८ वैशाख २०८१ शनिबार
अर्थ

योजना आयोगले अघि सार्‍यो दीर्घकालीन सोच

सरकारले आर्थिक वर्ष २०७९ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरी प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको बैठकले अतिकम विकसित मुलुकबाट आव २०७९ भित्र प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलरमा पुर्‍याउने लक्ष्य अघि सारेको हो। अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार ८४ अमेरिकी डलर छ।  

सरकारले आगामी २३ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार एक सय अमेरिकी डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्यसहितको दीर्घकालीन सोचको मार्गचित्र तयार पारेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले तेस्रो १८औं र १९औं योजना अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने कुरा अवधारणापत्रले अगाडि सारेको बताए।  

‘कृषि, उद्योग र सेवाको क्षेत्रलाई परिष्कृत र आधुनिकीकरण गर्दै अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गरिनेछ। दीर्घकालीन सोचको प्राप्तिका लागि १० वटा राष्ट्रिय लक्ष्य निर्धारण गरिएका छन्,’ उनले भने, ‘समृद्ध नेपालतर्फ चारवटा र सुखी नेपालीतर्फ ६ वटा लक्ष्य छन्। जसमध्ये समृद्धितर्फ उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआवद्धता एवं उच्च र दिगो उत्पादन तथा उत्पादकत्व रहेका छन्।  

आयोगको बैठकले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको सुखी नागरिक बसोबास गर्ने मुलुकको रूपमा विकास र रूपान्तरण गर्ने सोचसहितको अवधारणापत्र पारित गरेको छ। आयोगले राष्ट्रिय लक्ष्य र गन्तव्य प्राप्तिको मापन गर्न १० वटा लक्ष्य र ७६ वटा खण्डीकृत सूचकहरू निर्धारण गरेको जनाएको छ।  

आयोगले आठवटा दीर्घकालीन राष्ट्रिय रणनीति, नौवटा रूपान्तरणका संवाहक र आठवटा सहयोगी क्षेत्रको पहिचान गरेको हो। राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरूलाई दीर्घकालीन सोचले खण्डीकृत रूपमा उल्लेख गरेको छ। आयोगले सो अवधिमा आर्थिक वृद्धि दर १०.५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

आयोगले दीर्घकालीन सोचमा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष) शून्य र बहुआयामिक गरिबीका रेखामुनि रहेको जनसंख्या तीन प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। सम्पतिमा आधारित गिनी गुणक ०.२५ प्रतिशत श्रम सहभागितामा दर (१५ वर्ष माथि) ७२ प्रतिशत, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ७० प्रतिशत पुर्‍याउने महत्वाकांक्षी योजना समावेश गरेको छ। आयोगले जलविद्युत् तथा नवीकरणीय ऊर्जा उत्पादन (जडित क्षमता) ४० हजार मेगावाट, विद्युत्मा पहुँच परिवार शतप्रतिशत, ३० मिनेटको दुरीमा यातायात पहुँच भएको परिवार ९९ प्रतिशत, राष्ट्रिय र प्रादेशिक लोकमार्ग ३६ हजार किलोमिटर, इन्टरनेट प्रयोगकर्ता जनसंख्यामा शतप्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।  

नेपाली जनताको अपेक्षित आयु ८० वर्ष, मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २० जना, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) आठजना, साक्षरता दर (१५ वर्षमाथि) ९९ प्रतिशत, उच्चमध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।  

त्यसैगरी, आयोगले आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या शतप्रतिशत, लैंगिक विकास सूचकांक १ मा पुर्‍याउने, मानव विकास सूचकांक ०.७६० पुर्‍याउने प्रमुख लक्ष्य दीर्घकालीन सोचको अवधारणाले समेटेको आयोगका उपाध्यक्ष कँडेलले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको यात्राले गति प्रारम्भ गरिसकेको भन्दै दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू हासिल गर्न सबै पक्षले इमानका साथ काम गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धि र सुखको आकांक्षालाई सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका छन्।

प्रकाशित: २० माघ २०७७ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App