४ वैशाख २०८१ मंगलबार
अर्थ

लगानी बोर्डले एकलबिन्दु सेवा दिने

लगानी बोर्डको कार्यालयले स्वदेशी तथा विदेशी लगानीकर्तालाई अन्तरसरकारी निकाय धाउनुपर्ने बाध्यता अन्त्य गर्न अटोमेटिक वानस्टप सर्भिस सेन्टर (एकलबिन्दु सेवा केन्द्र) सञ्चालनमा ल्याउने भएको छ। लगानी बोर्डको ४५औं बैठकले एकलबिन्दु सेवालाई स्वचालित बनाउने योजनाको अवधारणापत्र स्वीकृत गरिसकेको छ।

लगानी बोर्डका सहसचिव धमेन्द्रकुमार मिश्रले बोर्डले स्वदेशी तथा लगानीकर्तालाई अन्तरसरकारी निकाय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न एकलबिन्दु सेवा केन्द्र सञ्चालन गर्न लागेको बताए। ‘अहिले कुनै पनि लगानीकर्ता आफ्नो काम गर्नको लागि कम्तीमा पनि १५ देखि १७ वटा सरकारी निकाय धाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘लगानीकर्तालाई सहज र सुलभ सुविधा दिनको लागि यो सेवा सुचारु गर्न लागेका हौं।’  

अहिले नेपालका परियोजनामा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ताले उद्योग वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत धेरै निकायमा धाउनुपर्ने बाध्यता छ। बोर्डको कार्यालयले सम्भवतः तीन महिनाभित्रै वेबपोर्टलमार्फत एकलबिन्दु सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको छ। ‘बोर्डको कार्यालयले वेबपोर्टल निर्माण गर्नेछ। अन्य सरकारी निकायसँग इन्टरलिंक गरेर सो सुविधा उपलब्ध गराउनेछ,’ उनले भने, ‘यो सेवा भएसँगै कार्यालयको ढोका–ढोका धाउनुपर्ने परम्पराको अन्त्य हुनेछ ।’ बोर्डले सफ्टवेयर निर्माण गर्न पर्याप्त बजेट भएको समेत जनाएको छ।

बोर्डले स्वदेशी तथा विदेशी लगानीकर्तालाई परियोजनामा लगानी गर्न सहज हुने गरी पोलिसी डिपार्चर (प्रस्थान नीति) तयार पार्ने भएको छ। बोर्डले लगानीकर्तालाई छिटो, छरितो तथा व्यवस्थित ढंगले परियोजनामा लगानी गर्न आवश्यक पोलिसी डिर्पार्चर गर्नको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न लागेको हो। 

लगानी बोर्डको गत कात्तक २५ गते बसेको ४५औं बैठकले लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक, विभिन्न सरोकारवाला निकायसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्ने विषयमा छलफल भएको थियो। सो छलफलमा लगानीकर्तालाई एकलबिन्दु सेवा केन्द्र र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना गरी उपयोग गर्ने विषयमा छलफल भएको थियो।  

बोर्डको रणनीतिक योजना तर्जुमा गर्न ६ वटा विशेष कार्यदल गठन गरिसकेको छ। बोर्डका सहसचिव मिश्रले ६ वटा कार्यदलले आफ्नो जिम्मेवारी अनुसार रणनीतिक योजना तयार पार्न काम गरिरहेको बताए। ‘बोर्डमा सिइओ साप आएसँगै पाँचवटा अवधारणापत्र ल्याइएको हो,’ उनले भने, ‘यो पाँचवटा अवधारणा पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालका परियोजनामा लगानी गर्न अझै ढोका खोल्नेछ।’

बोर्डले अहिले लगानी प्रवद्र्धन, लगानी स्वीकृत र लगानी सहजीकरण र विभिन्न किसिमका परियोजनाको विदेश तथा स्वदेशमा लगानी भित्र्याउन आवश्यक पहलकदमी गर्दै आइरहेको छ। ‘प्रोजेक्ट बैंकलाई पनि अझै व्यवस्थित बनाउन खोजेका छौं,’ उनले भने, ‘प्रोजेक्ट बैंकमा अध्ययन भइसकेका परियोजना, भविष्यमा लगानी गर्ने परियोजना लगायत विषयमा विस्तृत जानकारी उपलब्ध गराउनेछौं। यसले परियोजनामा लगानी गर्नेका लागि अझै सहज बनाउनेछ।’

प्रकाशित: ५ माघ २०७७ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App