७ वैशाख २०८१ शुक्रबार
अर्थ

चीनको असहयोगले चिनियाँ सामान भारत हुँदै आयात

चिनियाँ सामान आयात हुने मुख्यमध्यको एक रसुवागढी नाका। तस्बिर: नागरिक<br>

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार उत्तरी छिमेकी चीनले असहयोग गरेपछि व्यापारीले चीनबाट ल्याउने सामान भारतको बाटो हुँदै ल्याउन थालेका छन्। चीनबाट खरिद गरेर ल्याएका सामान करिब एक वर्षसम्म केरुङ नाकामा रोकिएर व्यापारीलाई करोडौं रूपैयाँ घाटा भएपछि केरुङ हुँदै सामान ल्याउन छाडेका छन्। 

चीनका अधिकारीका कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न कठिन भएको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव नवराज तिमिल्सिनाले बताए। ‘गत वर्ष ल्याएका करिब दुई सय कन्टेनर अहिले पनि केरुङमा छन्,’ तिमिल्सिनाले भने, ‘केरुङ र तातोपानी हुँदै सामान ल्याउन झन्झट भएपछि अधिकांशले चीनबाट ल्याउने सामान पनि भारतका बन्दरगाह प्रयोग गरेर ल्याउन थालेका छन्।’ केरुङबाट अहिले दैनिक पाँचवटा कन्टेनर मात्र चिनियाँ पक्षले छाड्ने गरेको छ।

तातोपानी र केरुङ हुँदै ल्याउँदा छोटो समय लाग्ने, सानो परिमाणमा सामान आयात गर्न व्यापारीलाई सजिलो हुन्थ्यो। चीनबाट पानीजहाजमा भारत हुँदै सामान ल्याउँदा ४०/४२ दिन लाग्छ। कुनै अवरोध नभए तातोपानी र केरुङबाट ल्याउँदा २०/२२ दिनमै सामान नेपाल आइपुग्छ। चीनले असहयोग गरेपछि भारत हुँदै सामान आयात गनुपर्ने बाध्यात्मक अवस्था आएको महासचिव तिमिल्सिनाले बताए। चीनले सामान आयात गर्न सघाउनुको साटो झन्झटिलो प्रक्रिया अपनाएर व्यापारीलाई दुःख दिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि असन्तुष्टि जनाएका छन्।  

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यक्रममा उनले मंगलबार असन्तुष्टि व्यक्त गरेका हुन्। ‘चीनले नेपालसँगको व्यापारमा गैरजिम्मेवार व्यवहार देखाएको छ,’ भट्टले भने, ‘व्यवसायीलाई दुःख दिने काम भयो।’  चीनले कहिले कोभिड र कहिले अन्य बहाना बनाएर सहज रूपमा सामान आपूर्ति नगरेको उनले बताए। यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई पनि जानकारी गराएको मन्त्री भट्टले बताए। १० महिनासम्म सामान रोक्दा नेपाली व्यापारीलाई ठूलो नोक्सानी भएको आफूलाई जानकारी भएको बताए। ‘नाकामा चिनियाँले अर्घेलो व्यवहार देखाएका छन्,’ उनले भने।

विगतमा कोभिड प्रकोपको बहाना देखाए पनि अहिले पनि केरुङ नाकाबाट दैनिक पाँचवटा कन्टेनरबाट मात्र सामान आयात गर्न दिइएको छ। चीनको भन्सारले थोरै मात्र गाडी पठाउने गरेको रसुवागढी नाकाका भन्सार प्रमुख धनप्रसाद रेग्मीले बताए। ‘मान्छेको आवतजावत अहिले पनि पूर्ण बन्द छ,’ रेग्मीले भने, ‘मितेरी पुलवारि पाँच कन्टेनर सामान ल्याएर छाड्छन्। यताबाट कामदार र ड्राइभर पठाएर सामान लोड गरेर ल्याउछौं।’ चिनियाँ भूमिमा जान अहिले अनुमति नभएकाले कति कन्टेनर छन् भन्ने यकिन नभएको रेग्मीले बताए। नेपाली व्यापारीले गत वर्षदेखिका दुई सयभन्दा बढी कन्टेर अझै केरुङमा रहेको जानकारी दिएको उनले बताए। ‘विगतमा दैनिक एक सय गाडी आउँथे,’ उनले भने, ‘अहिले दैनिक पाँच मात्र।’ चीनसँग रसुवागढी हुँदै जाने निर्यात शून्य रहेको रेग्मीले बताए। तातोपानी नाकाबाट पछिल्लो समय दैनिक १७/१८ वटा कन्टेनर मात्र आयात भइरहेका छन्।  

शुक्रबारदेखि पुल मर्मत गर्ने भएकाले फेरि आयात रोकिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। ‘पुल मर्मतका लागि नाका बन्द हुँदैछ,’ उनले भने। अहिलेसम्म बोर्डरमा कन्टेनर ल्याएर छाड्ने गरेका छन्। तातोपानीबाट पनि निर्यात शून्य रहेको खत्रीले बताए। चीनको नेपालसँग उच्च राजनीतिक सम्बन्ध रहेको र लगानी बढाउँदै लगे पनि आयातनिर्यातमा असहयोग गरेको नेपाली अधिकारीको बुझाइ छ। सामान आयातनिर्यातमा कठिनाइ भएपछि व्यापारीलाई घाटा भएको छ। चीनले सडकबाट नेपालमा सामान आयात गर्न असहयोग गरेको व्यापारीको गुनासो छ।  

चीनबाट नेपालमा वार्षिक दुई खर्ब रूपैयाँका सामान आयात हुन्छ। कोभिड­ १९ प्रकोपबीच पनि पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रूपैयाँको सामान आयात भएको थियो। एक अर्ब १९ करोड रूपैयाँका सामान चीनतर्फ निर्यात भएको छ। चीनसँग नेपालको एक खर्ब ८० अर्ब व्यापार घाटा छ। नेपाली व्यापारीले लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पल लगायत सामान आयात गर्छन्। चीन सडकले जोडिए पनि नेपाल ल्याउने सामान भारत हुँदै ल्याउनुपर्ने नेपाली व्यवसायीलाई बाध्यता छ। चीनसँग उच्चस्तरको राजनीतिक सम्बन्ध रहे पनि आर्थिक सम्बन्धमा रूपान्तरण गर्न नसक्नु नेपालको कमजोरी रहेको पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाको बुझाइ छ।

 नेपालसँग हुने व्यापार निकै सानो भोलुममा भएकाले प्राथमिकतामा नराखेको हो। चीनसँग पारवहन सन्धि गरे पनि चीनको बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सकेको छैन। दुई नाका नियमित रूपमा सुचारु भए चीनबाट सामान आयात गर्न सजिलो हुने महासचिव तिमिल्सिनाले बताए। ‘नियमित नाका नचल्दा चीनबाट ल्याउनुपर्ने सामान भारत हुँदै ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘उसकै (चीन) सामान ल्याउँदा पनि सास्ती बेहोर्नु पर्‍यो।’ सरकारले चीनसँग पारबहन सम्झौता गरेको छ। उक्त सम्झौतासँगै चिनियाँ बन्दरगाह र भूमार्ग प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गर्न सकिने बताइए पनि चीनबाट सडकमार्ग हुँदै सामान आयात गर्न नेपाली व्यवसायीलाई कठिन भएको छ।

प्रकाशित: ७ माघ २०७७ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App