coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अस्थिरतामा पनि सेयर उकालो

आर्थिक र राजनीतिक दृष्टिकोणले यतिखेर मुलुकको अवस्था सन्तोषजनक छैन। कोरोना महामारीले गर्दा समग्र आर्थिक क्षेत्र खुम्चिएको छ। विकासका ठूला आयोजना समयमै सम्पन्न हुन सकेका छैनन्। विकास बजेट खर्च गर्न समस्या भइरहेको छ।  

जनचाहना विपरीत सरकारले वैशाखमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ। निर्वाचनको घोषणापछि राजनीतिक दलहरू विभाजित भएका छन्। निर्वाचन रोक्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।  

स्थायी सरकार रहेका बेला विकासले गति लिने अपेक्षा गरेको बेला निर्वाचन घोषणा हुँदा विकासभन्दा निर्वाचनको चर्चा धेरै हुन थालेको छ। राजनीतिक र आर्थिक दृष्टिकोणले मुलुकमा अनिश्चितता सिर्जना भइरहेको बेला सेयर कारोबारमा भने नयाँ रेकर्ड कायम हुने क्रम जारी छ।  

आइतबार सेयर मापक परिसूचक नेप्से ८८.१२ बिन्दुले बढेर नयाँ कीर्तिमान कायम भएको छ। सेयर सूचक २१७५.३९ बिन्दुमा पुगेसँगै नेप्सेले उच्च रेकर्ड बनाएको हो। बिहीबार कायम उच्च रेकर्डलाई तोड्दै साताको पहिलो कारोबारमा पनि अर्को रेकर्ड बनेपछि नेप्सेको वृद्धि कहिलेसम्म जारी रहला भन्ने चासो बढेको छ। गत साताको अन्तिम कारोबारमा नेप्से २०८७.२७ बिन्दुमा बन्द भएको थियो।  

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार नेप्सेको अहिलेको वृद्धिलाई सामान्य ठान्छन्। बैंकले सहजै सेयर कर्जा दिने गरेका तथा अनलाइन कारोबार र ब्रोकर कमिसन घटेका कारण नेप्से अझै वृद्धि हुने उनको अनुमान छ। ‘विश्वलगायत छिमेकी मुलुक भारतमा सेयर कारोबार वृद्धि हुँदै गएकाले नेपालमा पनि बढ्ने सम्भावना देखिन्छ,’ रौनियारले भने।  

तर कतिपय विज्ञ भने सेयर बजार सधैं वृद्धि मात्र नहुने भएकाले लगानी गर्दा राम्रोसँग बुझ्नु पर्ने सल्लाह दिन्छन्। केही महिनाकै अन्तरालमा ३/४ सय अंकले बढेको नेप्सेको वृद्धि अब रोकिन सक्ने उनीहरूको तर्क छ।  

अंग्रेजी वर्ष सन् २०२१ को पहिलो कारोबार आइतबार सेन्सेटिभ इन्डेक्स १७.१८ अंक बढेर ४१५.८८ बिन्दुमा पुग्यो। कारोबार खुलेदेखि नै नेप्सेको वृद्धि सुरु भएको थियो। तर कारोबार खुलेको एक घन्टापछि कारोबारमा केही गिरावट आउन थाले पनि लगानीकर्ता ओइरिँदा पुनः नेप्से उकालो लाग्यो। सवा १२ बजे २१३० मा रहेको नेप्से कारोबार अवधिभर बढिरह्यो। यस दिन कारोबार रकममा पनि सुधार आएको छ। २१२ कम्पनीको एक करोड ४० लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रूपैयाँ कारोबार भयो। अघिल्लो साता पाँच अर्ब ७० करोड रूपैयाँ बराबर सेयर कारोबार भएको थियो।  

सबै उपसमूहको परिसूचक हरियो

यस दिन नेप्सेसँगै कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.६४ प्रतिशत बढ्यो। त्यस्तै, अन्य उपसमूहको परिसूचक ६.१९, बैंकिङ, उत्पादन तथा प्रशोधन र जीवन बिमा उपसमूह चार प्रतिशतभन्दा बढीले वृद्धि भए। विकास बैंक, हाइड्रोपावर, निर्जीवन बिमा र लघुवित्त उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले वृद्धि भए।

फोरमका अध्यक्ष रौनियार बैंकिङ समूहको परिसूचक अझै बढ्ने सम्भावना व्यक्त गर्छन्। ‘२७–२८ खर्बको सेयर बजारमा २०–२२ खर्ब रूपैयाँ बैंकिङ उपसमूहको छ,’ उनले भने, ‘तर अहिलेसम्म बैंकका सेयर मूल्य खासै बढ्न सकेका छैनन्।’ यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ५० करोड ९५ लाख रूपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। त्यस्तै, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रूपैयाँ बराबरको सेयर किनबेच भयो।  

पाँच कम्पनीमा सकारात्मक सर्किट  

यस दिन पाँच कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भयो। हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल पुनर्बिमा कम्पनी र प्राइम कमर्सियल बैंकको साधारण तथा संस्थापक सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भए। कुमारी बैंक, गुराँस लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढ्यो।  

यता राधी जलविद्युत् कम्पनीको सेयर मूल्य भने सर्वाधिक घट्न पुग्यो। उक्त कम्पनीको सेयर ४.२९ प्रतिशत घटेको छ। त्यस्तै, शिवश्री हाइड्रोपावर र युनाइटेड फाइनान्सको सेयर मूल्य पनि तीन प्रतिशतभन्दा बढीले घट्यो।

प्रकाशित: २० पुस २०७७ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App