२२ फाल्गुन २०७७ शनिबार
अर्थ

नागरिक उड्डयन प्राधिकरणको निर्देशनः प्याराग्लाइडिङलाई जिपिएसबाट ट्रयाक गर्नु

कसैले नियम मान्दैनन्ः पाइलट

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै । तस्बिरः उमेश पुन/नागरिक

पोखराको आकाशमा उड्ने प्याराग्लाइडिङलाई जिपिएसबाट ट्रयाक गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निर्देशन दिएको छ । ट्रयाकिङ नगरिँदा पाइलटले तोकिएको क्षेत्रबाहिर उडान भर्ने गरेको क्यानको भनाई छ । तोकिएको क्षेत्र बाहिरको आकाशमा उडान गर्दा दुर्घटनाको जोखिम बढेको प्राधिकरणको भनाई छ ।  

प्राधिकरणले हालै प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई निर्देशन दिँदै प्याराग्लाइडिङ उडानलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि सबै ग्लाइडरमा अनिवार्य रुपमा जिपिएस सिस्टम जडान गर्न निर्देशन दिएको हो । ‘आकाशमा उड्ने भन्दैमा तोकिएको क्षेत्रबाहिर जान पाइदैन । तर, प्याराग्लाइडिङ पाइलट जथाभावि उड्ने गरेका छन्,’ प्राधिकरणका एकजना अधिकारीले भने, ‘टेण्डम (व्यवसायिक) भन्दा सोलो (एकल) उडानमा बढी समस्या छ ।’ पाइलट कुन रुटमा उडेका छन् भन्ने थाहा पाउन पनि जिपिएसबाट ट्रयाक गर्न जरुरी रहेको ती अधिकारीको भनाई छ ।

‘अधिकांश पाइलटले उडानको नियम टेर्दैनन्, जथाभावि उड्ने गरेका छन् । जिपिएस जडान गर्ने हो भने को कहाँ उडे भन्ने थाहा हुन्छ,’ क्यानका ती पदाधिकारीले भने, ‘टेण्डम पाइलट अलि सचेत हुन्छन् । तर सोलोका पाइलट जथाभावि एकअर्काको आकाशमा उड्ने गरेका छन् ।’ अहिले कसैले पनि जिपिएस सिस्टम राखेका छैनन् । जिपिएस नराख्दा एकअर्काको आकाशमा उडान गरिदिने र त्यसले भीडभाड समेत गराउने ती अधिकारीले बताए । ‘टेकअफ गर्दा पनि अर्काको ठाउँ प्रयोग गर्छन । आकाशमा पनि त्यस्तै अवस्था छ । एकअर्काको आकाशमा उड्दा भीडभाड हुने गरेको छ,’ उनले भने, ‘अब त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । जो जहाँ उड्ने हो, त्यहिबाट उड्नुपर्छ ।’ सराङकोट र तोरीपानी अहिले तोकिएका र बढी चल्तिका टेकअफ एरिया हुन् ।  

केही समय अघि पोखरामा टेण्डम उडान दुर्घटना हुँदा एकजना पाइलटले ज्यान गुमाएपछि यहाँको उडान व्यवस्थित गर्नेबारे अध्ययन गर्न प्राधिकरणको भिन्दै टिम खटिएको थियो । त्यही अध्ययन टिमको शिफारिसका आधारमा प्राधिकरणले ना लाई निर्देशन दिएको थियो । प्राधिकरणले व्यवसायिक उडानका क्रममा तालको पानी छुवाउने, फूल टिप्ने, उडानका क्रममा मोलतोल गर्ने, लो–फ्लाई गर्ने लगायतका गतिविधि गर्न पनि रोक लगाउन निर्देशन दिएको छ । नियम अटेर गरेमा पाइलट तथा कम्पनिलाई निलम्बनसम्मको कारवाहि गर्न पनि निर्देशन दिएको छ ।  

त्यस्तै प्राधिकरणले प्रत्येक ग्लाइडरको उडान अवधिको आधारमा लगबुक राख्न पनि निर्देशन दिएको छ । ग्लाइडरको सर्टिफिकेसन हेर्ने, उडान अवधिको रेकर्ड पनि अनिवार्य राख्न भनेको छ । ‘ग्लाइडरको  आयु ९ सय घण्टासम्म रहेछ । तर, त्यो भन्दा बढी अवधि उडान गरेका छन्,’ प्राधिकरणका ती पदाधिकारीले भने, ‘उडानयोग्य समय गुजारेका कारण जोखिम निम्तिन सक्छ ।’ उनका अनुसार सबै ग्लाइडर दर्ता गर्नुपर्छ । कुन ग्लाइडर कति घण्टा उडे भन्ने पनि रेकर्ड राख्नुपर्छ । हार्नेस र हेल्मेट जस्ता सामाग्रीमा पनि हेलचेक्रयाँइ गरिएको उनले बताए । ‘नेपालमा अधिकांश ग्लाइडरलाई सर्टिफाइड गरिएको छैन । ग्लाइडरको उडान योग्यता कति छ भन्ने थाहा हुनुपर्छ । कहिले भित्रिएका हुन, कति घण्टा उडे भन्ने रेकर्ड हुनुपर्छ,’ उनले भने, ‘तर ती सबै पक्ष खुलस्त छैनन् । तोकिएको अवधि पार गरेका ग्लाइडर प्रयाप्त छन्, जुन यहाँ वर्षाैदेखि डेट एक्सपायर अवस्थामा उडिरहेका छन् ।’  

