सरकारले गत पुष १३ गते २१ दिन भित्र चिनी उद्योगीले सम्पुर्ण भुक्तानी दिने सम्झौता उखु किसानसँग गरेको थियो । उद्योगीले सो अवधी भित्र उखुको भुक्तानी नगरे उनीहरुको सम्पत्ति जफत गरेर भएपनि किसानलाई भुक्तानी उपलब्ध गराउने भनिएको थियो । तर पोहोर जस्तै यसपाली पनि सरकार र उद्योगीले किसानलाई झुक्याए ।
सम्झौता अनुरुप माघ ५ गते सम्ममा किसानले उखुको सम्पुर्ण भुक्तानी पाइसक्नु पर्ने हो । तर माघ ९ गते सम्मनवलपरासीका उखु किसनले ७ करोड बढी भुक्तानी पाएका छैनन । जिल्लाका दुइ वटा उद्योगले दुई वर्ष अघिको १३ करोड भुक्तानी दिन बाँकी थियो । यो रकम उद्योगीले नै दावी गरेको रकम हो । किसानको दावी अनुसार त जिल्लामा १८ करोड भुक्तानी किसानले पाउनु पर्ने छ । उखु उत्पादक किसान संघ नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले ४ करोड ४० लाख र सुनवलको लुम्बिनी चिनी उद्योगले ३ करोड ४१ लाख किसानलाई भुक्तानी दिन बाँकी छ ।
दुइ बर्ष अघिको ४ करोड ७० लाख भुक्तानी बाँकी रहेको इन्दिराले शुक्रबार सम्म जम्मा ३० लाख ८० हजार रुपैयाँ किसानको खातामा हालिदिएको छ । यसअघि डेढ करोड रकम खातामा जम्मा गरेर प्रमुख जिल्ला अधिकारीलाई भौचर बुझाएको दाबी उद्योगका कर्मचारीले गरेपनि किसानको खातामा पैसा गएको छैन । प्रहरी, प्रशासनसँग राम्रो हिमचीम भएका यो उद्योगका संचालक राकेश अग्रवालविरुद्ध यसअघि नै जिल्लाका उखु किसानले ठगी मुद्या दर्ता गरेका थिए । तर प्रहरी,प्रशासनले सो मुद्धामा अग्रवालको खोजी सम्म गरेन । नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले उद्योगका संचालक सम्पर्कमै नआएको भन्दै किसानको पैसा छिट्टै भुक्तानी दिलाउन पहल भइरहेको पुरानै प्रतिक्रिया दोहोर्याए ।
दुइवर्ष अघिको ८ करोड ४१ लाख उखुको भुक्तानी बाँकी रहेको लुम्बिनी चिनी उद्योगले पनि शुक्रबार सम्म जम्मा ५करोड भुक्तानी दिएको छ । उसले किसानलाई करिब साढे ३ करोड भुक्तानी गर्न बाँकी नै छ । उद्योगका संचालकले केही दिन भित्रै सम्पुर्ण भुक्तानी गर्ने बचन दिएको र किसानले छिट्टै सम्पुर्ण रकम भुक्तानी पाउने प्रजिअ पाठकले बताए ।
तर लुम्बिनीले किसानहरूलाइसरकारले तोकेको मुल्य अनुरुप भुक्तानी भने गरेको छैन । प्रतिक्वीन्टल ४७१ रुपैयाँका दरले उखुको भुक्तानी दिनु पर्नेमा प्रतिक्वीन्टल ३८५ का दरले किसानको खातामा पैसा हालिदिएको उखु सुनवल नगरपालिका २ किसान ज्ञानचन्द्र यादवले बताए । उद्योगले किसानलाई पहिले जस्तै कम मुल्य भुक्तानी दिएर ठग्न खोजेपनि किसानले पुरा भुक्तानी नपाए उद्योग विरुद्ध आन्दोलनमा उत्रने यादवले बताए । उद्योगका एक जना कर्मचारीका अनुसार ३८५ रुपैयाँका दरले भुक्तानी दिएको पुरानो व्यालेन्ससिट अनुरुप नै अहिलेको नयाँ सञ्चालन र लेखा शाखाले सोही अनुरुप प्रतिक्वीन्टल ३८५ का दरले भुक्तानी गरीरहेको जानकारी दिए ।
लुम्बिनीले दुइ वर्ष अघि पनि सरकारले तोके भन्दा १ सय रुपैयाँ कममा भुक्तानी दिएर किसानलाई ठगेको थियो । यसअघि उद्योगका कर्मचारीले उद्योग डुब्दैछ भन्ने डर देखाएर किसानलाइ ३८५ रुपैयाँ प्रतिक्वीन्टलका दरले भुक्तानी दिएको र ४७१ रुपैयाँ प्रतिक्वीन्टलका दरले रकम बुझीलिएको भन्ने कागजमा सहि गराएको किसान ज्ञानचन्द्रले यादवले बताए । ‘उद्योगले जती बदमासी गर्नु थियो गरीसक्यो अझैपनि किसानलाइ ठग्न खोजे त्यसको परिणाम राम्रो हुने छैन । सबै किसानले सरकारी मुल्यमै सम्पुर्ण भुक्तानी नपाएसम्म उद्योग चल्न दिन्नौं’ यादवले आक्रोस पोखे । उखु उत्पादक किसान संघका अध्यक्ष उमेशचन्द्र यादवले सम्बन्धित सरकारी निकाय र त्यसका अधिकारीहरुले नै उद्योगीलाइ ढाकछोप गर्दै आएकाले बिगत देखि नै चिनी उद्योगीले किसानलाइ ठग्दै र झुक्याउदै आएको दावी गरे ।
प्रजिअ पाठकले भने केही दिन भित्रै सरकारले तोकेकै मुल्य अनुसार उखु किसानले सम्पुर्ण भुक्तानी पाउने बताए ।सरकार र उखु किसान बिच भएको सम्झौता अनुरुप तोकीएको समयमा भुक्तानी नपाएपछि नवलपरासीका किसानले यसपाली पनि पोहोर जस्तै सरकार र चिनी उद्योगी मिलेर आफुहरुलाई झुक्याएको गुनासो गरेका छन।
प्रकाशित: ९ माघ २०७७ ११:५० शुक्रबार