coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोसाइँकुण्डको एकीकृत विकासका लागि ७ करोड रकम विनियोजन

धार्मिक तथा पर्यटकीय क्षेत्र ‘गोसाइँकुण्ड’ । तस्बिर: नागरिक

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गोसाइँकुण्डको एकीकृत विकासका लागि ७ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । मन्त्रालयले सोमबार ७ करोड बजेट विनियोजन गरेको हो ।  

मन्त्रालयले पहिलो चरणमा योजना अन्तर्गत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो ।  रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, मा पर्ने ‘गोसाइँकुण्ड’ मा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । जिल्लामा धार्मिक पर्यटनको विकास गर्ने, आर्थिक अवस्थामा सुधार ल्याउने, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि योजना सञ्चालन गर्न लागिएको हो ।  

योजना अन्तर्गत गोसाइँकुण्ड क्षेत्रमा गुम्बा घरको सिभिल निर्माण कार्य, विद्युतीय कार्य, मन्दिर निर्माण, शौचालय निर्माण, रेलिङ निर्माण, ढुंगाको गारो बनाई तारबार लगाउने, ढल निकास स्थल निर्माण, ६ वटा ट्रष्ट निर्माण, चोलाङपाटीदेखि लौरीविनासम्म भ¥याङ निर्माण, त्रिशूलधारामा भ¥याङ निर्माण र हेलप्याड निर्माण कार्य गरिने छ ।  

यसका लागि २२ करोड ४२ लाख ७१ हजार ३ सय ५१ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसैगरी योजना अन्तर्गत खानेपानी वितरणका लागि १ करोड ४० लाख १८ हजार ४ सय ७९ रुपैयाँ खर्च लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले योजना सञ्चालनका लागि ३३ करोड ८ लाख १ हजार ७ सय ६२ रुपैयाँ खर्च लाग्ने जनाएको छ ।  

खानेपानी वितरणको लागि २० वर्षको समयावधि प्रक्षेपण गरेर डिपिआर निर्माण गरिएको छ । डिपिआर अनुसार यस क्षेत्रमा हाल २५ घरधुरीमा १ सय ५० जनसङ्ख्या रहेको देखिन्छ । सन् २०४० मा ३१ घरधुरी हुने र १ सय ८८ जनसंख्या रहने डिपिआरमा उल्लेख छ । डिपिआर अनुसार वितरण प्रणाली बनेमा प्रतिदिन १२ हजार २ सय २० लिटर पानी वितरण हुने छ । २.१६ किलोमिटर मुख्य पाइप लाइन रहने योजनामा ४.६१ किलोमिटर शाखा पाइप लाइन रहने छ ।  

एकीकृत विकास योजनामा गोसाइँकुण्ड वरिपरि हुने भौतिक निर्माण र धुन्चे–गोसाइँकुण्ड पदमार्गलाई मात्र समावेश गरिएको छ । यसले गोसाइँकुण्ड जाने अन्य तीनवटा पदमार्गलाई छुन सकेको छैन । केही वर्ष पहिलेसम्म गोसाइँकुण्डमा मेलाको समयमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा समेत तीर्थयात्री तथा पर्यटक आउने गरेका छन् । 

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।  

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ ।  

प्रकाशित: २१ पुस २०७७ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App