प्याराग्लाइडिङका प्रशिक्षक समेत रहेका अनुभवी पाइलट सानोबाबु सुनुवारका अनुसार टेण्डम ग्लाइडरको आयु ८ सय घण्टा हो । आठसय घण्टा पार गर्दा बढी ३ वर्षसम्म धान्छ । त्यसपछि ती ग्लाइडर प्रयोगयोग्य हुँदैनन् । अधिकांश ग्लाइडरको उडान अवधि सकिएको भएपनि कतैबाट अनुगमन नभएको उनले बताए । ‘उडानयोग्य अवधि सकिएका ग्लाइडरबाट उडान गर्दा दुर्घटनाको जोखिम छ । तर, कसैले वास्ता गरेका छैनन,’ सुनुवारले भने, ‘घटना भएपछि खोजविन थाल्नु भन्दा अगाडी नै सचेत हुन जरुरी छ ।’

पोखराको आकाशमा सराङकोटको चुचुरोलाई आधार बनाउँदा टेण्डम उडान गर्ने पाइलटले पूर्वमा आधाकिलोमिटर, पश्चिममा एककिलोमिटर, उत्तरमा एकसय मिटर र दक्षिणमा दुईकिलोमिटरसम्म एरियल डिस्टेन्समा उड्न पाइन्छ । तर, अधिक सोलो पाइलटले त्यो दूरी अटेर गर्छन् । त्यस्तै सराङकोटको आकाशमा उड्दा समुन्द्री सतहबाट १८ सय मिटरसम्मको उचाईसम्म मात्र जान पाइन्छ । सराङकोटको टेकअफ प्वाइन्ट आफैमा १५४० मिटरमा छ । ‘सराङकोटबाट उडेपछि झन्डै तीनसय मिटर भन्दा माथिसम्म पुग्न पाइन्छ । तर, धेरैले त्यो उचाईलाई नाघेर २५ सय मिटरसम्म पुग्छन्,’ सुनुवारले भने, ‘सबैतिरको दूरी मिच्ने गरिएको छ । फेवातालको आकाश कट्न पाइदैन, तर, शान्ति स्तुपसम्म पुगेको देख्न सकिन्छ । कोही पनि नियममा छैनन्, त्यसैले नियन्त्रणमा राख्नुपर्छ ।’  

त्यसबाहेक पाइलटले उडानपूर्व यात्रुलाई उपकरण, भूगोल, उडान समय आदिको बारेमा जानकारी दिनुपर्ने, पाइलट लाइसेन्स, बीमा तथा कम्पनिको नवीकरण लगायत कागजात दुरुस्त राख्न पनि प्राधिकरणले निर्देशन दिएको छ । पाइलटको पोशाक, हाउभाउ, चालचलन, र बोली व्यवहारमा समेत अनुशासित, मर्यादित र पूर्ण व्यवसायिक हुनुपर्ने प्राधिकरणको भनाई छ ।  

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पनि जिपिएसले आकाशमा उडेको ग्लाइडरलाई मोनिटरिङ गर्न सकिने भएपनि अहिलेसम्म व्यवसायिक रुपमा प्रयोग हुन नसकेको बताए । ‘एकैपटक सम्भव छैन, तर, अब जिपिएसलाई व्यवसायिक उडानमा प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने, ‘उड्ने क्रममा अवाञ्छित क्रियाकलाप हुन नदिन पनि आवश्यक छ ।’ कतिपय पाइलटले तोकिएको क्षेत्र भन्दा बाहिर गएर उड्ने गरेकोले यो आवश्यक रहेको उनले बताए । ‘पाइलटले आकाशमा गरेको गतिविधि हेर्न पाइन्छ । उनीहरुलाई ट्रयाकमा ल्याउन पनि सकिन्छ,’ उनले भने, ‘कम्तिमा पाइलटलाई जथाभावि उड्नबाट रोक्न सकियो भने त्यो नै राम्रो हुनेछ ।’  

उनका अनुसार ग्लाइडरको निश्चित आयु तोकिएको हुन्छ । तोकिएको भन्दा बढी समय उड्न पाइदैन । ग्लाइडरको क्षमता पनि बेलाबेला परीक्षण गर्नुपर्छ । ‘अहिलेसम्म कुन ग्लाइडर कति समय उड्यो भनेर रेगुलेट भएको छैन । इन्ट्रि र उडान गरेको समयलाई आधार मानेर प्राविधिक रुपमा आँकलन गर्न सकिन्छ । तर विस्तृतमा हेरिएको छैन,’ उनले भने, ‘यसबारेमा पनि हामी सचेत भएका छौ ।’ 

प्रकाशित: ११ माघ २०७७ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App