१५ चैत्र २०८० बिहीबार
अर्थ

ठडिँदै धरहरा

पूर्वाधार विशेष

काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहरा। तस्बिर : नागरिक

विकसित होस् या अविकसित विश्वका धेरैजसो मुलुकमा पहिचान खुलाउने तथा विरासत झल्काउने ऐतिहासिक, सांस्कृतिक सम्पदा बनाइएका हुन्छन्। फ्रान्समा आइफिल टावर, अमेरिकाको न्युयोर्कमा स्ट्याचु अफ लिबर्टी, युनाइटेड अरब इमिरेट्स (दुबई) को बु्रज्रखालिफा सम्पदा र पहिचान झल्काउने ऐतिहासिक धरोहर हुन्। नेपालको ऐतिहासिक धरोहर ‘धराहरा’ पनि नेपालकै महत्वपूर्ण पहिचान बोकेको सम्पदा हो।

प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि यो धरहरा निर्माण गराएका थिए। तर दुर्भाग्य ठूला दुई भूकम्पले दुवैपटक धरहराको संरचनालाई नामेट पार्‍यो। १९९० सालको भूकम्पले पहिलो पटक ११ तले धरहरा भत्काएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले ऐतिहासिक महत्व बोकेको भन्दै धरहराको पुनर्निर्माण गर्न लगाए। देश भूकम्पबाट उच्च जोखिममा रहेका कारण जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर ९ तलाको बनाउन लगाएका थिए।

जुद्ध शमशेरले धरहराको दुई तला त घटाए तर संरचना बलियो बनाउन सकेनन्। यसै कारण २०७२ वैशाख १२ को भूकम्पले धरहराको संरचना पूरै भत्कायो।  

त्यसबेला धरहरा चढिरहेका सर्वसाधारणमध्ये ५० भन्दा धेरैको ज्यान गयो। यस्तो ऐतिहासिक सम्पदालाई फेरि ठडाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष चासो दिइरहेका छन्। धरहरा पुनर्निर्माण गति उनकै चासोका कारण बढेको छ। प्रधानमन्त्री ओलीले २०७३ फागुन ४ मा भत्किएको धरहरा परिसरमा आएर पुनर्निर्माण गर्ने प्रतिबद्धता मात्रै जनाएनन्, एक महिनाको पारिश्रमिकसमेत धरहरा पुनर्निर्माणमा उपलब्ध गराए। ओलीले २०७५ वैशाख १२ मा पनि धरहरा बनाइछाड्ने प्रतिबद्धता जनाए। उनले आफ्नै कार्यकालभित्रै धरहरा निर्माण सम्पन्न गराइछाड्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री ओलीले उच्च प्रथामिकतामा राखेर पुनर्निर्माण सुरुवात गराए पनि त्यसले अपेक्षित गति लिन सकेको छैन। तर अन्य पूर्वाधार तथा आयोजनाको तुलनामा भने धरहरा निर्माण प्रगति सन्तोषजनक छ। धरहरा पुनर्निर्माणमा कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्तीले केही ढिला भयो। अहिलेसम्म धरहरासहितका अन्य पूर्वाधारको समष्टिगत भौतिक प्रगति ४८ प्रतिशत छ। अहिलेसम्म यो परियोजनाका लागि एक अर्ब २४ करोड रूपैयाँ खर्च भइसकेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर भूकम्पले ढलेको ऐतिहासिक धरोहर धरहरा क्रमशः ठडिँदै आएको बताउँछन्। ‘धरहराको ९० प्रतिशत पुनर्निर्माण काम सकिएको छ,’ उनले भने, ‘अहिलेसम्म २० तलाको ढलान भइसक्यो। अब दुईतला मात्रै ढलान गर्न बाकीँ छ। त्यो पनि ४५ दिनभित्रै सक्नेछौं।’ प्राधिकरणले धरहराको १७ तलासम्म ढलान प्लास्टर गर्नेलगायतको काम भइरहेको जनाएको छ। मानन्धरले धरहरासँगै जोडिएको पार्किङ तथा बगैंचा पुनर्निर्माणको काम पनि भइरहेको बताए। ‘तीनतले पार्किङको ५० प्रतिशत निर्माण सकिएको छ,’ उनले भने, ‘हामीले ठेकेदार कम्पनीलाई जतिसक्दो छिटो काम सक्न अनुरोध गर्दै आइरहेका छौं।’

