६ वैशाख २०८१ बिहीबार
अर्थ

‘८० प्रतिशत उद्योगधन्दा पूर्ण सञ्चालनमा’

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले कोभिड १९ ले तहसनहस भएको अर्थतन्त्र क्रमशः चलायमान हुँदै आएको बताएका छन्। नागरिक नेटवर्कले आयोजना गरेको नागरिक फ्रन्टलाइन कार्यक्रममा बोल्दै सल्लाहकार दुगडले कोभिड १९ ले थिल्थिलो भएको अर्थतन्त्र क्रमशः सुधारिँदै आएको बताए। ‘कोभिड १९ को कारणले उद्योग, व्यवसाय १० प्रतिशतमा खुम्चिएको थियो। अहिले धेरै सुधार भइसकेको छ,’ उनले भने, ‘पर्यटनबाहेकका उद्योगधन्दा ८० प्रतिशत सञ्चालनमा आइसकेका छन्।’  

सल्लाहकार दुगडले सरकारले जतिसक्दो चाँडो पुँजीगत खर्च बढाएर विकास निर्माणका कार्यलाई चलायमान गराउनुपर्ने बताए। उनले भने, ‘पुँजीगत खर्चले एकातर्फ विकास निर्माणको काम अघि बढ्छ, अर्कोतर्फ रोजगारी सिर्जना गर्न मदत गर्छ। फरक प्रसंगमा सल्लाहकार दुगडले निजी–सार्वजनिक साझेदारी (पिपिपी) कार्यक्रम अन्तर्गत बन्द उद्योगधन्दा फेरि सञ्चालन गर्ने तयारी रहेको बताए। सरकारले अब कृषिमा आधुनिकीकरण गरेर आत्मनिर्भर बाटोमा अघि बढ्ने उनले बताए।  

सल्लाहकार दुगडले सरकारले मुलुकभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरेर साना व्यवसायी तथा उद्यमीलाई प्रोत्साहन र बजारीकरणमा सघाउने बताए। सल्लाहकार दुगडले सरकारले कोभिड १९ प्रभावित पर्यटन, यातायात र एयरलाइन्स लगायत क्षेत्रलाई मुख्य प्रथामिकतामा राखेर पुनर्कर्जा उपलब्ध गराउने बताए। ‘सबैभन्दा प्रभावित क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर पुनर्कर्जा दिन खोजेका छौं,’ उनले भने, ‘सरकारले पुग्यो भने अन्य क्षेत्रलाई पनि पुनर्कर्जा दिने सोच बनाइरहेको छ।’

पुनर्कर्जाकोको प्रभाव अबको केही समयभित्रै देखिने उनको दाबी छ। उनले भने, ‘पुनर्कर्जाले कोभिड १९ प्रभावित उद्योगी तथा व्यवसायीलाई छिट्टै उठाउँछ।’ दुगडले सरकारले केही समयभित्रै कोभिड प्रभावित क्षेत्रलाई व्यवस्थित गर्न आकर्षक योजना ल्याउने बताए।

प्रकाशित: ८ माघ २०७७ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App