१३ फाल्गुन २०७७ बिहीबार
अर्थ

काठमाडौँ–ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै सुरु गरिने

बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताएका छन्। नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उनले काठमाडौँ– ढाका बस सेवा तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै सुरु गरिने जानकारी दिए।  

बङ्गलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिए। प्रा डा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गरे। डा इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताए। डा के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए।  

मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल र सङ्घका बङ्गलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिए। सङ्घका सल्लाहकार धर्मराज बरालले एकार्काले आआफ्ना धर्म, कला र संस्कृतिको  सम्मान गर्नुपर्ने विचार व्यक्त गरे। बिहीबार साँझ भएको बैठकमा साहित्यकार तथा समाजसेवी भक्तराज रञ्जितले साहित्य एवं कलाको आदानप्रदान गर्दै  दुवै देशका जनता जागृत भई लाग्नुपर्ने धारणा राखे। रासस

प्रकाशित: ३ माघ २०७७ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App