८ वैशाख २०८१ शनिबार
अर्थ

सुदूरपश्चिम प्रदेश: अर्थमन्त्री बोहराद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। मन्त्री बोहराले दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएका हुन्। पूर्वमाओवादी केन्द्रबाट मन्त्री बनेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर खुलेसँगै बुधबार दिउँसो राजीनामा दिएका हुन्।  

राजीनामा दिनुअघि मन्त्री बोहराले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै आफूले अहिलेसम्म सुदूरपश्चिम प्रदेशका लागि गरेका प्रमुख कार्य तथा उपलब्धिबारे चर्चा गर्दै राजीनामा दिने बताएका थिए। बुधबार दिउँसो अर्थ मन्त्रालयको कार्यकक्षमै आफू निकटका ६ जना प्रदेशसभा सदस्यलाई राखेर मन्त्री बोहराले पत्रकार सम्मेलन गरेका थिए।  

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोहराले आफूले गरेका प्रमुख २३ वटा कार्यहरूका बारेमा चर्चा गरेका थिए। पत्रकार सम्मेलनमा बोल्दै उनले दृढ इच्छा शक्ति र यथेष्ट प्रयत्नका बाबजुद जनभावना अनुसार काम गर्न विभिन्न कठिनाइ तथा चुनौतीको सामना गर्नु परेको बताएका थिए। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोहराले भने, ‘यस्तो अवस्थामा प्रदेश सरकारको मन्त्री पदमा बसी रहँदा प्रदेशका जनताको मतको अपमान हुने देखिएकाले आजैका मितिदेखि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको पदबाट राजीनामा गरेको घोषणा गर्दछु।’

मन्त्रालयबाटै हिँडेरै मुख्यमन्त्री कार्यालयमा  

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले मन्त्रालयमै पत्रकारसम्मेलन गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा दिन हिँडेर गए। ओलीपक्षीय ६ जना प्रदेश सभा सदस्यसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिँडेरै राजीनामा दिन मन्त्री बोहरा गएका हुन्। पत्रकार सम्मेलनपश्चात् मन्त्रालय अगाडि तयारी अवस्थामा राखिएको मन्त्रीको सरकारी गाडी नचढेरै अर्थमन्त्री बोहरा प्रदेशसभा सदस्यहरूलाई लिएर हिँडेरै मुख्यमन्त्रीको कार्यालय गएका हुन्।  

छलफल नगरेरै किन राजीनामा दिएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई प्रश्न गरेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएर बाहिर आएपछि मन्त्री बोहराले मुख्यमन्त्रीलाई उद्धृत गर्दै भने, ‘मैले राजीनामा पत्र दिँदा उहाँले सल्लाह गरेर पछि राजीनामा दिए पनि हुन्थ्यो नि भन्नुभयो।’ राजनीतिक घटना क्रमले गर्दा राजीनामा दिनुपर्ने बाध्यता रहेको आफूले जवाफ दिएको बताउँदै उनले भने, ‘राजीनामामा आफ्नो व्यक्तिगत केही पनि छैन, फेरि पनि आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने र एक ठाउँमा उभिन सकिन्छ भनेर प्रतिक्रिया दिएँ।’  

यसअघि ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई गत पुस १४ गते मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए। ओली पक्षिय पठानसिंहलाई पदमुक्त गरे पनि आर्थिक मामलिा तथा योजना मन्त्री झपटबहादुर बोहरालाई भने पदमुक्त गरिएको थिएन। दाहाल–नेपाल पक्षका नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलको प्रभावमा काम गरिरहेका मुख्यमन्त्री भट्टले डडेल्धुरावाट निर्वाचित ओली पक्षका बोहरालाई पदमुक्त गरे पनि नेता रावलकै गृहजिल्ला अछामबाट निर्वाचित मन्त्री बोहरालाई पदमुक्त गरिएको थिएन। आफ्नो निर्वाचन क्षेत्रमा असर पर्ने आँकलन गरेर अन्तिम समयसम्म नेता रावलले मन्त्री बोहरालाई आफ्नो पक्षमा पार्न प्रयास गरेका थिए।  

धनगढीमा आउनेबित्तिकै नेता रावलले मन्त्री बोहरासँग भेटघाट गरेका थिए। ओलीपक्षीय नेकपाका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टनजिक मानिने बोहरा काठमाडौं गएर प्रधानमन्त्री ओलीसँग समेत भेटेर कुरा गरेका थिए। प्रधानमन्त्री ओलीसँगको भेटपछि मन्त्री बोहरा ओली पक्षमा खुलेर राजीनामा दिएको मन्त्री बोहरानिकट स्रोत बताउँछ।  

राजीनामा दिनुअघि मन्त्री बोहरा सार्वजनिक रूपमा कुनै पक्षमा लागेको प्रतिक्रिया नदिई मौन बसेका थिए। ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले केन्द्रीय सदस्यको शपथ पनि खाएका थिएनन्। सुदूरपश्चिम प्रदेश सरकारमा तत्कालीन माओवादीबाट मुख्यमन्त्री भट्ट, मन्त्री बोहरा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी बनेका थिए। मुख्यमन्त्री भट्ट र चौधरी दाहाल–नेपाल पक्षमा छन्।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभाका प्रदेशसभा सदस्य पनि प्रष्ट रूपमा विभाजित भएका छन्।  

सुदूरपश्चिम प्रदेश सभामा रहेका ५३ जना प्रदेश सभा सदस्य मध्य नेकपाका ३९ जना थिए। ती मध्ये बुधबारसम्म प्रधानमन्त्री ओली समूहमा ७ जना प्रदेशसभा सदस्य प्रष्ट खुलेका छन्। आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरा, प्रदेश सभा सदस्य नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओली पक्षमा खुलेका हुन्।

प्रकाशित: २३ पुस २०७७ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App