coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको काम चैतबाट सुरु हुने

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम आउँदो चैतदेखि सुरु हुने भएको छ। विजुलीको पोल सार्ने काम आउँदो चैतसम्ममा सकिने र भएकाले त्यस लगत्तै काम सुरु हुने भएको हो। चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। गत चैतदेखि विद्युतको पोल सार्ने काम सुरु भएको थियो।  

केही ठाउँमा मुआब्जा वितरण भइनसकेकाले बाँकी क्षेत्रमा पोल सार्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण काममा ढिलाइ भएको र टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको कारण ढिलाइ भएको हो। यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटता लगायतका कारण काममा ढिलाइ भएको केन्द्रले जनाएको छ।  

स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ। यही पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भएपनि विविध कारणले चैत महिनासम्मको म्याद थप गरिएको छ।  

सडक खण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा करिब ५० प्रतिशत पोल हटाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। साइड क्लिएर भएपछि काम सुरु हुने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘प्राधिकरणले चैतसम्ममा पोल सारिसक्ने बताएको छ’, उनले भने, ‘हामीले सोहीअनुसार चिनियाँ पक्षसँग पनि कुराकानी गर्नेछौं।’

सडक खण्डमा रहेका विद्युत्का पोल सार्ने, सडक क्षेत्रमा पर्ने घर टहरा हटाउने र तातोपानी क्षेत्रका प्रभावितलाई मुआब्जा दिने काम नेपाली पक्षले गर्नुपर्ने छ। यी तीनवटै काम सकिएपछि चिनियाँ पक्षले काम अघि बढाउने छ।

रसुवागढी नाका जोड्ने यो सडकको स्तरोन्नति १४ महिना अघि सुरु गरिएको थियो। चिनियाँ टोली आएर २०७६ असोजमा नै स्तरोन्नति सुरु भएको घोषणा गरेको थियो। नेपाली पक्षले साइड क्लिएर गरेपछि स्तरोन्नति अघि बढाउने बताएर टोली चीन फर्किएको थियो। त्यसको केही महिनापछि विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण काम प्रभावित भयो।

३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले काम अघि बढाएको भएपनि कोभिड–१९ ले पनि यसलाई प्रत्यक्ष असर गर्‍यो। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने छ।  

यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो। योजनाका अनुसार टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नति गर्ने छ। स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।

तर निर्माण गरिएको डिपिआरले स्याफ्रुका बासिन्दालाई असर गर्ने देखिएपछि संशोधनको लागि प्रस्ताव गरिएको योजना प्रमुख भण्डारीले बताए। ‘सडक सिधा बनाउनका लागि छेउपटिका घर मात्र भत्काउने गरी डिपिआर तयार भएको रहेछ’, उनले भने, ‘हाल कायम भएको सडकको केन्द्रलाई राखेर डिपिआर संशोधन गर्न भनेका हौं।’  

उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। यो सडक निर्माण भएपछि नेपाल–चीनबीच हुने व्यापारमा सहज हुने छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम गरिँदै छ। गल्छी–मैलुङ पहिलो खण्ड, मैलुङ–स्याफ्रु दोस्रो खण्ड र स्याफ्रु रसुवागढी सडक तेस्रो खण्ड हो। गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दूरी रहेको छ।

प्रकाशित: २३ पुस २०७७ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App