७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुन्तला खेतीले धानेको जवाङ गाउँ

१ धादिङको बेनिघाट रोराङ गाउँपालिका – १०, जवाङमा किसानले फलाएको सुन्तला खेती । तस्विर ः सरिता/नागरिक

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जवाङ गाउँ पहेँलै भएर फलेका सुन्तलाले ढाकेको छ । भिरालो परेको बारीमा वर्षौ पहिलेदेखि लगाएका सुन्तलाको बोटले वातावरणलाई नै हरियाली बनाइदिएको छ । हरिया बोटमा पहेँलै भएर फलेका सुन्तला यस गाउँका स्थानीयहरुको आयआर्जनको मुख्य स्रोत हो । २ वर्ष६अघिदेखि सुन्तलाखेती सुरु गरेका गोकुल घलेले १९ गठ्ठा जग्गामा सुन्तलाखेती गरेका छन् । सुरुमा उनका बुबाले तीन गठ्ठा जग्गामा लगाएका थिए, अहिले सात सय ३० बोट सुन्तला छ । एक बोटमा फलेको सुन्तलाबाट ६ देखि ८ हजारसम्म कमाई गर्छन् ।  

यहाँका अधिकांशको मुख्य पेशा नै सुन्तलाखेती हो । खाद्यन्नवाली त्यति उब्जनी नहुने भएपछि बाँझो राखिएको जग्गाजमिनमा सुन्तला लगाएको घलेले बताए । ‘धान, कोदो लगाउदाँ आफूलाई खान पनि पुग्दैनथ्यो, सुन्तलाखेतीले उब्जनी पनि राम्रो दिने, समय पनि धेरै खर्चनु पर्दैन’, घलेले भने, ‘आफूसँग भएको सबै बारीमा सुन्तला लगाएको छु, गाउँका सबैले सुन्तलाखेती गरेका छन्, कमाई पनि राम्रो छ ।’ सुन्तलाको उत्पादन हुने समयमा रात दिन खट्छन् । उनले आफ्नो जग्गा जमिनलाई बाँझो राखेका छैनन् । उनले सिमि, गोलभेडा, काउली लगायतका तरकारी पनि लगाएका छन् ।  

जवाङ गाउँ सुन्तलाखेतीले धानेको छ । यहाँका हरेक घरपरिवार सुन्तलाखेतीमा निर्भर छन् । अरु खेती गर्न पानीको समस्या छ भने पुस्तौदेखि नै सुन्तलाखेती गर्दै आइरहेको भएर अन्य खेतीमा मन नजाने घलेले बताए । ‘तरकारी खेती गर्न पानी छैन, सुन्तला खेतीले वर्षमा २० देखि २५ लाखसम्म कमाई हुन्छ’ उनले भने, ‘अहिले मोटरबाटो गाउँसम्म नै पुगेको छ, मुग्लिनका ब्यापारीहरु बारीमै लिन आउँछ ।’ गाउँमा मोटरबाटो नपुग्दा तीन घण्टा मौबाखोलासम्म बोकेर ल्याउनुपथ्यो ।  

सुन्तलाको विरुवा रोपेको पाँचवर्षबाट उत्पादन सुरु हुन्छ । राम्रो स्याहारसुसार गरे एउटा बोटले २० वर्षसम्म उत्पादन दिइरहने किसानहरु बताउँछन् । सुन्तलाको फूल खेल्ने समयदेखि उत्पादन भएर नबेचुन्जेलसम्मको समय किसानलाई चटारो पर्ने गरेको छ । अन्य समयमा आकाशे पानीको भरमा तरकारी खेती गर्छन् । गाउँमा मनकामना र इच्छाकामना गरी दुईवटा सुन्तला पकेट समूह पनि बनाएका छन् । समूहमा रहेर आफ्ना उत्पादन बारे एकअर्कालाई बताउने, अनुभवहरु साट्ने, तालिमहरु दिने लगायत गरिन्छ ।  

वि.सं २०३३ सालदेखि नै सुन्तला खेती सुरु गरेका जवाङकै ६६ वर्षका रामबहादुर गुरुङ सुन्तलाखेतीलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन् । सुन्तला खेतीलाई व्यवसायको रूपमा अँगालेका उनले वर्षेनी आम्दानी बढाउँदै लगेको उनले बताए । ‘आफूसँग भएको १२ गठ्ठा जग्गामा सुन्तलाखेती गर्दै आइरहेको छु,’ उनले भने, ‘बेच्नका लागि व्यापारीहरु घरमै आउँछन्, यसबाट वर्षैनी नौ लाखसम्म आम्दानी लिने गरेको छु ।’ व्यापारीहरु गाउँमै जाने र धादिङकै विभिन्न बजार, चितवनको फिस्लिङ, मुग्लिनमा बेच्न लैजाने गर्छन् ।  

