६ वैशाख २०८१ बिहीबार
अर्थ

महिला उद्यमशीलता कोष स्थापना

देशभरका महिला उद्यमी संघहरूको छाता संस्था महिला उद्यमी महासंघ नेपालको १७औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंको विशालनगरस्थित महासंघको सचिवालयमा सम्पन्न भएको छ।  

महासंघले उक्त साधारणसभाका अवसरमा महिला उद्यमशीलता कोष स्थापनाको घोषणा गरेको छ। उक्त कोषमा जम्मा भएको रकम महिलाहरूको उद्यमशीलता विकास, बजारीकरण, संकलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जनामा खर्च गरिने महासंघले जनाएको छ।

कोभिड १९ महामारीको विषम परिस्थितिका कारण पदाधिकारीहरूको भौतिक उपस्थिति तथा अन्य सदस्यको भर्चुअल सहभागितामा सभा सम्पन्न गरिएको महासंघले जनाएको छ। सभामा महासचिव सुनिता वैद्य श्रेष्ठले महासंघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उक्त प्रतिवेदनमा महासंघले अवलम्बन गरेको कोभिड १९ विरोधी प्रतिकार्यको महिला उद्यमीलक्षित कार्यक्रम तथा परियोजना अन्तर्गतका विभिन्न क्रियाकलाप समयसापेक्ष ढंगले सञ्चालन गरिएको विवरण प्रस्तुत गरिएको थियो।

चारजनाले दिए एक–एक लाख

महिला उद्यमी महासंघले १७औं साधारणसभाका अवसरमा शुभारम्भ गरेको महिला उद्यमशीलता कोषमा महासंघका चारजना सदस्यले १–१ लाख रूपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । कोष सार्वजनिक भएकै दिन योगदान गर्ने महिला उद्यमीमा शोभा ज्ञवाली, रीता सिंह, सुनिता श्रेष्ठ बैद्य र सरोजनी शेरचन छन् । कोषमा अन्य ३४ जना महिला उद्यमीले समेत सहयोग गरेका छन् । सामाजिक उत्तरदायित्वको भावना अनुसार स्थापना गरिएको कोषमा ७ लाख ३५ हजार दुई सय रूपैयाँ जम्मा भएको छ ।   

सभाले कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साधारणसभाका अवसरमा महासंघकी अध्यक्ष रीता सिंहले संस्थाले प्रकाशित गर्ने इन्टरप्राइज नामक पुस्तकको १०औं संस्करण विमोचन गरिन्। अध्यक्ष सिंहले महासंघले ‘मेरो सहयोग उद्यमशीलता विकास’ नाराका साथ स्थापना गरेको ‘कर्पोरेट सामाजिक उत्तरदायित्वमा आधारित महिला उद्यमशीलता कोष’को शुभारम्भ पनि गरिन्।

उनका अनुसार उक्त कोषमा जम्मा भएको रकम महिलाहरूको उद्यमशीलता विकास, बजारीकरण, संकलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जनामा खर्च गरिने छ। महासंघका सदस्यहरूले उक्त कोषमा रकम योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। साधारणसभामा यस वर्षको उत्कृष्ट जिल्ला संघ पुरस्कार झापा, चितवन, पाल्पा र इलामलाई प्रदान गरिएको महासंघले जनाएको छ। पुरस्कृत संघहरूले सम्मानपत्रका साथ नगद पाएका छन्। महासंघको उत्कृष्ट सदस्य पुरस्कारबाट सरोजनी शेरचन सम्मानित भएकी छिन्। यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार महासंघका कर्मचारी राजु राईले पाएको महासंघले जनाएको छ।

प्रकाशित: २९ पुस २०७७ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App