मेलम्ची खानेपानी आयोजनाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । बिगतको त्रुटी सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले ढिलोमा आगामी फेबु्रवरी महिनाभित्र सुरुङमा मेलम्ची खोलो छिराएर (पथान्तरण) परीक्षण गरिने बताए । ‘सुरुङ गेटको काम सकिनै लागेकाले पुनः परीक्षण तयारी थालिएको हो,’ उनले नागरिकसँग भने । उनका अनुसार सुरुङको गेट रहने संरचनामा कंक्रिटिङ ढलान गर्ने र फ्रेम झुण्डाउने काम सकिएको छ । अहिले झुण्डाइएको गेट कस्ने काम भइरहेको छ ।
आयोजना र दातृ निकायको समन्वयमा जर्मनीबाट झिकाइएको बिज्ञ टोलीले समग्र सुरुङको अवस्था र गेट जडान कार्यको प्रत्यक्ष सुपरीवेक्षण र प्राविधिक अध्ययन गरिरहेको छ । सुरुङ र गेट बिज्ञ सम्मिलित टोलीले अन्तिम प्रतिवेदन बुझाएपछि परीक्षणको काम सुरु हुने प्रवक्ता पन्तले जानकारी दिए । ‘बिज्ञ टोलीले जनवरीको अन्तिमसम्म प्रतिवेदन बुझाउँछौँ भनेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा फेब्रुवरीदेखि सुरुङ परीक्षण थाल्ने तयारी छ ।’
आयोजनाका अनुसार बिज्ञले डिसेम्बर अन्तिमसम्ममा प्रतिवेदन बुझाउने भने पनि गेटकै काम सकिएन । बिज्ञले प्रतिवेदनमा केही त्रुटी औँल्याए पहिला त्यो सच्याउने काम हुने प्रवक्ता पन्त बताउँछन् । त्रुटी भेटिएपछि नै नयाँ डिजाइन अनुसार पुनः गेट जडान गर्ने काम भइरहेकाले स–साना बाहेक ठूला कमजोरी फेला नपर्ने आयोजनाको विश्वास छ ।
गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटी भएको फेला परेको थियो । गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिए पनि दुईको ज्यान गएको थियो ।
घटनापछि खानेपानी मन्त्रालयद्धारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित बिज्ञ सम्मिलित छानविन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटी रहेको औँल्याएको थियो । समितिकै छानविन प्रतिवेदनको सिफारिसअनुसार असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य भइरहेको हो । पहिला बाहिरबाटै बाहिरै खोल्न मिल्ने गरी गेट जडान गरिएको थियो । अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी गेट जडान भइरहेको छ । बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी राखिएका गेट सुरुङमा जम्मा भएको पानीको चापले धकेलेर नटबोल्ट खुस्कँदा दुर्घटना भएको थियो ।
तीन महिनाभित्र मंसिरसम्ममा गेट जडानको काम सक्ने गरी काम थालिएको थियो । प्राविधिक कारणले गेट जडानमा समेत ढिलाइ भइरहेको प्रवक्ता पन्तले बताए । ‘पुनः दुर्घटना नहोस् र समस्या नआओस् भनेरै विज्ञ टोलीले स्थलगत अनुगमन गरिरहेको छ,’ उनले भने । साढे २६ किलोमिटर लामो सुरुङमार्गका चार अडिट टनेल अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा रहेका चारवटै गेट पुनः जडान भइरहेको हो ।
सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्स (मुहान) को पनि काम गरिरहेको छ । इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट पुनः डिजाइन, निर्माण, जडान भइरहेको छ । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरिरहेको छ । पूरानो गेटको काम पनि यी दुई कम्पनीले गरेका थिए ।
गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो । परीक्षणको १० दिनमै गेट खुलेर दुर्घटना निम्तिएको थियो । सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण थालिएको थियो । सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो । अब पुनः पथान्तरणको काम सक्न त्यति नै समय लाग्ने आयोजनाले जनाएको छ ।
गेट सच्चाउँनेसँगै हेडवक्र्सको काम पनि एक साथ भइरहेको छ । हेडवक्र्सको ठेक्का सम्झौता भने डिसेम्बर अन्त्यसँगै सकिएको छ । ६ महिना सम्झौता थप्ने व्यवस्था रहेको आयोजनाले जनाएको छ । कोरोना महामारी लगायत कारण काममा असर पुगेको समयवाधिका आधारमा सुरुमा तीन महिना म्याद थप्ने तयारी आयोजनाको रहेको प्रवक्ता पन्तले जनाए । ‘हेडवक्र्सको काम धेरै अघि बढेको छ,’ उनले भने । आगामी अप्रिलसम्म मेलम्ची पानी काठमाडौँ पु¥याउन आयोजना कस्सिएको प्रवक्ता पन्तले दाबी गरे ।
प्रकाशित: ४ माघ २०७७ १८:०९ आइतबार