८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटनमा कठिन दिनको संकेत

कोरोनाको नयाँ भाइरसले पर्यटनमा त्रास– व्यवसायी

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरः उमेश पुन÷नागरिक

नेपालले विदेशी पर्यटक भिœयाउने मुख्य श्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ । सन् २०१९ मा नेपालमा ६१ हजार भन्दा बढी बेलायती पाहुना भित्रिएका थिए । कोरोनाको कहरकाबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका २ लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार ७ सय ६२ (५.१ प्रतिशत) थियो ।

नेपालमा यतिधेरै पाहुना भित्रिने मुलुक श्रोत बेलायत कोरोना भाइरसको नयाँ प्रकारले यतिबेला आक्रान्त छ । कोरोनाको नयाँ प्रकारको भाइरस अहिले बेलायत सहितका विभिन्न मुलुकमा तिब्ररुपमा फैलिँदा त्यसको चिन्ता पर्यटनमा छाएको छ । कोरोना भाइरस संक्रमणका कारण झन्डै एकवर्षदेखि विदेशी पाहुनाविहीन भएको पर्यटन क्षेत्र यो बेलासम्म सुधारको अपेक्षामा थियो । तर, व्यवसायीको त्यो अपेक्षा बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस र त्यसको तिब्र संक्रमणसँगै निराशामा बदलिएको छ ।  

नयाँ भाइरसको तिब्र संक्रमणसँगै पर्यटन क्षेत्रका जानकारले भन्न थालेका छन, ‘पर्यटन क्षेत्र अझै केहीवर्ष पछाडि धकेलिने निश्चित भयो ।’ नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये बेलायतको हिस्सा ‘टप फाइभ’ भित्र पर्छ । तर कोरोनाको नयाँ भाइरसले बेलायत सहितका मुलुक आक्रान्त हुँदा पर्यटनमा त्यसको नकारात्मक असर पर्ने पक्का भएको उनले बताए । ‘बेलायत सहितका मुलुक कोरोनाको नयाँ भाइरसले आक्रान्त छन् । अघिल्लो वर्ष देखिएको कोरोना यो बेलासम्म केही कमजोर हुने र पर्यटकको हिडडुल सुरु हुने अनुमान थियो,’ लामिछानेले भने, ‘तर, त्यो अनुमान अपुरो हुने निश्चित छ । पर्यटनमा अझै कठिन दिन आउने संकेत देखिएको छ ।’

लामिछानेका अनुसार नेपालमा आउने विदेशी पर्यटकको संख्या भारत, चीन, अमेरिकापछि बेलायत लगायतका मुलुकका बढी हुन्थे । तर, अहिले बढी पर्यटक आउने मुलुकमै कोरोनाको नयाँ संक्रमणले त्रास फैलाएको उनले बताए । ‘यो बेलासम्म कोरोना कम होला र विदेशी आउन थाल्नेछन भनेर व्यवसायी ढुक्क थिए । तर, अब नयाँ भाइरसका कारण पाहुनाको हिडडुल अझै पछाडि धकेलिने निश्चित भयो,’ लामिछानेले भने, ‘नयाँ भाइरसको लहर नयाँनयाँ मुलुकमा फैलिँदा त्यसको प्रभाव पनि बढिरहेको छ । विभिन्न मुलुकले नयाँ भाइरसको त्रासले गर्दा लकडाउन सुरु गरिसकेका छन् । नेपालले विदेशी पर्यटक पाउने मुख्य श्रोतमै कोरोनाको नयाँ भाइरसले आक्रान्त बनाएको छ ।’

नेपालमा सन् २०१५ मा २० हजार ४४६ बेलायती पाहुना भित्रिएका थिए । भूकम्पका कारण त्यो वर्ष आगमन कम भएपनि २०१६ मा बढेर ४६ हजार २ सय ९५ पुगेको थियो । सन् २०१७ मा नेपाल आउने बेलायती पाहुनाको संख्या ५१ हजार थियो । त्यो संख्या उक्लिएर २०१८ मा ६३ हजार ४ सय ६६ पुगेको थियो । ‘नेपालमा विदेशी भित्रिने मुख्य श्रोतभित्र बेलायतको स्थान बलियो छ । तर, अब त्यही श्रोतमा नै असर पारेको छ,’ लामिछानेले भने, ‘यूरोपियन मुलुकमा कोरोनाको नयाँ लहरले सबैतिर चिन्ता फैलाएको छ । यस्तो बेला विदेशी यात्रामा निस्कन सक्दैनन् । अन्य मुलुकमा पनि लहर फैलिँदै जाँदा सर्वत्र चिन्ता छ ।’  

कोरोनाविरुद्धको पहिलो खोपको सुरुवात बेलायतले गर्दा सबैतिर आशाको लहर पलाएपनि अहिले भने निराशामा बदलिएको उनले बताए । ‘बेलायतले कोरोनाविरुद्ध खोप सुरु गर्दा सबैतिर उत्साह जागेको थियो । तर, त्यो उत्साह छोटो समयमै निराशामा बदलियो,’ लामिछानेले भने, ‘पर्यटनमा अझ बढी क्षतिको आंकलन गरिएको छ । अहिलेसम्म जसोतसो टिकेका व्यवसायीलाई अब भने व्यवसाय टिकाइरहन चुनौती छ ।’ यूरोपियन बजारका पाहुना अब नेपालमा तत्काल आउन सहज नभएको उनले बताए । ‘अब आन्तरिक पर्यटनमा नजर पु¥याउने अवसर आएको छ,’ उनले भने, ‘पर्यटक भित्रिने मुख्य श्रोतमै मार खेप्नुपरेको अवस्था देखिएको छ । यसले पर्यटनमा सहजता ल्याउने संकेत देखाएको छैन ।’

