coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मकाउमा बेरोजगार बनेका १४७ नेपाली कामदार घर फर्कदै

चार्टर जहाजको भाडा प्रतिव्यक्ति ९१ हजार रुपैयाँ

कोरोना भाइरस संक्रमणका कारण मकाउमा रोजगारी गुमाएका नेपाली कामदार जहाज चार्टर गरि स्वदेश फर्किने भएका छन् । कामविहीन भएका ती नेपाली कामदार लिन नेपाल वायुसेवा निगमको जहाज आज राती साढे ११ बजे मकाउका लागि उड्नेछ ।  

नेपाल वायुसेवा निगमले मकाउमा पहिलोपटक चार्टर उडान गर्न थालेको हो । निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले कोरोनाका कारण रोजगारी गुमाएका नेपाली कामदार लिन १५८ सिट क्षमताको न्यारोबडी जहाज मकाउ जान थालेको बताईन । ‘नेपाल एयरलाइन्सको मकाउका लागि पहिलो चार्टर उडान हुनेछ । हङकङसम्म सेड्युल फ्लाइट भएपनि मकाउका लागि थिएन,’ उनले भनिन, ‘चार्टर उडानमा रोजगारी गुमाएर महिनौदेखि मकाउमा रोकिएका कामदार फर्किनेछन् ।’

प्रवक्ता श्रेष्ठका अनुसार साढे ११ बजे उडेको जहाज मकाउ पुगेर कामदार लिएर फर्किनेछ । कामदार लिएर फर्केको उक्त जहाज बुधबार १०ः५० बजे काठमाडौं अवतरण गर्ने श्रेष्ठले बताइन् । ‘बेरोजगारी भएर महिनौदेखि रोकिएका ती कामदार घर फर्किन निकै नै आत्तिएका थिए । हङकङस्थित महाबाणिज्य दुतावासले कामदार लिन मकाउसम्म जाने व्यवस्थापन मिलायो,’ उनले भनिन, ‘यो बेला घर फर्किन पाउन नै ठुलो कुरा भयो । हङकङसम्म नियमित उडान भएपनि कोरोनाका कारण कामदारलाई हङकङ आउन सहज थिएन, त्यसैले ती कामदार लिन मकाउसम्मै जहाज जान थालेको हो ।’ काठमाडौंबाट भने यो जहाज रित्तै मकाउ जानेछ ।

चार्टर उडानमा घर फर्किन थालेका एकजना नेपालीका अनुसार १४७ जना नेपाली बुधबार आउँदैछन् । बैदेशिक रोजगारीमा रहेको उनीहरु कामविहीन भएका थिए । कोरोनाले ती नेपाली कामदारलाई बेरोजगार बनाएपछि तीनमहिनादेखि कामविहीन भएका थिए । ‘तीनमहिनादेखि कामविहीन भएका मजदुर घर फर्किन थालेका छन्,’ ती नेपालीले भने, ‘लामो समयदेखि बेरोजगार भएर बस्नुपर्दा नेपाली कामदार अप्ठेरोमा परेका थिए ।’

ती नेपालीका अनुसार चार्टर फ्लाइट बापत हरेक नेपालीले ५४ सय हङकङ डलर (झन्डै ९१ हजार रुपैयाँ ) रुपैयाँ तिर्नुपरेको छ । मकाउस्थित गैरआवासीय नेपाली संघ, हङकङ महाबाणिज्य दुतावासले पहल गरेको र कामदारले आफै शुल्क तिरेर घर फर्किन थालेको उनले बताए । ‘कोरोना संक्रमणका कारण मकाउबाट बाहिर जान पाउने, तर, मकाउमा आउन नपाउने गरि कडाई गरिएको छ,’ उनले भने ।  

उनका अनुसार मकाउमा कामका लागि गएका नेपाली कामदारको संख्या २५ सय हाराहारीमा छन् । ‘अझै केही बेरोजगार बन्ने अवस्था छ,’ उनले भने, ‘कोरोनाले गर्दा यहाँ कामदारको जागिर गुमिरहेको छ ।’ नेपालीहरु मकाउ जाँदा अधिकांशले हङकङ ट्रान्जिट प्रयोग गर्दै आएका थिए । अहिले हङकङले पनि कडाई गर्दा मकाउबाटै उडेर कामदारहरु नेपाल फर्किन थालेको ती नेपालीले बताए ।  

प्रकाशित: ६ माघ २०७७ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App