म्याद थप

धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले भ्याटबाहेक तीन अर्ब आठ करोड रूपैयाँमा पाएको हो। ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर गत चैत ११ गतेदेखि कोभिड १९ नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण देखाउँदै ठेकेदार कम्पनीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सकेन।

प्राधिकरणले ३० जुन २०२१ सम्म धरहरा पुनर्निर्माणको म्याद थप गरेको छ। प्राधिकरणका सम्पदाविज्ञ मानन्धर ठेकेदार कम्पनीले निर्माण गति नबढाए पछिल्लो थप गरेको म्यादभित्र पनि पुनर्निर्माण सम्पन्न गर्न मुस्किल हुने बताउँछन्। ‘प्राधिकरणका सिइओले पनि बारम्बार साइटको भ्रमण गर्दै थप गरिएको नयाँ समयसीमाभित्रै पुनर्निर्माण सकाउन निर्देशन दिँदै आइरहनुभएको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले कामदारको संख्या बढाएर भए पनि सक्ने प्रतिबद्धता जनाएको छ।’ उनले ठेकेदार कम्पनीले सशक्त ढंगले काम गर्न नसक्दा पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको स्वीकार गरे। ‘प्राधिकरणका तर्फबाट गर्नुपर्ने सबै समन्वय हामीले गरिरहेका छौं। त्यसैले ठेकेदार कम्पनीलाई जिम्मेबार गराउँदै निर्माण कार्य गराइरहेका छौं।’

निर्माणाधिन धरहरा बाहिरबाट सरसर्ती हेर्दा ११ तलाको देखिए पनि भित्री भागमा भने २२ तलाको बन्दैछ। २०७२ सालको भूकम्पले धरहरा भत्किएसँगै सरकारले आधुनिक सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ। प्रधानमन्त्री ओलीले आफैं उपस्थित भएर २०७५ पुस १२ गते धरहरा पुनर्निर्माण शिलान्यास गरेका थिए। पुरानो धरहरादेखि करिब १० मिटर पूर्वतर्फ नयाँ निर्माण गरिँदैछ। गजुरसहित नयाँ धरहराको उचाइ ७९.९ मिटर हुनेछ। ‘बाहिरबाट हेर्दा नयाँ धरहराले पनि पुरानोकै झल्को दिनेछ,’ सम्पदाविज्ञ मानन्धरले भने, ‘तर अहिले निर्माणाधिन धरहरा पहिलाको भन्दा मोटाइ धेरै र बलियोसमेत हुनेछ।’ नयाँ बन्ने धरहरामा लिफ्ट र भर्‍याङ दुवै राखिनेछ। धरहराको २२ तला निर्माण सकिएसँगै लिफ्ट तथा भ¥याङ निर्माण सुरु गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले क्षतिग्रस्त पुरानो धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा सिसाको फ्रेममा राख्ने जनाएको छ। प्राधिकरणका अनुसार अब बन्ने धरहरा करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ। धरहराको तल्लो भागमा तीन तलाको पार्किङ हुनेछ। अहिलेसम्म पार्किङ निर्माण पनि ५० प्रतिशत सकिएको छ। त्यहाँ तीन सय ४७ वटा चारपांग्रे गाडी राख्न सकिनेछ। धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगिन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना राखिनेछ। प्राधिकरणले गोश्वरा हुलाक कार्यालयको भवन हटाएर पार्कलगायत संरचना बनाउने काम गरिरहेको छ।

प्रकाशित: २९ पुस २०७७ ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App