coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगरमा निर्माण हुँदै अर्ब लगानीको पार्टीप्यालेस

उद्यम

पछिल्लो समय सहरमा सानो जग्गामा खुम्चिएर बसेका मध्यम वर्गले विवाह, व्रतबन्धजस्ता सामाजिक र सांस्कृतिक परम्परा धान्दा दिने भोजभतेर होस् वा अन्य खुसियालीमा होटल, रेन्टुरेन्ट र पार्टीप्यालेसमा पार्टी दिने चलन बढेको छ । बढ्दो व्यवसायलाई छोप्न सहरका चोकचोकमा पार्टीप्यालेस बनिरहेका छन् । यही क्रममा विराटनगरका एक प्रतिष्ठित उद्योगी पनि पार्टीप्यालेसको व्यवसायमा तानिएका छन् । विराटनगरका उद्योगपति भगवान् राठीले एक अर्ब रुपैयाँ लगानी गरेर पार्टीप्यालेस बनाउन लागेका हुन् । यो लगानी प्रदेश १ मा त सबैभन्दा ठूलो हुँदै हो, सम्भवतः मुलुकभरमै अहिलेसम्म एक अर्ब रुपैयाँ लगानी गरेर पार्टीप्यालेस बनाइएको छैन । राठीको लक्ष्य पनि अरु पार्टीप्यालेसका व्यवसायीको भन्दा भिन्दै छ ।

राठीले सुनसरीमा बाबा पेपर मिल र सनराइज पेपर मिल गरी दुईवटा ठूला कागज उद्योग सञ्चालन गरिरहेका छन् । उनका अनुसार विवाहका लागि भारतका होटल तथा पार्टीप्यालेसमा जाने प्रवृत्तिको अन्त्य गर्न एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर विराटनगरमा पार्टीप्यालेस स्थापना गरिएको हो ।

विराटनगरका ठूला घरानाका परिवार र माडवाडी समूहका व्यक्ति विवाहका लागि भारतका होटल र पार्टीप्यालेसमा जाने गरेका छन् । तसर्थ विराटनगरमै सुविधा सम्पन्न पार्टीप्यालेस बनाएर भारत जाने यो प्रवृत्ति रोक्ने योजना उद्योगी राठीले बनाएका छन् ।

‘ठूला घरानाका परिवार विवाहका लागि भारत जाने गरेका छन्, अब यहीँ सुविधासम्पन्न पार्टीप्यालेस बनाएर भारत जाने प्रवृत्ति रोक्ने मेरो योजना हो,’ उनले भने । विशेष गरी पूर्वका मारवाडी समुदायका व्यक्ति विवाह गर्न भारतका ठूला होटल तथा पार्टीप्यालेसमा जाने गरेका छन् । यति मात्र होइन, सीमावर्ती भारतीय सहरबाट समेत विवाहका लागि नेपाल आउने अवस्थाको सृजना गर्ने आफ्नो लक्ष्य रहेको राठीले जानकारी दिए । उनका अनुसार पार्टीप्यालेसमा ५० प्रतिशत ग्राहक भारतबाट आउने अनुमान छ । विराटनगरको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको पार्टीप्यालेसले १ बिघा ८ कट्ठा क्षेत्रफल ओगटेको छ । पार्टीप्यालेस निर्माण भइरहेको जग्गा उनको पुर्खौली हो ।

पर्याप्त पार्किङ, अत्याधुनिक सुविधासम्पन्न भवनहरू पार्टीप्यालेसपरिसरमा निर्माण भइरहेका छन् । पार्टीप्यालेस निर्माण भइरहेको जग्गाको मूल्य मात्रै एक अर्ब रुपैयाँ हाराहारी पर्ने राठीले बताए ।

भौतिक संरचना निर्माणका लागि १५ करोड रुपैयाँ बढी लगानी रहेको र साजसज्जालगायत कामका लागि पनि करोडौं रुपैयाँ लगानी आवश्यक पर्ने उनले बताए । पार्टीप्यालेसको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेको र साजसज्जाको काम बाँकी रहेको राठीले जानकारी दिए । उनले भने, ‘आगामी वैशाखदेखि पार्टीप्यालेस सञ्चालन गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’

ठूलो लगानीमा सुरु गरिएको पार्टीप्यालेसबाट नाफा कमाउने भन्दा पनि आत्मसन्तुष्टिका लागि आफूले लगानी गरेको राठीले बताए । पार्टीप्यालेसभित्र स्विमिङ पुल, पुलपार्टी गर्ने स्थल, पिकनिक स्पोर्टलगायत संरचना निर्माण गरिएका छन् । साँझ पख केहीबेर रमाउन चाहनेहरूलाई समेत लक्षित गरी पार्टीप्यालेसभित्र आकर्षक स्थल निर्माण गरिएका छन् । महिला, पुरुष र बालबालिकालाई लक्षित गरी छुट्टाछुट्टै स्विमिङ पुलको पनि निर्माण गरिएको छ । विवाहका लागि दुईवटा ठूला हल छन् । एउटा हलमा ५ सय जना र अर्कोमा ८ सय जना मानिस अटाउनसक्ने क्षमता रहेको छ । छुट्टै मण्डप, भोजभतेर गर्ने स्थान छुट्टै र दुईवटा ठूला किचनसमेत निर्माण गरिएका छन् ।

