१५ माघ २०७७ बिहीबार
अर्थ

लाहुरेको लोभलाग्दो पोल्ट्री व्यवसाय

पोल्ट्री फर्ममा काम गर्दै डम्वरबहादुर गुरुङ । तस्बिर : नागरिक

डम्वरबहादुर गुरुङ (५०) ब्रिटिस लाहुरे हुन् । जीवनको उर्वर समय उनले अर्काको देशको सेवामा विताए । लाहुरे जीवनबाट अवकास भएपछिका केही वर्ष युकेमै ‘सिभिल’मा काम गरे । लाहुरे भएदेखि परिवारसहित युके बस्दै आएका उनलाई माटोको मायाले डोर्‍यायो । २०७२ सालमा पुख्र्यौली  थलो फर्किका उनी अहिले कर्णाली प्रदेशका सफल पोल्टी व्यवसायी हुन् ।  

‘लाहुरे जीवनमा धेरै देश घुम्ने मौका पाएँ, त्यहाँको विकास र प्रगति देख्दा आफ्नो पुख्र्यौली थलो र माटोको याद आउँथ्यो,’ गुरुङले भने, ‘मैले गरेको कामले अरुलाई प्रेरणा मिलोस् भन्ने लाग्यो, अनि गाउँ फर्केर पोल्ट्री व्यवसाय सुरु गरेँ । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ गुमीका स्थायी बासिन्दा गुरुङले लाहुरे हुँदा कमाएको र केही ऋण गरेर चार करोडको लगानीमा गुमी जहरे पोल्ट्री फर्म सुरु गरेका छन् ।


गुमीमा प्रसस्त पुख्र्यौली जमिन थियो । सुरुमा पुख्र्यौली थलो फर्किदा के गर्ने भन्नेमा उनी अन्यौल थिए । उनले बंगुरपालन व्यवसाय गरे । उक्त व्यवसायबाट सोचेजस्तो आम्दानी भएन् । पंगुरपालन छोडेर तीन वर्षदेखि उनी पोल्ट्री फर्म गरिरहेका छन् । पोल्ट्री व्यवसाय कर्णालीका लागि नयाँ थियो । व्यवसायका बारेमा उनी जानकार थिएनन् । ‘इन्टरनेटमार्फत पोल्ट्री व्यवसायका बारेमा अध्ययन गरे, संभावना र चुनौतिको विष्लेषण गरेँ,’ उनले भने, ‘अहिले मेहनत अनुसारको प्रतिफल पाइरहेको छु ।’

गुरुङको पोल्ट्री फर्मबाट अण्डा र चल्ला उत्पादन हुन्छ । चल्ला उत्पादनका लागि ह्याचरी र आवश्यक पर्ने दानाका लागि फर्मभित्रै उद्योग छ । ‘अहिले महिनामा पाँच हजारसम्म चल्ला उत्पादन हुन्छन्,’ उनले भने, ‘बजारको माग अनुसार आपूर्ति गर्न सकिरहेको छैन् ।’ कर्णालीमा ह्याचरी र अण्डाको बजार उनले राम्रो देखेका छन् । अहिले फर्मबाट उत्पादित अण्डा र चल्लाले पूर्वी सुर्खेतलाई मात्रै धानेको छ । फर्मको क्षमता विस्तार गरेर कर्णालीका जिल्लाभर आफ्नो उत्पादन पु¥याउने लक्ष्य उनको छ ।
फर्मममा अण्डा उत्पादनकै लागि लोकल, लेयर्स र कोइलर जातका छ हजारबढी कुखुराहरु छन् । दैनिक ३५ देखि ४० हजारसम्मका अण्डा विक्री हुन्छ । बजार खोज्दै जानु पर्दैन् । अण्डा र चल्ला लिन उनको फर्ममा दैनिक मानिसको लाम लाग्छ । ‘यो सेवामुलक व्यवसाय हो, गुणस्तर कायम गर्न सक्यो भने मानिसहरुले विश्वास गर्छन्,’ उनले भने, ‘उत्पादनको बजार खोज्दै जानु पर्दैन्, विहानदेखि बेलुकासम्म चल्ला र अण्डा लिनेहरुको यहाँ भीड लाग्छ ।’


उमेरले आधा दशक पार गर्न लागेपनि उनको लाहुरे दैनिकी फेरिएको छैन् । विहान चार बजे उठ्छन् । केही समय ब्यायाम गर्छन् । अनी कुखुराका खोर चाहर्छन् । ‘आफुले पहिले काम गर्दा स्टाफहरु पनि मन लगाएर काम गर्छन्,’ उनले भने, ‘लाहुरे परियो, अल्छी गर्न मनले मान्दैन् ।’ उनको फर्ममा पाँँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘दैनिक ज्यालादारीमा पाँचदेखि १० जनाले काम गर्नुहुन्छ,’ गुरुङले भने, ‘चल्ला र अण्डाको उत्पादन बढाउँदै जाँदा रोजगारी पाउनेहरुको संख्या पनि बढ्दै जान्छ ।’
 

युकेको सुविधा छोडेर गाउँ आएर सुरुमा बंगुर फार्म सुरु गर्दा उनलाई गाउँलेले ‘मुर्ख’ भन्थे । अहिले उनी मुर्ख भन्नेहरुकै लागि प्रेरणाको स्रोत बनेका छन् । पोल्ट्री फर्मसँगै उनी सामाजिक सेवा पनि गर्छन् । ‘मेरै पोल्ट्री व्यवसाय सुरु गरेपछि अहिले यहाँका घर–घरमा कुखुरापालन सुरु भएको छ,’ उनले भने, ‘पैसा हुनेले किनेर लिन्छन्, नहुनेका लागि मैलेनै निःशुल्क दिने गरेको छु ।’ भर्खरै उनकी श्रीमती पनि युकेबाट आएकी छन् । ‘अव दुबै जना यहीँ बस्छौं,’ गुरुङले भने, ‘पुख्र्यौली थलोमा बसेर व्यवसाय गर्नुको आनन्द युकेको सुविधाले दिदैनथ्यो ।’

प्रकाशित: १ माघ २०७७ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App