८ वैशाख २०८१ शनिबार
अर्थ

मेलम्ची खानेपानी आयोजनाः सुरुङ पुनः परीक्षणको तयारी

मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले ढिलोमा आगामी फेबु्रअरीभित्र सुरुङमा मेलम्ची खोलो छिराएर (पथान्तरण) परीक्षण गरिने बताए । ‘सुरुङ गेटको काम सकिनै लागेकाले पुनः परीक्षण तयारी थालिएको हो,’ उनले नागरिकसँग भने । उनका अनुसार सुरुङको गेट रहने संरचनामा कंक्रिटिङ ढलान गर्ने र फ्रेम झुन्डाउने काम सकिएको छ । अहिले झुन्डाइएको गेट कस्ने काम भइरहेको छ ।  

आयोजना र दातृ निकायको समन्वयमा जर्मनीबाट झिकाइएको विज्ञ टोलीले समग्र सुरुङको अवस्था र गेट जडान कार्यको प्रत्यक्ष सुपरीवेक्षण र प्राविधिक अध्ययन गरिरहेको छ । सुरुङ र गेट विज्ञ सम्मिलित टोलीले अन्तिम प्रतिवेदन बुझाएपछि परीक्षणको काम सुरु हुने प्रवक्ता पन्तले जानकारी दिए । ‘विज्ञ टोलीले जनवरीको अन्तिमसम्म प्रतिवेदन बुझाउने भनेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा फेब्रुअरीदेखि सुरुङ परीक्षण थाल्ने तयारी छ ।’  

आयोजनाका अनुसार विज्ञले डिसेम्बर अन्तिमसम्ममा प्रतिवेदन बुझाउने भने पनि गेटकै काम सकिएन । विज्ञले प्रतिवेदनमा केही त्रुटि औंल्याए पहिला त्यो सच्याउने काम हुने प्रवक्ता पन्त बताउँछन् । त्रुटि भेटिएपछि नै नयाँ डिजाइनअनुसार पुनः गेट जडान गर्ने काम भइरहेकाले ससानाबाहेक ठूला कमजोरी फेला नपर्ने आयोजनाको विश्वास छ ।  

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो । गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिए पनि दुईको ज्यान गएको थियो ।  

घटनापछि खानेपानी मन्त्रालयद्वारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानबिन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटि रहेको औंल्याएको थियो । समितिकै छानबिन प्रतिवेदनको सिफारिसअनुसार असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य भइरहेको हो । पहिला बाहिरबाटै खोल्न मिल्ने गरी गेट जडान गरिएको थियो । अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी जडान भइरहेको छ । बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी राखिएका गेट सुरुङमा जम्मा भएको पानीको चापले धकेलेर नटबोल्ट खुस्कँदा दुर्घटना भएको थियो ।  

तीन महिनाभित्र मंसिरसम्ममा गेट जडानको काम सक्ने गरी काम थालिएको थियो । प्राविधिक कारणले गेट जडानमा समेत ढिलाइ भइरहेको प्रवक्ता पन्तले बताए । ‘पुनः दुर्घटना नहोस् र समस्या नआओस् भनेरै विज्ञ टोलीले स्थलगत अनुगमन गरिरहेको छ,’ उनले भने । साढे २६ किलोमिटर लामो सुरुङमार्गका चार अडिट टनेल अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा रहेका चारवटै गेट पुनः जडान भइरहेको हो ।  

सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्स (मुहान) को पनि काम गरिरहेको छ । इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट पुनः डिजाइन, निर्माण र जडान भइरहेको छ । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरिरहेको छ । पुरानो गेटको काम पनि यी दुई कम्पनीले गरेका थिए ।  

गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो । परीक्षणको १० दिनमै गेट खुलेर दुर्घटना निम्तिएको थियो । सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण थालिएको थियो । सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिनभित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो । अब पुनः पथान्तरणको काम सक्न त्यति नै समय लाग्ने आयोजनाले जनाएको छ ।  

गेट सच्चाउँनेसँगै हेडवक्र्सको काम पनि एक साथ भइरहेको छ । हेडवक्र्सको ठेक्का सम्झौता भने डिसेम्बर अन्त्यसँगै सकिएको छ ।

प्रकाशित: ८ माघ २०७७ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App