१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई अर्ब लगानीमा बन्दीपुरमा केबलकार

पहाडकी रानी भनेर चिनिने तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माणको काम आधा सकिएको छ। २०७६ साउन ४ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरेको उक्त परियोजनाको काम हाल ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

चन्द्र निर्माण सेवाले जिम्मा लिएको उक्त परियोजना गाँउपालिका र स्थानीयको संयुक्त लगानीमा निर्माण भइरहेको हो। दुई अर्ब रूपैयाँ लगानीमा निर्माण भइरहेको उक्त परियोजनामा गाउँपालिकाले ५० लाख लगानी गरिसकेको छ भने अझै ५० लाख थपेर एक करोड पु¥याउने प्रतिबद्धता जनाएको छ।  

यो परियोजनामा दुई सय ३२ जना स्थानीयले सेयर लगानी गरेका छन्। महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण लामो समय निर्माण कार्यमा अवरोध आए पनि पछिल्लो समय भने आगामी दसैंको फूलपातीदेखि सञ्चालनमा ल्याउने तयारीसहित काम भइरहेको केबलकारका एकजना सञ्चालक कृष्णराज अधिकारीको भनाइ छ।  

पृथ्वी राजमार्गअन्र्तगत पर्ने बन्दीपुर गाउँपालिका, वडा नम्बर ४, डुम्रे ठूलढुंगादेखि सोही गाउँपालिकाको बरालथोकसम्म केबलकारको कुल लम्बाइ १६ सय मिटर हुनेछ।यसलाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित कम्पनी लिमिटेडमा रूपान्तरण गर्दै सेयरधनीको सहभागिता सुनिश्चित गरिएको छ,’अधिकारीले नागरिकसँग भने, ‘धार्मिक पर्यटनलाई समेत लक्षित गरी खड्गदेवी मन्दिरसम्म पर्यटक पुर्‍याउने र दसैंको फूलपातीको दिन उक्त मन्दिरमा मेला लाग्ने भएकाले सोही दिन केबलकारको उद्घाटन गर्ने गरी निर्माणमा जोड दिएका छौं।’

कम्पनीले १५ वर्षे रणनीति अनुसार पहिलो पाँच वर्षलाई अल्पकालीन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालीन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालीन लक्ष्यमा वर्गीकरण गर्र्दै ३२ परिवारको जग्गा अधिग्रहण गरी उनीहरूलाई सेयर उपलब्ध गराएर निर्माण थालेको हो। खड्गदेवी मन्दिरलाई जगेडामध्येबाट १५ लाखको सेयर प्रदान गरेको र मन्दिरको दीर्घकालीन एवं दैनिक सञ्चालनको ग्यारेन्टी सहित सेयर हस्तान्तरण समेत गरिएको अधिकारीको भनाइ छ।

सुरुमा परियोजनाको कुल लागत एक अर्ब ५६ करोड रहने र एक वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने तयारी भए पनि समयसँगै लागत समेत थपिन पुगेको अधिकारीले बताए। उनका अनुसार केबलकारको माथिल्लो स्टेसनमा चारतारे होटल (क्विन टावर) रहने छ। कलात्मक शैलीमा निर्माण गरिने उक्त होटलको बेसमेन्टदेखि तेस्रो तलामा केबलकार स्टेसन रहनेछ। आधुनिक दृश्यावलोकन स्तम्भ, समारोह हल र ६० कोठा, स्विमिङ पुलसहित निर्माण हुने होटल १२ तलाको हुनेछ। एनएमबि बैंक र नेपाल एसबिआई बैंकको ऋणमा निर्माण भइरहेको परियोजनामा बैंकको झण्डै एक अर्ब रूपैयाँ ऋण लगानी रहेको छ।

केबलकार परियोजनाको परामर्शदाताका रूपमा काठमाडौंस्थित केज कन्ल्ट्यान्ट प्रालि, मेकानिकल परामर्शदाताका रूपमा भारतस्थित सिआरएस र बेब्को इंग्ल्यान्ड रहेको छ। त्यस्तै, आरकेडी रियल स्टेट एन्ड कन्सट्रक्सन प्रालिको ५५ प्रतिशत सेयर रहेको छ भने पञ्चासे केबुलकार एन्ड टुर्स प्रालिको २५ प्रतिशत सेयर रहेको अधिकारीले जानकारी दिए।बाँकी गाउँपालिका र स्थानीयवासीको लगानीमा अपुग रकम लगानीका लागि टुरिजम इन्भेस्टमेन्ट फन्डको सहयोग रहने उनको भनाइ छ।

कम्पनीले केबलकार प्रविधिलाई आधुनिक बनाउन मोनोकेबल डिट्याचेबल प्यासेन्जर सिस्टमसहित सुरक्षाको पक्षलाई महŒव दिएर उपकरणहरूमा जोड दिएको जनायो। कम्पनीले साहसिक पर्यटनको अनुभूति गराउन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारी र पृथ्वी राजमार्गको दुई सय मिटरनजिक बटम स्टेसन बनाई एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफामा समेत केबलकारमार्फत पर्यटक पुर्‍याउने योजना बनाएको छ। सिद्धगुफामा केबलकार पुर्‍याउन हाल १६ रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र प्राविधिक पक्ष र लगानीको वातावरण बन्दै गरेको अधिकारीले बताए।  

करिब एक सय ५० जना कामदारले निर्माण गरिरहेको उक्त परियोजना सञ्चालनमा आएसँगै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक हजारले रोजगारी पाउने छन्।११ वटा खम्बा रहने उक्त परियोजना अन्तर्गत पर्ने सामुदायिक वनको २५ रोपनी क्षेत्र अधीनमा ल्याए बाफत कम्पनीले सरकारलाई सोही क्षेत्रफल बराबरको भूमि हस्तान्तरण गरिसकेको छ। सरकारलाई हस्तान्तरण गरेको उक्त जमिनमा समेत जिल्ला वन कार्यालयको समन्वयमा तीन वर्षभित्र वृक्षरोपण भइसक्ने उनले जानकारी दिए।  

‘परियोजनाले स्थानीय सेयरधनीका परिवारमध्ये दुईजनालाई केबलकारमा आवतजावत निःशुल्क र एकजनालाई रोजगारीको समेत ग्यारेन्टी गरेको छ,’ अधिकारीले नागरिकसँग भने, ‘सेयरधनी, गाउँले र स्थानियलाई दक्षता अनुसारको रोगजारीसमेत उपलब्ध गराउने कम्पनीको योजना हो।’प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु मानिएको उक्त परियोजना अन्तर्गत ठूलढुंगाबाट बरालथोकसम्म केबलकारबाट एक घन्टामा दुई सयजनाले वारपार गर्न सक्नेछन्।  हाल डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटर चढ्नुपर्ने अवस्था रहेकोमा केबलकार सञ्चालनमा आएपछि उक्त यात्रा नौ मिनेटमा समेटिने छ। 

बन्दीपुर घुम्न आउने पर्यटक मात्रै नभई बिन्दवासिनी मन्दिर, थानीमाई मन्दिर, तीनधारे महादेव र नागमणि मन्दिर लगायत धार्मिक क्षेत्रलाई समेत परियोजनाले समेट्ने भएकाले केबलकार निर्माणले धार्मिक पर्यटनलाई बढावा दिने विश्वास लिइएको छ।

प्रकाशित: २० पुस २०७७ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App