coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एचआइडिसिएलले १३ आयोजनामा १० अर्ब ८८ करोड लगानी गर्ने

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले चार सय ७८ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजनामा १० अर्ब ८८ करोड रूपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले १० अर्ब ८८ करोड रूपैयाँमध्ये चार अर्ब ९८ करोड रूपैयाँ विभिन्न जलविद्युत् आयोजनामा ऋणको रूपमा लगानी गरिसकेको बताए।  

‘कम्पनीले ऋण लगानी गरेकोमध्ये ९०.४ मेगावाट क्षमताको चारवटा आयोजना निर्माण सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘१८२ मेगावाट क्षमताका चारवटा आयोजना प्रसारण लाइनको सुनिश्चितता भएमा यसै आर्थिक वर्षदेखि सञ्चालनमा आउनेछन्।’  

सिइओ पोखरेलले कम्पनीबाट ऋण लगानी भएका आयोजनामध्ये कुल ९०.६ मेगावाटका चार आयोजना सञ्चालनमा आइसकेको बताए। २० मेगावाटको बागमती साना जलविद्युत् आयोजना, २५ मेगावाटको काबेली १ जलविद्युत् आयोजना, २२.१ मेगावाटको तल्लो हेवा र २३.५ मेगावाटको सोलुखोला जलविद्यु्त् आयोजना सञ्चालनमा आइसकेका छन्। कम्पनीका अनुसार १८२ मेगावाटका चार आयोजना प्रसारण लाइन बनेको खण्डमा बिजुली उत्पादन गर्ने तर्खरमा छन्।  

४२ मेगावाटको मिस्त्री खोला, ३० मेगावाटको न्यादी, २८ मेगावाटको दोर्दी, ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना तयारी अवस्थामा छन्। कम्पनीका अनुसार नेपाल सरकारको तर्फबाट विश्व बैंकको ४० मिलियन अमेरिकी डलर (करिब चार अर्ब रूपैयाँ) ऋण काबेली ए जलविद्युतु आयोजना (३७.६ मेगावाट) को विकासको लागि अनलेन्ड गरिरहेको छ। तर हाल आयोजना प्रवद्र्धक काबेली इनर्जी लिमिटेडको आन्तरिक कारणले आयोजनाको निर्माण कार्य स्थगित भएको छ।  

कम्पनीले हालसम्म १५६८ मेगावाट क्षमताका ६ जलविद्युत आयोजना र चारवटा जलविद्युत् क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनीमा नौ अर्ब ४५ करोड स्वपुँजी लगानी गर्ने निर्णय गरेकोमा हालसम्म ९५ करोड रकम प्रवाह गरेको सिइओ पोखरेलले बताए।

यो कम्पनी देशभित्र र बाहिर रहेको पुँजीलाई व्यवस्थित रूपमा संकलन गरी ऋण तथा स्वपुँजी लगानीमार्फत जलविद्युत् आयोजना तथा सोसँग सम्बन्धित पूर्वाधार विकास गर्न आवश्यक पुँजी परिचालन गर्ने उद्देश्यसहित स्थापना भएको हो। कम्पनीको अधिकृत पुँजी ५० अर्ब र जारी पुँजी २२ अर्ब रहेको र हालसम्म १६.५ अर्ब चुक्ता पुँजी रहेको बताइएको छ। कम्पनीमा ५० प्रतिशत सेयर नेपाल सरकारको छ। यसमध्ये अर्थ मन्त्रालयको २० प्रतिशत, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको १० प्रतिशत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रकको कार्यालयको १० प्रतिशत छ।

त्यसैगरी, तीनवटा सरकारी स्वामित्वका सार्वजनिक संस्थाहरू कर्मचारी सञ्चय कोषको १० प्रतिशत, नागरिक लगानी कोषको १० प्रतिशत र राष्ट्रिय त्रिमा संस्थानको १० प्रतिशत र सर्वसाधारण जनताको २० प्रतिशत सेयर छ। सिइओ पोखरेलले कम्पनीले जलविद्युत् उत्पादन, प्रसारण र वितरण परियोजनामा सेयर तथा ऋण लगानी गर्ने, जलविद्युत् उत्पादन, प्रसारण र वितवरण परियोजनामा वित्तीय स्रोत परिचालनको लागि विदेशी संस्थाबाट ऋण तथा अनुदान प्राप्त गर्ने लगायत काम गर्दै आएको बताए।

यस्तो छ भावी योजना

सिइओ पोखरेलले कम्पनीले पाँचवर्षे व्यावसायिक योजना अनुसार आगामी ०७८/७९ सम्म कुल ३३३९ मेगावाट क्षमताका २३ जलविद्युत् आयोजनामा १० अर्ब ७६ करोड रूपैयाँ स्वपुँजी लगानी गर्ने लक्ष्य राखेको बताए। ‘कम्पनीले ऋण लगानीतर्फ २८१० मेगावाट क्षमताका १४ जलविद्युत् आयोजनामा १२ अर्ब ६८ करोड रूपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ,’ उनले भने।  

हकप्रद निष्कासनपछि लाभांश  

कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि मात्रै लाभांश बाँड्ने जनाएको छ। कम्पनीको वर्तमान अवस्था र भावी कार्ययोजना सार्वजनिक गर्दै सिइओ पोखरेलले सबै प्रक्रिया पुर्‍याएर छिट्टै लाभांश घोषणा गर्ने बताए।

प्रकाशित: ४ माघ २०७७ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App