यतिबेला बोटमा लटरम्म फलेका सुन्तला बिक्रि गर्ने समय भएको छ । किसानलाई पनि बर्षभरी लगाएको सुन्तला बेच्न भ्याई नभ्याई छ । ‘पहिलेपहिले आफूले खानका लागि मात्र तीन, चार बोट सुन्तला लगाएका थियौँ’, गुरुङले भने, ‘अहिले सयौ बोटहरु छन्, व्यवसायीक खेती सुरु गरेका छौँ ।’ थौरै लगानीमा धेरै आम्दानी लिन सकिने भएका कारण अन्य पेशातिर ध्यान नगएको गुरुङको भनाई छ । सुन्तला टिपेर सकिएपछि अदुवा लगाउने गरेको उनले बताए ।  

अर्का किसान जगबहादुर गुरुङल पनि सुन्तला खेतीमा रमाउने गरेका छन् । आफ्नो भएका पाखोबारी सबैमा सुन्तला लगाएका छन् । अन्य खेती गर्दा त्यति आम्दानी नमिलेपछि सुन्तलाखेती गर्न थालेको गुरुङले बताए । सुन्तलाखेती गर्दा पनि पहिलेपहिले बाटो नहुने र बजारभाउ पनि नभएका कारण निराश हुने गरेका थिए । ‘पहिले मानिसले बोकेर बजारसम्म लैजानुपथ्यो, बोकेर लैजादा समय धेरै र जनशक्ति नपाउने समस्या हुन्थ्यो’, गुरुङले भने्, ‘अहिले गाउँमा मोटरबाटो पुगेको छ, टिपेर राख्यो, व्यापारीहरु नै लिन आउँछन् ।’ किसानले सुन्तला किलोको ९० रुपैयादेखि एक सय २५ रुपैयासम्ममा बेच्ने गरेका छन् ।  

धादिङमा उत्पादित सुन्तला धादिङकै विभिन्न ठाउँहरु, काठमाण्डौ र चितवन लगाएत पोखराका बजारहरुमा विक्रिका लागि व्यापारीहरुले लैजाने गरेका छन् । एक वर्ष सुन्तला खेती सुरु गरेपछि वर्षौंसम्म कम लगानीमै प्रतिफल पाइरहने क्षेत्र भएकाले पनि यसमा धेरै सहज खेतीको सम्भावना रहेको किसानहरु बताउँछन् । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला खेती गरिदै आइरहेको छ । कुनै ठाउँमा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि उत्पादन भने वर्षेनी घट्दै गएको छ भने केही ठाउँमा बर्षौदेखि सुन्तलाले नै जीविका धानेको छ । सुन्ताला खेती गर्ने किसानहरुको संख्या हरेक वर्ष बढेको छ ।  

गाउँपालिकाले सुन्तला क्षेत्रसम्म मोटरबाटो पु¥याइदिएको छ । सुन्तला बजारसम्म लैजान मानिस आफैले बोक्नुपर्ने बाध्यता हटेको छ । गाडीले बजारसम्म लगिदिन्छ । स्थानीय तहहरुले पनि किसानहरुलाई विरुवामा सहुलीयत, औषधी र मलहरुमा अनुदान समेत दिदै आइरहेको छ । सुन्तलामा लाग्ने रोग, त्यसको पहिचान र समाधानका विषयमा गाउँपालिकाले तालिम तथा चिस्यान केन्द्र निर्माण गरिरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटीले बताए ।  

सुन्तला विक्रि गर्ने समयमा बजारसम्म लैजान सजिलो होस् भन्ने उद्देश्यले गाउँपालिकाले सुन्तला किसानलाई पाँच सय थान क्रेट उपलव्ध गराइएको हो । स्थानीय लालि गुराँस र सिर्जना आमा समूहले जवाङको सुन्तला विक्रिका लागि समन्वय गरिरहेको छ । दुबै आमा समूहलाई २५०÷२५० ओटा क्रेट उपलव्ध गराइएको हो ।  गाउँपालिकाले सुन्तला विक्रिसंगै अन्य प्रयोजनका लागि दुबै आमा समूहको नाममा सामुदायिक भवन पनि बनाएको छ ।  

प्रकाशित: ५ माघ २०७७ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App