नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगन्ज नाकामा आईसिपी(एकिकृत भन्सार जाँच चौकी) निर्माणको काम सुरु भएको छ । भारत सरकारले सन् २००५ मा नेपालको बिराटनगर, बीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसिपी निर्माण गरिदिने सहमती जनाएको थियो । बिराटनगर र बीरगन्जमा भने आईसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
पश्चिम तराईको प्रमुख मानिने नेपालगन्जमा आईसिपी निर्माणको काम प्राथमिकतामा नपर्दा ढिलो गरी अहिले सुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा बिगत एक महिनादेखी आईसिपी निर्माणको काम चलिरहेको छ । आईसिपी निर्माणका लागि भारतको राजदिप कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ४७ करोड(भारु)मा ठेक्का पाएको छ । भारत सरकारसँग भएको सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले दुई वर्ष भित्रमा काम सम्पन्न गरिसक्नुपर्नेछ । भारत सरकारको सहयोगमा आईसिपी निर्माण गर्न नेपाल सरकारले एक दशक अघि जग्गा अधिग्रहण गरेको थियो । साविकको जयसपुर गाविसमा २०६७ मा नेपाल सरकारले जग्गा अधिग्रहण गरी संरक्षण गरेर राखेको थियो ।
आईसिपी निर्माणका लागि नेपाल सरकारको तर्फबाट सहजीकरण गर्ने जिम्मा सहरी विकास तथा भवन निर्माण विभागलाई दिइएका छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई नेपालगन्जका ईन्जिनियर होमनाथ भुसालले भारत सरकारले आफ्नो सहमती र प्रतिवद्धता अनुसार नेपालगन्ज नाकामा आईसिपी निर्माणको काम सुरु गरिसकेको बताए । ‘यो आयोजना भारत सरकारको सहयोगमा बन्न लागेको हो, नेपाल सरकारले अधिग्रहण गरेर राखेको जग्गामा भौतिक संरचना बन्दैछन्,’ भुसालले भने ‘सबै काम भारत सरकारले नै गर्ने हो, हामीले त सहजीकरण मात्रै गरिदिने हो ।’
सरकारले अधिग्रहण गरेर राखेको जग्गा अन्तिम पटक नापजाँच गरी एकिन भएको ८७ विघा जग्गा तीन महिना अघि ठेकेदारलाई अनुमती दिइएको उनले बताए । भुसालका अनुसार २ हजार २ सय मिटर लम्बाई र ६० मिटर चौडाईमा आईसिपीको एप्रोज रोड निर्माण हुदैछ । ‘अहिले एक किलोमिटर जति एप्रोज रोडमा माटो पटान भइरहेको छ, आईसिपीको अन्य भौतिक पुर्वाधार निर्माणको काम पनि सुरु हुदैछ,’ भुसालले भने ।
आईसिपी निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा ठेकेदार कम्पनीलाई कुनै राजश्व र भन्सार महसुल नलाग्ने दुई देशबीचको सहमती अनुसार सामान ल्याउने काम पनि भइरहेको उनले जनाए । ‘निर्माण कार्यमा चाहिने जुनसुकै उपकरणहरु सहज रुपमा ल्याउन पाउने, प्रयोग गर्ने र फिर्ता लिएर जान पाउने सहमती छ,’ भुसालले भने ‘ठेकेदार कम्पनीलाई आवश्यक पर्ने स्थानीय स्तरको निर्माण सामाग्री(ढुंगा, गिट्टी, बालुवा)मा चाही हामीले सहजीकरण गरिदिन्छौं ।’
आईसिपी निर्माणका परामर्शदाता कम्पनी राईट्सका प्रतिनिधी अजय अग्रवालले निर्माणको काम भर्खरै सुरु भएको बताए । ‘भर्खरै निर्माणको काम सुरु भएको छ, दुई वर्ष भित्रमा काम सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिवद्धता छ,’ उनले नागरिकसँग भने । ठेकेदारले गुणस्तरिय काम तोकिएको समयभित्रै सम्पन्न गर्नेमा आफुहरु विश्वस्त रहेको अग्रवालले बताए ।
