coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोलियम व्यवसायको चेतवानी: कमिसन नबढाए मूल्य बढाएर बेच्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गरेबापतको कमिसन चार वर्षदेखि नबढाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै पेट्रोलियम व्यवसायीले आफैं मूल्य बढाएर इन्धन बिक्री गर्ने घोषणा गरेका छन्।  

निगमले अहिले तोकेको कमिसनले पम्प सञ्चालन खर्च नउठेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले माघ १ गतेबाट डिजेल र पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर ५० पैसा थप गरेर बिक्री गर्ने चेतावनी दिएको हो। एसोसिएसन पेट्रोलियम व्यवसायीको छाता संस्था हो।

एसोसिएसनले पेट्रोल, डिजेल बिक्री गर्दाको कमिसन बढाउनुपर्ने माग राख्दै आएका छ। निगमले पम्प सञ्चालकलाई पेट्रोलमा तीन प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिन्छ। व्यवसायीले डिजेलमा चार र पेट्रोलमा ४.५ प्रतिशत कमिसन माग गरेका छन्।

व्यवसाय घाटामा गएपछि पटक–पटक निगमको ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाइ नभएकाले बाध्य भएर आफैं मूल्य बढाएर बेच्ने निर्णय गरेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘अहिलेको कमिसनबाट व्यवसायीको सञ्चालन खर्च उठ्दैन,’ प्रधानले भने, ‘मागको सुनुवाइ नभएपछि बाध्य भएर आफैं मूल्य बढाउनुपर्ने निर्णयमा पुगेका हौं।’मुलुकभर करिब १५ सय पम्प छन्। निगमले तोकेको सञ्चालन खर्चबाट व्यवसाय सञ्चालन गर्न नसकेको उनीहरूको दाबी छ।

कारोबार अवस्थाको आधारमा विज्ञ समूहले कमिसन बढाउन सिफारिस गरे पनि निगमले बेवास्ता गरेको व्यवसायीको आरोप छ। विज्ञ समूहले बिक्रेतालाई दुई तहमा वर्गीकरण गरेर कमिसन बढाउन सिफारिस गरेको थियो। समूहले मासिक न्यूनतम ६१ देखि एक सय २० किलोलिटर बिक्री गर्ने पम्पलाई डिजेलमा ३.१२ प्रतिशत र पेट्रोलमा ३.३९ प्रतिशत कमिसन दिन सुझाएको थियो। त्यसैगरी, मध्यमस्तरका एक सय २१ किलोलिटरदेखि एक सय ८० किलोलिटर मासिक डिजेल बिक्री गर्नेलाई ३.१२ प्रतिशत र पेट्रोलमा ३.४० प्रतिशत कमिसन दिन सुझाएको थियो।

विज्ञ समूहले सिफारिस गरेको कमिसनबाट उपभोक्तालाई भार नपर्ने एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालको तर्क छ। ‘विज्ञ समूहले सिफारिस गरेको कमिसन निगमले कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने, ‘सुनुवाइ नभए अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं।’

‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ अनुसार व्यवसायीले आफूखुसी मूल्य निर्धारण गर्न पाइँदैन। निगमको तोकेभन्दा बढी मूल्य लिए निगमले नियम अनुसार कारबाही गर्ने बताएको छ। सञ्चालनमा रहेका पम्पमध्ये ३५ प्रतिशत मात्रै नाफामा रहेको व्यवसायी बताउँछन्। मुलुकभरका पेट्रोल पम्पले दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल बेच्छन्।

विदेशको तुलनामा नेपालमा कमिसन दर न्यून रहेकाले पनि बढाउनुपर्ने व्यवसायीको तर्क छ। भारतमा पेट्रोलमा ४.१ प्रतिशत र डिजेलमा ३.१३ देखि ३.४ प्रतिशतसम्म कमिसन रहेको एसोसिसनको दाबी छ। पेट्रोलियम कारोबार गरेबापत पाकिस्तान र चीनमा ४/४ प्रतिशत, श्रीलंका र अमेरिकामा ५/५ प्रतिशत कमिसन रहेको उनीहरूको दाबी छ।

प्रकाशित: २९ पुस २०७७ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App