१५ माघ २०७७ बिहीबार
अर्थ

सरकारी लेखापालको नमुना कालिजपालन

जुम्ला गुठिचौर गाउँपालिका-४ का महाकृष्ण पाण्डे सरकारी लेखापाल हुन्। उनी कालिकोट जिल्लामा भौतिक पूर्वाधार कार्यालयमा कार्यरत छन्। पछिल्लो समय उनी लेखापाल भन्दा पनि कालिजपालकका रुपमा परिचित छन्।  

उनले महालक्ष्मी कालिज फर्म खोलेर गाउँमै कालिजपालन गरेका छन्। कालिजपालन जुम्लामा नौलो कार्य हो। उनले पालेको कालिज हेर्नकै लागि भिड लाग्छ। कसैले कालिज कसरी पाल्ने भन्ने विषयमा अनुभव आदानप्रदान गर्छन्। कसैले कालिजपालन गर्न लागेको बताउँछन्। महाकृष्णले भने,‘व्यवसायिक रुपमा कालिजपालन गरेको जुम्लामा पहिलो पटक भएकोले पनि हेर्न आउनेको भिड नै लाग्छ। कुखुरा पालन गरेका किसानले कालिजपालन गर्न रुचाउने गर्छन्।’

यसअघि कालिज व्यवसायिक रुपमा पालन गर्न सकिदैन् भन्ने भ्रम थियो। तर पाण्डेले पहिलो पटक १५० कालिज ल्याएर पालन सुरु गरे। उनले भने,‘इच्छाशक्ति मात्र हुनु पर्यो। कालिजपालन गर्न कुनै कठिनाइ छैन। तर कालिजको रेखदेखमा अधिकांस समय बिताउनुपर्छ।’

हरेक दिन दश बजेदेखि पाँच बजेसम्म कार्यालयमा खटिएर कार्यालय समय भन्दा बाहिरको समयमा उनी कालिजपालन मै ध्यान केन्द्रित गर्छन्। अहिले कालिकोटमा कार्यक्षेत्र भएकोले हरेक शुक्रबार उनी घरमा जान्छन्। सबै समय कालिजको रेखदेखमै खर्चिन्छन्।’

जुम्लामा हिमपात हुने भएकोले समस्या छ। बिजुलीको अभाव छ। नजिकैको माइक्रोहाइड्रोबाट आउने बिजुलीले धान्दैन। २४ सैँ घण्टा पनि आउँदैन। राति जंगली जनावरबाट दुःख पाइन्छ। कालिज जंगली जनावरबाट बचाउन चुनौति रहेको कालिजपालक पाण्डे बताउँछन्।

गत असार महिनाबाट कालिज पालनको थालनी गरेका पाण्डेले २५ गोटा कालिज बेचिसकेका छन्। अहिले उनीसंग १ सय २० गोटा कालिज छन्। जसमध्ये ४० गोटा पोथि कालिज हुन्। हरेक दिन कालिज पालेको ठाउँमा १० देखि १२ जना अवलोकन गर्न आउँछन्। कालिजपालन अवलोकन स्थल जस्तो बनेको छ। अवलोकन गर्न आउने किसानले कालिजपालन हेर्छन्। किनेर घर लैजान्छन्। कालिजपालन बारे सुझाव दिन्छन्। महाकृष्णले भने,‘कालिजपालनले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको देखिन्छ। उनले कालिजपालनलाई अझ व्यवसायिक बनाउँदै सबैको आकर्षणको केन्द्र बनाउने बताए। सरकारी कर्मचारी कृषि क्षेत्रमा लगाव राख्दैनन् भन्ने भ्रम चिरेर इच्छा शक्ति हुनेले कृषि क्षेत्रको उत्थान गर्छन भन्ने सन्देश प्रवाह गर्न खोजेको बताए।  

जुम्ला कालिजको लागि उपयुक्त हावापानी भएको क्षेत्र हो। यहाँ हजारौँ संख्यामा कालिजपालन गरेर आन्तरिक तथा ग्रामिण पर्यटनलाई बढवा दिन सकिन्छ।  

जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको संचालक महाकृष्ण पाण्डेले जानकारी दिए।  

स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको हो, उनले भने,‘अब कर्णालीमा पनि कालिज पालन गर्न सकिन्छ भन्ने थाहा भयो। यसको सिको बिस्तारै सबैले गर्नेछन्। कर्णाली कालिजपालनको लागि एक नमुना क्षेत्रका रुपमा स्थापित होस भन्ने चाहान्छु।’

हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसावले पनि निकै उत्तम हुने पशुपंक्षि विज्ञ बताउँछन्। यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकहरुले समेत भन्न थालेका छन्। भेटनरी तथा पशुपालन विकास कार्यालय जुम्लाका प्रमुख गोविन्द महत यहाँ पालिएको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताउँछन्। यहाँ जंगलमा पाइने कालिजको भन्दा यही उत्पादन भएर हुर्केको कालिजको मासु झन राम्रो हुने देखिन्छ।  

जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फर्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ। एक हजार बढि चल्ला उत्पादन गर्ने, तीन वर्षमा जुम्लालाई आवश्यक पर्ने कालिज उत्पादन गरी बजारमा लैजान सक्ने गरि तयारी थालिएको संचालक पाण्डे बताउँछन्।  

पहिलो चरणमा १५ लाख रुपैयाँ लगानी गरी कालिजपालन गरिएको हो। लगानीका लागि ऋण र सापट गरिएको छ। अहिले कालिजपालनमा पाण्डे परिवार नै लागेको छ।  

धेरैजसो धमाधम बिक्री भईरहेका छन्। प्रति कालिज तीन हजार पाँच सय रुपैयाँमा बिक्री गरिएको छ। यो मूल्य करिब स्थानीय कुखुराको मूल्य बराबर भएकाले बिक्री बढि हुन थालेको छ।    

कालिज नेपालमा पाइने एक जंगली चरा हो। यो चरा कुखुरा जस्तै हुने भएकाले कतै कतै यसलाई ‘वन कुखुरा’ अथवा ‘वन मुर्गी’ पनि भनेको सुनिन्छ। कालिजहरू प्रायः पहाडी क्षेत्रको जंगलमा पाइन्छन्। सिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको लोप हुने सम्भावना बढेको छ। कालिजहरूका पनि कुखुरा जस्तै ठूलो समूहमा चल्लाहरू हुन्छन्। बैसाख र जेठमा बढी जसो कालिजहरूले चल्ला निकाल्छन्। मंसिर, पुससम्म चल्लाहरू एक समूहमा बस्ने गर्छन् भने फागुन लागेपछि कालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।  

पछिल्लो समयमा कालिजपालन एक आकर्षक काम भएकोले यहाँका किसान कालिजपालनमा हौसिन थालेका छन्।

प्रकाशित: १ माघ २०७७ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App