लामिछानेको विश्लेषणमा नेपालमा तत्काल विदेशी पर्यटक आउन नसक्ने दुइवटा मुख्य कारण छन् । ती हुन, निर्वाचन र कोरोना भाइरसको नयाँ स्वरुप फैलिनु । ‘भाइरसको नयाँ स्वरुपले पनि विश्वलाई नै त्रसित बनाएको छ । त्यसबाहेक नेपालमा निर्वाचन घोषणा भएकोले पर्यटक आउन डराउन पनि सक्छन,’ उनले भने, ‘निर्वाचन घोषणाले कुनैपनि मुलुकको पर्यटनको अन्तर्राष्ट्रिय बजार खस्किन्छ । निर्वाचनको घोषणा गरिएका मुलुकमा पर्यटक हिडडुल गर्न उत्तिसारो रुचाउँदैनन् ।’ निर्वाचन घोषणा गरिएका मुलुकमा घुमघाममा अवरोध आउने त्रास पर्यटनमा हुने गरेको उनले बताए ।  

पर्यटन व्यवसायी पनि नयाँ भाइरसबाट बढि त्रसित छन् । एकवर्ष अघिदेखि थलिएको व्यापार कोरोनाको घट्दो संक्रमणसँगै सुधार हुनेमा केही आशावादी पनि थिए । तर, अहिले कोरोनाले नयाँ स्वरुपमा तिब्र बिस्तार फैलाउँदा पर्यटकको हिडडुलमा अवरोध आउने चिन्ता व्यवसायीको छ । ‘कोरोनाको पुरानो संक्रमण हराउँदै जान थाल्दा पर्यटक हिडडुल सुरु हुने अनुमान थियो । तर, अब यूरोपियन मुलुकमा नयाँ स्वरुपको कोरोनाको तिब्र संक्रमणसँगै लकडाउन सुरु हुँदा पर्यटन झनै प्रभावित हुने पक्का भएको छ,’ पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भन्छन, ‘एकवर्ष अघिदेखि थलिएका व्यवसायी पुन व्यवसायमा फर्किन मात्र थालेका छन् । यही बेला नयाँ स्वरुपको भाइरसले तिब्रता लिँदा पर्यटक आउने दिन पछाडि धकेलिने अवस्था आएको छ ।’

‘अन्तर्राष्ट्रियस्तरमा पर्यटक हिडडुल सुरु नभएसम्म नेपालले पनि पाहुना पाउँदैन । यो बेलासम्म केही सकारात्मक रिजल्ट आउनेमा आशावादी थियौं,’ भट्टराइले भने, ‘अब भने व्यवसाय कसरी थेग्ने भन्ने चिन्ता पलाएको छ । अहिलेसम्म व्यवसायीले व्यवसाय पहिलेको अवस्थामा फर्किन्छ भनेर थेगेका थिए । तर अब चुनौती थपिने संकेत देखेका छौ ।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पर्यटनमा झनै कठिन दिन आइपर्ने संकेत पाएको बताउँछन् । ‘एकवर्ष देखि थलिएको व्यवसाय यो बेला उठ्ने अपेक्षा थियो । तर, बेलायतमा देखिएको र फैलिएको नयाँ संक्रमणले सबैतिर चिन्तित तुल्याएको छ,’ पराजुलीले भने, ‘बेलायतमा फैलिएको संक्रमणलाई देखाएर विभिन्न मुलुकले कनेक्टिङ फ्लाइट रोकेको र केही मुलुकले लकडाउन थालिसक्दा पर्यटन क्षेत्र झनै त्रासमा छ ।’  

लामो समयको लकडाउन हटाएर नेपालले अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्दा पर्यटन क्षेत्रले केही आशाको संकेत पाएपनि अहिलेको संक्रमणले पुनः त्रासमा फर्काएको पराजुलीको भनाई छ । ‘नेपालमा विदेशी पाहुना आउने दिन झनै पछाडि धकेलिने देखिएको छ । धमाधम अन्तर्राष्ट्रिय उडान रोकिन थालेका छन्,’ पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुली भन्छन्, ‘पर्यटनमा कठिन दिन आउने संकेत देखेका छौ ।’ कोरोनाले पर्यटनमा निम्त्याएको घाटाको व्यवसाय कहिलेसम्म थेग्ने भन्ने निश्चित नभएको उनले बताए । ‘बत्ती बालौं पैसा उठ्छ, नबालौ, अन्धकार हुन्छ । अन्धकारमा बस्न पनि सकिएन, बत्ती बालेर झिलिमिलि पार्दा खर्च पु¥याउन सकस छ,’ उनले भने, ‘घाटाको व्यवसायले सबैलाई तनाव दिएको छ ।’

प्रकाशित: २३ पुस २०७७ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App