन हुने भएकोले गाउँलेले कोदोखेती गर्छन् । खपत नभएको कोदोबाट गाउँलेले मदिरा बनाउने गरेकाले यो पटक खाद्य अभाव हुनसक्ने भन्दै कोदोबाट मदिरा बनाउन रोक लगाएको अध्यक्ष कुँवरले बताए । त्यसबाहेक गाउँपालिकाले तरकारी खेतीमा पनि जोड दिएको छ । 

अर्गानिक तरकारी उत्पादन गराउने र अबको दुई वर्षमा गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको छ । ‘यो पटक कुरिलोको ५० हजार विरुवा तयार गर्दैछौं । अबको एक महिनामा विरुवा तयार हुनेछन,’ अध्यक्ष कुँवरले भने, ‘कृषि उत्पादनमा गाउँलेलाई जोड्ने पहल हो । आफ्नै नर्सरी बनाएर विरुवा तयार गरिरहेका छौं ।’ बेमौसमी तरकारी खेती, किसानलाई उत्पादनमा सघाउन हाते ट्याक्टर वितरण, सिंचाईका साना योजना बनाउने गाउँपालिकाका नियमित काम रहेको उनले बताए ।

पर्यटनमा नयाँ सम्भावना खोज्ने र कृषिमा अवसर जुटाउने पहलमा गाउँपालिका लागेको उनले बताए । ‘यो पटक विदेशी पाहुना कम भएर गाउँपालिकालाई घाटा भएको छ । कोरोनाले गर्दा विदेशी पाहुना आउन नपाएर राजस्वमा घाटा लागेको हो । नत्र पर्यटनमै यो गाउँपालिकाले भविश्य देखेको छ,’ अध्यक्ष कुँवरले भने, ‘पर्यटनमै विकास हुँदै गएका गाउँ पनि यहाँ छन् । घान्द्रुक, लाग्द्रुक, छोमरोङदेखि अन्नपूर्ण आधारशिविरलाई जोड्ने पनि पर्यटनले नै भएको उनले बताए । त्यसबाहेक सम्भावित पदमार्ग पहिचान, नयाँ गन्तव्यको खोजीमा पनि गाउँपालिकाले काम गर्दै आएको बताए ।  

अन्नपूर्ण गाउँपालिकाको चालु आर्थिक वर्षको विकास बजेट साढे १८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष २१ करोड विकास बजेटमध्ये ९४ प्रतिशत खर्च भएकोमा यो वर्ष ९५ प्रतिशत खर्च गर्ने लक्ष्य रहेको अध्यक्ष कुँवरले बताए । ‘पर्यटन र कृषिमा हामीले प्राथमिकता दिएका छौं । स्थानीयवासिलाई प्रत्यक्ष फाइदा दिने क्षेत्रमै हामीले काम गर्ने हो,’ उनले भने ।

पर्यटन व्यवसायी पनि अन्नपूर्ण गाउँपालिकाले पर्यटन क्षेत्रमा देखाएको चासोले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाएको बताउँछन् । पर्यटन व्यवसायी दीपकराज अधिकारी पर्यटनमा अन्नपूर्ण गाउँपालिकाले मेहनत गरेको बताए । ‘विभिन्न पदमार्गका होटलको क्षमता बढाउने, ठाउँ ठाउँमा भ्यु टावर बनाउने, पदमार्ग मर्मतसम्भार र सिँढी बनाउनेलगायका काममा गाउँपालिकाको भूमिका राम्रो छ,’ उनले भने, ‘नयाँ रूट पहिचान गर्ने र अहिले प्रयोग भइरहेका रूटको मर्मतसम्भारमा गाउँपालिकाको चासो देखिएको छ ।’

प्रकाशित: २१ माघ २०७७ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App