१५ माघ २०७७ बिहीबार
अर्थ

जुम्ली स्याउका विरुवा निर्यात सुरु

जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ। जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेका छन्। यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात भएको हो।  

यहाँका एकैजना किसानले ६ हजार विरुवा बेचेका हुन्। सिँजाका किसान हंस कठायतले ६ हजार विरुवा बेचेको युवा किसान गोपाल रोकायाले बताए। विरुवा लिन कृषि कार्यालय दाङको टोली गाडी लिएर जुम्ला पुगेको थियो। रोकायाले भने,‘नर्सरीबाटै ६ हजार विरुवा दुई गाडीमा लोड गरेर लियोे। किसानले सबै विरुवाको नगद नर्सरीमै पाए। निकै उत्साहित बने। किसानका लागि यो राम्रो पक्ष हो। ’ रेड, रोयल र गोल्डेन जातको स्याउ जिल्ला बाहिर निर्यात भएको हो।

स्याउका विरुवा रोप्ने सिजन आउन बाँकी भएपनि तातो हावापानी भएको जिल्लामा स्याउ रोप्न थालिएको हो। नर्सरीमै ४० रुपैयाँ प्रतिविरुवा बेचेको किसान बताउँछन्। फाटफुट किन्दा प्रति विरुवा ५० रुपैयाँ पर्छ। स्याउ जुम्लाको पहिचान हो। निरोगी विरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान उत्साहित छन्। अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका विरुवा किन्न ब्यापरी गाउँमै पुग्छन्।  

स्याउका विरुवा जिल्ला बाहिर निर्यात गर्नको लागि यहाँका किसान संगठिन हुने गोपाल रोकायाले बताए। जिल्ला बाहिरबाट आएको माग अनुसार सबै किसानले सल्लाह गरेर एकै पटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ। यो कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकरात्मक छ। हरेक वर्ष जुम्लादेखि स्याउका विरुवा निर्यात हुने गरेको छ। यहाँको विरुवा तत्कालिन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुंङ, डोटी र जाजरकोटसम्म निर्यात हुन्छ। चिसो हावापानीमा निरोगी विरुवा पाइने भएकोले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन्।  

हाल जुम्लामा स्याउ नर्सरी ११० छन। तर  ७५ नर्सरी धनीले सक्रिय रुपमा विरुवा उमारिरहेका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जुम्लामा साढे पाँच लाख विरुवा रहेको बताउँछन्। उनले भने,‘ जिल्ला बाहिर पठाउने तर्खरमा छौँ। गत वर्ष जस्तो माग आएको छैन। किसान चिन्तित छन्। तर स्याउ लगाउने सिजन सुरु भएकोले विरुवा बिक्री हुने अपेक्षा गरिएको छ। ’

यो पटक सोचे जस्तो गरेर हिउँ परेन। खाल्डा खन्न गाह्रो हुन्छ। फागुन पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकोले माग आउने अपेक्षा गरिएको छ। हाल जिल्लाको सिँजा क्षेत्र र गुठिचौर क्षेत्रतीरबाट स्याउ निर्यात भइरहेको जानकारी भएको प्रमुख देवकोटा बताउँछन्। स्याउका विरुवा यहाँका किसानको प्रमुख आमदानीको स्रोत हुन्। यहाँ ३८ सय हेक्टरमा स्याउ रोपिएकोमा १५ सय हेक्टरको स्याउले फल दिन्छ।

प्रकाशित: १ माघ २०७७ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App