आईसिपी निर्माण भएपछि सबै सेवा सुबिधा एकै ठाउँमा प्राप्त गर्न पाउने हुँदा राहत मिल्ने यहाँका उद्योगी, ब्यवसायीको अपेक्षा छ । आईसिपी सञ्चालनमा आउँदा सामान निकासी र पैठारी गर्नमा सहजता आउने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘दुई वर्ष भित्रमा हामी काम सम्पन्न गर्छौ भनेर भारतीय मन्त्री स्वयंले भन्नु भएको हो, अहिले काम त सुरु भएको छ, तर दुई वर्षमा काम सम्पन्न हुन्छ कि हुदैन त्यो त हेर्न बाँकी नै छ,’ उनले भने ‘आईसिपी बनेपछि नेपालगन्जलाई प्रत्यक्ष फाईदा हुन्छ, पश्चिम क्षेत्रकै उद्योग, व्यवसाय फस्टाउने वातावरण बन्नेछ ।’ आईसिपी समयमा निर्माण हुनुपर्छ भनेर संघले पहिलेदेखी आवाज उठाउँदै आएको उनले स्मरण गराए । तोकिएको समयभित्र आईसिपी निर्माणको काम सम्पन्न हुनेमा आफु आशावादी रहेको मन्सुरीले बताए ।
नेपाल जडिबुटी ब्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुव अन्सारी आईसिपी निर्माण भएपछि उद्योगी, ब्यवसायीलाई ठुलो राहत मिल्ने बताउँछन् । ‘ब्यापारीहरु जुन रुपमा दुःख पाइरहेका छन्, आईसिपी बनेपछि अब सबैलाई फाईदा हुन्छ,’ लुम्बिनी प्रदेशका सांसद अन्सारीले भने ‘आईसिपी जुन बनाइरहेको छ, यसले नेपालगन्जको मुहार परिवर्तन हुन्छ ।’ संघले लामो समयदेखी उठाउँदै आएको माग अहिले पुरा हुन लागेको उनले बताए ।
भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाईन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रबिधी तथा गुण नियन्त्रण लगायत कार्यालय रहनेछन् । समयमा आईसिपी निर्माण नहुँदा अहिले नेपालगन्ज नाका अस्तब्यस्त बन्ने गरेको छ । भन्सार जाँचपास गराउने ट्रक, ट्यांकर तथा कन्टेनर मुख्य सडकमै रोक्नु परेको छ । माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक रुपमा सयौंको संख्यामा ट्रक, ट्यांकर तथा कन्टेनर आवत–जागत गर्छन् ।
समयमा आईसिपी निर्माण नहुँदा सडकमै भन्सार जाँचपास गर्नुपरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । ‘आईसिपी निर्माण हुन्थ्यो भने हामीलाई गाडी जाँचपास गर्न एकदमै सहज हुन्थ्यो, अहिलेसम्म मालबाहक गाडी बाटोमै रोक्नु परेको छ, ब्यापारीलाई राहत र कर्मचारीलाई सहज हुन्छ,’ भन्सार कार्यालयका कर्मचारीले भने । आईसिपी निर्माण स्थलमा सहरी विकास तथा भवन निर्माण विभागले सुरक्षा ब्यारेक भवन निर्माण गरेको छ ।
पुनःनिर्माणपछि उक्त भवनमा गतवर्षबाट सशस्त्र प्रहरी बलको बिओपी बसिरहेको छ । आईसिपी निर्माणका लागि जग्गा अधिग्रहण वापत नेपाल सरकारले ९ करोड ४ लाख रुपैयाँ वितरण गरिसकेको छ । ‘खासमा मुआब्जा वितरण गर्नुपर्ने रकम ९ करोड २९ लाख हो, तर अहिलेसम्म ९ करोड ४ लाख मात्र वितरण भएको छ,’ भुसालले भने ‘केही जग्गा धनी फेला नपरेको हुँदा अझै नआएको हुँदा बाँकी २५ लाख मुआब्जा वितरण गर्न बाँकी छ ।’
प्रकाशित: ६ माघ २०७७ १०:५३ मंगलबार