coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल आउने विदेशी पर्यटक ८० प्रतिशत घटे

कोरोना भाइरसका कारण नेपाल आउने पर्यटकको संख्या ८० प्रतिशतले घटेको छ। राष्ट्रिय अभियानको रूपमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रिने अपेक्षा गरिएकोमा २० प्रतिशत मात्रै पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ। सन् २०२० मा एक लाख ८३ हजार एक सय ३० यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका छन्। सन् २०१९ को ११ महिनामा ३७ लाख ६७ हजार नौ सय १३ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेका थिए। त्यस्तै, सन् २०१८ को सोही अवधिमा ४३ लाख ४२ हजार चार सय ८६ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेका थिए ।

पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी नेपाल भित्रिएका छन्। सन् २०१९ मा ११ लाख ७९ हजार एक सय ९१ विदेशी नेपाल आएका थिए, जसमा ३३ देशका नागरिक थिए।सरकारले विभिन्न देशमा नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न करोडौं रकम खर्च गरेको थियो। तर कोभिड–१९ को संक्रमणसंगै देश लकडाउनमा गएपछि नियमित हवाई सेवा बन्द हुँदा विदेशी नेपाल आउन पाएनन्।

गत चैतको पहिलो सातायता विदेशीलाई नेपाल आउन रोक लगाइए पनि सरकारले तामझामका साथ सुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो र दोस्रो महिनामा समेत सन् २०१९ को भन्दा कम पर्यटक भित्रिएको तथ्यांक छ। नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार उक्त दुई महिनामा यात्रु संख्या घटे पनि हवाई अकुपेन्सी भने ८० प्रतिशत थियो। तथ्यांक अनुसार सन् २०१९ कोे जनवरीमा हवाई र स्थलमार्गबाट ८१ हजार दुई सय ८३ र फेब्रुअरीमा एक लाख २४ हजार २३ विदेशी नेपाल आएका थिए। सन् २०२० को सोही समयमा ७९ हजार सात सय दुई र ९८ हजार दुई सय ९० विदेशी नेपाल आएका छन्। उक्त दुई महिनामा नेपालको प्रत्यक्ष असर नदेखिए पनि चीन लगायत कयौं देशले आफ्ना नागरिकलाई विदेश जान रोक लगाइसकेका थिए।

सरकारी तथ्यांक अनुसार सन् २०१९ मा विश्वका विभिन्न देशबाट ११ लाख ९७ हजार एक सय १९ पर्यटक नेपाल आएका थिए। उक्त संख्यामा सबैभन्दा धेरै भारतीय थिए। सो वर्ष हवाई मार्गबाट नेपाल आउने भारतीय दुई लाख ५४ हजार, चिनियाँ एक लाख ६८ हजार र अमेरिकी ९३ हजार थिए ।

विमानस्थल सञ्चालन समय घट्दै

हाल २१ घन्टा सञ्चालनमा रहेको देशको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै सञ्चालन हुने भएको छ। २०७५ सालको दोस्रो महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा आएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन खर्च धेरै र उडान संख्या थोरै भएकाले रातको समयमा विमानस्थल बन्द गर्ने तयारी भइरहेको जनाएको छ। कोरोनाका कारण झण्डै सात अर्ब राजस्व गुमाइसकेको भन्दै प्राधिकरणले सञ्चालन घाटा बढ्ने भएका कारण हाललाई केही समय घटाउने तयारी भएको जनाएको छ।

यस विषयमा प्राधिकरण, विमानस्थल कार्यालय र विमान कम्पनीहरूबीच छलफल जारी रहेको स्रोतको भनाइ छ। विमान कम्पनीहरूको असहमतिका कारण निर्णय भने भइसकको छैन। पछिल्लो समय हवाई यात्रीको संख्या न्यून देखिएको, अन्य देशले समेत विमानस्थलको क्षमता घटाएको र संसारका व्यस्त विमानस्थलले समेत सबै टर्मिनलहरू खोली नसकेको अवस्थामा समन्वय गरी उडान समय सारेर सञ्चालन समय घटाउने बारे छलफल भइरहेको प्राधिकरणले जनाएको छ।राति साढे १२ देखि विहान ६ बजेसम्म विमानस्थल बन्द भए हाल उक्त समयमा उडान भर्दैै आएका नेपाल एयरलाइन्सको साताका तीन उडान, जजिराको एक, कतार एयरवेजको एक र कहिलेकहीँ उडान भर्दै आएको एयर अरेबियाको उडान प्रभावित हुनेछ।

प्रकाशित: १३ माघ २०७७ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App