यस्तै पार्टीप्यालेसभित्र रेस्टुरेन्ट पनि निर्माण गरिएको छ । पार्टीप्यालेसमा पानीका फोहरा युक्त पोखरी, आकर्षक बत्तीहरू पनि जडान गरिएको छ । बास बस्न सुविधासम्पन्न र अत्याधुनिक शैलीका ४३ वटा कोठाको निर्माण भइरहेको छ । पार्टीप्यालेसभित्रै राधाकृष्णको मन्दिर पनि स्थापना गरिनेछ । परिसरमा ३ वटा स्विमिङ पुल हुनेछन् । पार्टीप्यालेसमा शाकाहारी ३ वटा रेस्टुरेन्ट सञ्चालनमा आउनेछन् । यसबाहेक आइसक्रिम र कफी सहितको फास्टफुड पार्लर छुट्टै चलाइनेछ । यहाँ लजिङ र फुडिङ बाह्रै महिना उपलब्ध हुनेछ । 

पार्टीप्यालेसमा बालबालिकाको मनोरञ्जनका लागि ४ कट्ठा जमिन छुट्याइएको छ । यसमा मनोरम फूलबारीसहितको ट्वाई ट्रेन र अत्याधुनिक झुला (पिङ), चिप्लेटी आदि खेल्ने साधन राखिनेछन् । फूलबारीलाई छुट्टै २ कट्ठा जमिन भाग लगाइएको छ । एक दर्जनभन्दा बढी फाउन्टेन (पानीको फोहरा), आकर्षक फूलबारी र विभिन्न रङका बिजुलीबत्तीको संयोजनले दिउँसोभन्दा राति यो स्थल भव्य देखिने उनले बताए । यहाँको पार्किङ एरियामा १ सय २५ सवारीसाधन सजिलै अटाउन सक्ने राठीले बताए । विराटनगरमा घुम्ने र केहीबेर रमाउने ठाउँको अभाव भइरहेको बेला नयाँ पार्टीप्यालेसले त्यो अभावलाई अन्त्य गर्ने राठीको विश्वास छ । 

‘विराटनगरमा एकछिन परिवारसहित घुम्ने ठाउँसमेत छैन,’ उनले भने, ‘केहीबेर घुम्ने र रमाइलो गर्ने स्थानको अभावलाई पार्टीप्यालेसले परिपूर्ति गर्ने हाम्रो विश्वास छ ।’ प्रदेशको राजधानी बनेपछि पनि विराटनगरमा पर्याप्त पार्किङसहितका सुविधासम्पन्न होटल, सभाहल तथा पार्टीप्यालेसको अभाव खड्किँदो छ । अधिकांश होटलमा साँघुरो पार्किङ भएका कारण ठूला कार्यक्रम आयोजना हुँदा सडकमा पार्किङ गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

अबको सम्भावना पर्यटनको

पार्टीप्यालेसका लगानीकर्ता भवान राठी

उद्योगबाट होटल व्यवसायमा लगानी गर्ने सोच कसरी आयो ?

प्रदेश १ मा अबको सम्भावना बोकेको क्षेत्र पर्यटन नै हो । हुन त उद्योग क्षेत्रमा सम्भावना छैन भन्न खोजेको होइन तर पर्यटन क्षेत्रमा बढी सम्भावना छ । तेस्रो मुलुकको भन्दा भारतीय पर्यटकलाई लक्षित गरेर परियोजना सञ्चालन गरे राम्रो मुनाफा हुन्छ ।

ठूलो होटल खोल्नेभन्दा पार्टीप्यालेस नै किन रोज्नुभयो ?

विवाहका लागि सुविधासम्पन्न होटल तथा पार्टीप्यालेस खोज्दै भारतीय सहरमा जानेहरूको संख्या प्रदेश १ मा धैरै छ । पर्याप्त पूर्वाधारयुक्त संरचना अभावले पनि धेरैजसो भारतका होटल तथा पार्टीप्यालेसमा विवाहका लागि जाने गरेका छन् । पूर्वाधार युक्त पार्टीप्यालेसको अभावमा भारतमा विवाह गर्न जान नपरोस् भन्ने उद्देश्यले होटलभन्दा पार्टीप्यालेस नै सञ्चालन गर्ने योजना बनाएको हुँ ।

पार्टीप्यालेस सञ्चालन गरेर ठूलो लगानी उठाउन सकिएला त ?

सकिँदैन, पार्टीप्यालेसमा हुने विवाह र अन्य कार्यक्रमले मात्रै लगानी उठाउन र पर्याप्त नाफा कमाउन सकिँदैन । त्यसैले मल्टिप्रपजका लागि प्रयोग गर्ने सोच बनाएका छौं । पार्टीप्यालेसमा विवाह र अन्य ठूला कार्यक्रमबाहेक दिनहुँ ग्राहकलाई आकर्षित गर्ने योजना पनि हामीसँग छन् । पार्टीप्यालेस परिसरमा निर्माण गरिएको फाउन्टेन पार्क, पुलपार्टी, रेस्टुरेन्टलगायतले दैनिक रुपमा ग्राहकलाई आकर्षित गर्ने छ । विवाह पार्टी नभएको बेलामा पनि दैनिक रुपमा व्यापार हुने भएकाले पार्टीप्यालेस सञ्चालनमा सहयोग पुग्छ ।

नयाँ लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ?

पर्यटन क्षेत्रमा लगानीको राम्रो सम्भावना छ । आफ्नो व्यवसायमा नयाँपन दिएर पर्यटक तथा ग्राहकलाई तान्नसके नाम र दाम दुवै कमाउन सकिन्छ ।

प्रकाशित: २२ पुस २०७७ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App