१४ माघ २०७७ बुधबार
अर्थ

अन्नपूर्ण नर्थ बेसक्याम्पः पदयात्राको नयाँ गन्तव्य

कोरोनापछिका लागि नयाँ गन्तव्य तयार पार्दैछौः व्यवसायी

अन्नपूर्ण नर्थ बेसक्याम्प क्षेत्र । तस्बिरः नागरिक

मोटरबाटोले चल्तीका पदमार्ग थिलोथिलो भएका छन् । मोटरबाटोको पहुँच बिस्तार भएसँगै पदमार्ग छोटिएका छन् भने पदयात्रा अवधि पनि घटेको छ । हप्तौ लगाएर पुरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन् । पदमार्गको दुरी र पदयात्रा अवधि छोटिने मात्र नभई मोटर गुड्ेका कारण पदमार्ग क्षेत्र प्रदुषित पनि हुने गरेका छन् ।  

चल्तीका पदमार्गको पदयात्रा अवधि मोटरबाटोले छोट्याउन थालेपछि पदयात्रा व्यवसायीले नयाँ पदमार्ग पहिचान गर्न थालेका छन् । तत्काल मोटरबाटो बिस्तारको सम्भावना नभएका रुटलाई पदयात्रा व्यवसायीले प्रवद्धर्न गरेर पदयात्री पठाउने योजना बनाएका छन् । कोरोना भाइरस महामारीका कारण यो बेला विदेशी पदयात्री आउन नसकेपनि महामारी सकिएपछि भित्रिएका पदयात्रीलाई नयाँ, आकर्षक र साहसिक ठानिएका ती पदमार्गमा पठाउने योजना व्यवसायीले बनाएका छन् । पुराना र चल्तीका पदलमार्ग मोटरबाटोले छोट्याएपछि बस्ती नै नभएको पदयात्रा रुटलाई व्यवसायीले पहिलो प्राथमिकता दिन थालेका छन् ।

नयाँ पदमार्ग पहिचान गर्ने क्रममा पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले हालै अन्नपूर्ण नर्थ बेसक्याम्प पदमार्गको प्रवद्र्धनात्मक पदयात्रा पुरा गरेको छ । मोटरबाटोको तत्काल पहुँच पुग्ने सम्भावना नभएको यो रुटमा आगामि दिनमा पर्यटक पठाउन सकिने सम्भाव्यता बुझ्नका लागि टानले प्रवद्र्धनात्मक पदयात्रा गरेको थियो । अन्नपूर्ण नर्थ बेसक्याम्पको यो पदमार्गसँगै अरु नयाँ गन्तव्यको पहिचान गर्ने तयारी पनि टानको छ । कोरोना कहर सकिएपछि नेपाल भित्रिएका विदेशी साहसिक पदयात्रीलाई नयाँ र रोमाञ्चक ती रुटमा पदयात्राका लागि पठाउने योजना व्यवसायीको छ ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेल भन्छन, ‘पदयात्राका लागि कहलिएका रुट नै नासिँदै गएका छन् । मोटरबाटो बिस्तारले धेरै नै गन्तव्य हराउने अवस्था आयो । त्यही भएर नयाँ, आकर्षक र साहसिक पदमार्ग पहिचान गर्न चाहेका हौ । पहिचान गरिएका ती गन्तव्यको सम्भावना, चुनौतीबारे पनि अध्ययन गर्न थालिएको हो ।’ अध्यक्ष पौडेलका अनुसार नेपालको पदयात्रा व्यवसाय क्याम्पिङबाट सुरु भएकोले अब पहिचान हुने रुट पनि क्याम्पिङका लागि उपयुक्त हुनेगरि पहिचान गरिनेछ ।

‘मानवबस्तीको पहुँच नै नभएको क्षेत्रलाई बढी प्राथमिकता दिनेहो । किनभने मानव बस्ती नभएपछि त्यहाँ हत्तपत्ति मोटर पुग्दैन, मोटर नपुगेपछि पदमार्ग बचिरहन्छ,’ उनले भने, ‘अन्नपूर्ण नर्थ बेसक्याम्प यस्तो पदमार्ग हो, जुन मानवीय पहुँचबाट छुटेपछि टाढासम्म पुग्न सकिन्छ । यो रुटमा हत्तपत्ति मोटरबाटो जाने सम्भावना नै छैन । किनभने अन्तिम बस्ती छाडेर धेरै टाढासम्म पदयात्रा गर्न सकिन्छ । बस्ती नभएकोले क्याम्पिङको विकल्प छैन ।’

