coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

२२० केभी क्षमताको खुर्कोट सबस्टेशनमा चार्ज सुरु

२२० केभी क्षमताको पर्वत खुर्कोटमा रहेको सबस्टेशनको गएरातीदेखि चार्ज सुरु भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको खुर्कोटमा रहेका दुई सबस्टेशनमध्ये खुर्कोटमा जडान भएका उपकरण र प्रशारण लाइन चार्जका लागि बिहीबारदेखि परीक्षण सुरु गरिएको हो।

पर्वतको मोदी–चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत ल्याएर सबस्टेशनको टान्सफर्मर चार्ज गरिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए। ‘अब दानाको सबस्टेशनमा पनि चार्च सुरु हुन्छ,‘सबस्टेशन चार्जको परीक्षण अवधि २४ घण्टाको हुन्छ’सहायक प्रबन्धक फुँयालले भने। उनले खुर्कोटको सबस्टेशनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि दानाको सबस्टेशन चार्ज गरिने बताए।  

चार्ज अवधिमा कुनैपनि समस्या नआए आयोजनाको बाँकी चार्जसहितका प्राविधिक काम समेत सकिने सहायक प्रबन्धक फुँयालको भनाइ छ। खुर्कोटको सबस्टेशनमा नेपाल विद्युत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधान, आयोजना प्रमुख चन्दनकुमार घोषको उपस्थिती रहेको थियो। सबस्टेशनका ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका प्रमुख घोषले बताए। उनले लक्ष्य अनुसार नै प्राविधिक परीक्षणको काम सम्पन्न भएको बताए। कालीगण्डकी करिडोरअन्तर्गत दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तानिएको छ। 

सबस्टेशन परीक्षण अगाडी विदेशी इन्जिनियरहरूको टोलीले समेत आन्तरिक परीक्षण गरेको थियो। सबै मेसिनको एक–एक गरी परीक्षण गर्दा समेत कुनै समस्या नदेखिएपछि आयोजना पक्ष उत्साहित भएको थियो एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो।

यो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला तयारी अवस्थामै छ भने ४२ मेगावाटको मिस्त्री खोलाले केही महिनाभित्रै ब्यवसायीक उत्पादन गर्ने तयारीमा छ। उत्तरी क्षेत्रमा १४ मेगावाटको घारखोला, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन्। त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्यले तीव्रता पाएको छ। 

अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज लगायतका आयोजनाहरु समेत छन्। कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन सम्पन्न हुन थालेपछि पूर्वाधार निर्माणमा जुट्न थालेका छन्।

प्रकाशित: ९ माघ २०७७ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App