२२ फाल्गुन २०७७ शनिबार
अर्थ

काउण्टर अभावमा बसपार्कमा बुकिङ समस्या

सुर्खेतको सिटी बसपार्कमा टिकट बुकिङको लागि काउण्टर अपर्याप्त हुँदा यात्रुहरुले सास्ती भोग्ने गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाले बसपार्कभित्र टिकट बुकिङका लागि यातायात प्रालिहरुलाई एक–एक काउण्टर मात्रै उपलब्ध गराएको छ। ‘एउटा काउण्टरमा तीन जना मात्रै बसेर टिकट काट्न मिल्छ,’ मध्यपश्चिम यातायात सेवा प्रालिका कार्यालय प्रमुख विजयकुमार केसीले भने, ‘काउण्टर अपर्याप्त हुँदा यात्रुहरुले सास्ती भोग्ने गरेका छन्।’  

मध्यपश्चिम यातायातले दैनिक बसपार्कबाट १८३ वटा लामो तथा छोटो दूरीका बसहरु छुटाउने गरेको छ। यसअघि अस्थायी बसपार्कमा ११ वटा बुकिङ काउण्टर सञ्चालन गरिरहेको मप यातायात अहिले एउटा काउण्टरमा सीमित भएको छ। यातायातले थप काउण्टरको व्यवस्थापन गरिदिन २०७६ कात्तिकमै वीरेन्द्रनगर नगरपालिकालाई निवेदन दिएपनि सुनुवाई नभएको जनाएको छ। धेरै सवारी साधन भएका यातायात व्यवसायीहरुले तत्काल थप बुकिङ काउण्टर उपलब्ध नगराए बसपार्कबाट सवारी साधन नछुटाउने बताएका छन्।

‘बुकिङ काउण्टर अभावले यात्रुहरुले दुःख पाइरहेको विषयमा नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई भएन,’ सुर्खेत काक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘समयमै सुनुवाई नभए बसपार्क बाहिरबाटै सवारी साधन छुटाउँछौं।’  

वीरेन्द्रनगर नगरपालिकाको बसपार्क व्यवस्थापन कार्यविधि, २०७६ परिच्छेद–५ मा गाडी संख्या ५० भन्दामाथि र रुट संख्या प्रदेश बाहिरसमेत गरी १० भन्दाबढी कम्पनीलाई आफैले संरचना निर्माण गर्ने गरेर व्यवसायीहरुको सहमति वा गोलाप्रथाबाट थप काउण्टर उपलब्ध गराउने उल्लेख छ। नगरपालिकालाई निवेदन दिएका मध्ये मध्यपश्चिम यातायात प्रालिका तीन सय ७३ र सुर्खेत कांक्रेबिहारका एक सय ४५ बढी बसहरु छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले धेरै यातायातका साधन भएका र धेरै रुटहरु भएका प्रालिलाई थप काउण्टरको व्यवस्थापनका लागि तयारी भइरहेको बताए। उनले प्राविधिक टोलीले रिपोर्टलाई आधार मानेर बसपार्क व्यवस्थापन समितिले थप काउण्टर दिने विषयमा निर्णय लिने बताए।

‘प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन पेश गरेको छ,’ उनले भने, ‘त्यसैको आधारमा बसपार्क व्यवस्थापन समितिले एक–दुई दिनभित्रै निर्णय गरेर समितिलाई एक पटकका लागि थप काउण्टरको व्यस्थापन गर्छ ।’ उनले बसपार्कभित्रै नयाँ संरचना बनाउन दिने वा अहिले भइरहेकै कोठा उपलब्ध गराउने भन्ने विषयमा निर्णय भइनसकेको बताए।

प्रकाशित: २५ पुस २०७७ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App