अध्यक्ष पौडेलका अनुसार अन्नपूर्ण नर्थ बेसक्याम्पसम्मको पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङबाट सुरु हुन्छ । पदमार्गमा पर्ने नारच्याङ अन्तिम गाउँ हो । नारच्याङबाट सुरु हुने पदमार्ग कालोखोला क्याम्प, छोटेपा, हुमखोला, सम्धीखर्क, बुस्केट मेला हुँदै बेसक्याम्पसम्म पुग्न सकिन्छ । ‘नितान्त क्याम्पिङ पदमार्ग हो । त्यसैले पनि रोमाञ्चक र साहसिक छ,’ पौडेलले भने ।  

पौडेलका अनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समुहले अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए । उनै हर्जोग समुहले अन्नपूर्ण नर्थ वेसक्याम्प क्षेत्रबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टि रहेको कास्कीको अन्नपूर्ण वेसक्याम्प बढी चर्चामा रह्यो । तर, नर्थ वेसक्याम्प ओझेलमा परेकोले नर्थ बेसक्याम्पलाई प्रवद्र्धन गर्न खोजेको पौडेले बताए । ‘उत्तरी अन्नपूर्ण आधारशिविर अहिले पनि उत्तिसारो चर्चामा आउन सकेको छैन,’ उनले भने । उनका अनुसार समुन्द्री सतहबाट ४१९० मिटर उचाईमा आधारशिविर छ । यो पदमार्ग सातदिनमा पुरा गर्न सकिने भएपनि आसपासका गन्तव्यसम्म जोड्न सके पदयात्रा अवधि थप एकसाता बढाएर १५ दिनसम्म पु¥याउन सकिने उनले बताए ।

पदयात्रा व्यवसायीका अनुसार यो पदमार्गमा पर्यटकलाई आकर्षक गर्ने प्रयाप्त आधार छन् । ती मध्ये अन्नपूर्ण प्रथम, तिलिचो, निलगिरी र वराह शिखरको दृष्य देख्न सकिन्छ । त्यस्तै अन्नपूर्ण–ला, खोसुनखोला र फुतफुते झरना, गुफा, भीरमौरी, तालसँगैका ग्लेसियर, नारच्याङ हिमाल अवलोकन गर्न पाइने उनले बताए । नारच्याङ फेदी र भुरुंग तातोपानी, हरियाली जंगल, चराचुरुंगीको दृष्यावलोकन, सूर्योदय सूर्यास्त, जंगली जनावर, लालीगुराँस, मृगको आवाज, खर्क र खोलानाला आधारशिविर क्षेत्रको मरुभूमि जस्तो भूवनोट मुख्य आकर्षक रहेको उनले बताए । डाँफे, घोरल, झारल, कस्तुरी मृग, हिउँचितुवा, भालु लगायतका जनावर पनि देख्न सकिन्छ । पदमार्गका गाउँमा देखाइने मगर संस्कृतिमा पनि पाहुना रम्न सक्ने पौडेलको भनाई छ ।  

पदयात्रा व्यवसायीका अनुसार यो पदमार्ग क्याम्पिङमा आधारित हो । चल्तीमा नआउँदा पदमार्ग सुधारको आवश्यकता पनि रहेको व्यवसायीको भनाई छ । पदमार्ग फराकिलो हुनुपर्ने, पोर्टर सेल्टर थप्नुपर्ने, क्याम्पसाईट व्यबस्थित गर्नुपर्ने अवस्था पनि रहेको छ । यो पदमार्गलाई आकर्षक पर्यटकीय गन्तब्यको रुपमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सके महंगा पर्यटक भिœयाउन सकिने व्यवसायीको भनाई छ ।  

टानका पूर्व अध्यक्ष दीपकराज अधिकारी भन्छन, ‘कोरोना भाइरसको कारण सुस्ताएको पर्यटन व्यवसायलाई उकास्ने हो भने अब नयाँ गन्तव्य पहिचान गर्नुपर्छ । वैकल्पीक पदमार्ग तयार पारेर पदयात्रीलाई नेपाल बोलाउनुपर्छ ।’ अधिकारीले मोटरबाटोका कारण हराउँदै गएका मदमार्गको संरक्षण गर्न सके मात्र साहसिक पदयात्री भित्रिने बताए । ‘विदेशी मुद्रा भिœयाउने हो भने अब क्याम्पिङको विकल्प छैन,’ उनले भने, ‘विदेशी भित्रिदाँ त्यसको लाभ रोजगारीमा पनि पुग्छ ।’ विदेशी मुद्रा नभित्रिएसम्म मुलुकको आर्थिक अवस्था उकास्न नसकिने पनि अधिकारीले बताए । अधिक जाडोको दुईमहिना (जनवरी र फेबु्रअरी) बाक्लो हिउँ पर्ने हुनाले र मध्य बर्खामा खोलानाला बढ्ने हुँदा यो पदमार्ग संचालन नभएपनि बाँकी समय पर्यटकलाई पठाउन सकिने व्यवसायीको भनाई छ ।

प्रकाशित: २९ पुस २०७७ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App