१५ माघ २०७७ बिहीबार
अर्थ

गोरखकाली रबर उद्योगः पुनः सञ्चालन गर्नै मुस्किल

बन्द अवस्थामा रहेको गोरखास्थित गोरखकाली रबर उद्योग। तस्बिर : नरहरि/नागरिक

उद्योग झाडीले झपक्कै छोपेको छ। मुख्य गेटमा ६ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन्। २०७२ को भूकम्पपछि पूर्ण रूपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा त्यहाँ रहेका दुई सय ४२ जना, डिपो र काठमाडौंस्थित सम्पर्क कार्यालयसहित दुई सय ८० भन्दा बढी कर्मचारीलाई अवकास दियो। हाजिर गर्न कर्मचारी गइरहँदा चहलपहल देखिने उद्योग त्यसयता सुनसान छ।  

उद्योगभित्र चारवटा साना गाडी थोत्रिएका छन्। गुड्दागुड्दै थन्किएका गाडी थोत्रा भएका हुन्। केही मोटरसाइकल पनि उद्योगभित्र थन्किएका छन्। करोडौंका मेसिन धुलो र खियाले थोत्रिएका छन्। टायर उत्पादनको काम नहुँदा मेसिन कवाडीमा परिणत भएको छ। ‘हामीले भित्र मेसिन हेर्दैनौं, त्यसबारे केही पनि जान्दैनौं,’ सुरक्षागार्ड गंगाप्रसाद गौतमले भने, ‘हामीले उद्योगको भवन र कम्पाउन्डभित्रको सुरक्षा गर्ने जिम्मेवारी मात्रै पाएका छौं।’ उद्योगमा अहिले कोही आउँदैनन्।  

सरसफाइ गर्ने, मेसिनको अवस्था जाँच्ने गरिँदैन। ठूला र स्तरीय भवन झाडीले छोप्ने, झ्यालका सिसा फुट्ने भएका छन्। उद्योगभित्र बाँकी रहेका कच्चा पदार्थ मिल्किएका छन्। झाडीले उद्योगको हरेक ब्लक छोपेको छ। उद्योगभित्रको झाडी जंगली जनावरको बासस्थान बनेको छ। एक्लै उद्योग परिसर घुम्न सुरक्षा गार्ड पनि डराउँछन्। सयौं रोपनी क्षेत्रफलमा रहेको उद्योगका छुट्टाछुट्टै भवन छ। कार्यालय, उत्पादन कक्ष, प्रशोधन, स्टोरलगायत कुनैमा पनि तालाचावी लगाइएको छैन। उद्योगको कोठा, शौचालय फोहोर र दुर्गन्धित छ।  

उद्योग परिसरमा जताततै बिजुलीको फलामे पोट स्टोर गरिएका छन्। वर्षौँदेखि राखिएका पोल कति छ कसले राखेको भन्नेबारे उद्योगका गार्ड बेखबर छन्। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले स्टोर गर्न सजिलो भएर राखेको जनाएको छ। तर त्यहाँ यत्रतत्र छरिएर पोल राखिएको छ। उद्योगको वरपर ठूलो संख्यामा खयरको रुख छ। रुख काटेर काठ चोरी हुने क्रम बढेको गुनासो आइरहन्छ। कतिपय रुख थोत्रिएर कुहिएका छन्। महँगो मूल्यमा बिक्री हुने लडेका, पुराना खयरका रुखको व्यवस्थापन पनि उद्योगले गर्न सकेको छैन।

तीन वर्षअघि उद्योगले खयरको रुख काटेर बिक्री गर्न डिभिजन वन कार्यालयमार्फत प्रक्रिया अघि बढाएको थियो। लडेका रुखमात्र नभई सबै रुख काटेर बिक्री गरी कर्मचारीलाई तलब भत्ता खुवाउने उद्योगको योजना थियो। चौतर्फी आलोचनापछि वन विभागले रुख काट्ने अनुमति दिएन। रुख काट्न नपाएपछि उद्योगले सडेगलेका रुखको प्रयोग गर्नतर्फ पनि चासो नदिएको सेवा निवृत्त एक कर्मचारीले बताए। अहिले उद्योग क्षेत्रमा घाँस दाउरा गर्ने, नदीले कटान गर्ने गरेर रुख नासिँदै गएको छ।

बन्द भएको तीन वर्षसम्म उद्योगले बिनाकाम कर्मचारीलाई पूरा तलब दिएर पाल्नुपर्‍यो। यसले उद्योगमा घाटा थपिएको छ। ‘२०७२ देखि उद्योगमा उत्पादन ठप्प भयो, २०७५ मा कर्मचारीलाई अवकास दिइयो,’ उद्योगका करार कर्मचारी दिनेश कार्कीले भने।  

२०४९ देखि टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एक मात्रै टायर उद्योग हो। यसमा नेपाल सरकारको ३८, साल्ट ट्रेडिङको २३ प्रतिशत सेयर र सर्वसाधारणको पनि लगानी छ। उद्योग सुरु भएदेखि नै उत्पादन राम्रो नभएको कर्मचारीहरू बताउँछन्। ४० प्रतिशतसम्म उत्पादन गर्न उद्योग सफल भएको थियो। त्यतिमात्रै उत्पादन गरेको वर्ष पनि उद्योग नाफामा चलेको रेकर्ड उद्योगसँग छ। उत्पादन ठप्प भएपछि उद्योग बर्सेनि घाटामा छ।  

टायर उत्पादनका लागि चाहिने ७० प्रकारका कच्चा पदार्थमध्ये सबैजसो खाडी मुलुकबाट ल्याउनुपर्छ। कच्चा पदार्थ ढुवानीमा समस्या र अन्तर्राष्ट्रिय बजारको सस्तो टायरले बजारमा बिक्री वितरण गर्न समस्या हुँदा उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो। भारतीय बजारमा उत्पादन हुने टायरको मूल्यभन्दा यस उद्योगबाट उत्पादित टायर पाँचदेखि १० हजारसम्म महंगो पथ्र्यो। अवैध रूपमा कर छलेर नेपाली बजारमा आउने टायरले गोरखकाली टायरको बजार बिक्री घटेपछि बन्द हुन पुगेको तीतो अनुभव मजदुरको छ।

प्रकाशित: १ माघ २०७७ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App