रि–सिलिङ भन्दै गोल गिट्टी हालिएको पूर्व पश्चिम राजमार्गको मर्मत सम्भारको काम पाएको निर्माण कम्पनीले झारा टार्ने काम गरेको छ। फुटेको ठाउँमा टालाटुली गरेर मर्मत गरिए पनि माथिबाट गिट्टी हालेर बनाइएको रि–सिलिङको काम भने झारा टारेजस्तो गरिएको स्थानीयल बताउँछन्।
कैलालीको वनबेहडादेखि चौमालासम्म गरिएको रि–सिलिङको काम गुणस्तरहीन भएको बताउँदै स्थानीय योगेन्द्र देउवाले भने,‘रि–सिलिङ गरिएको सडकमा मोटरसाइकल गुडाउँदा एउटा कुनाबाट अर्को कुनातिर धकेलिन्छ।’ रि–सिलिङको नाममा झारा टार्ने काम भएको बताउँदै उनले भने,‘कतै गिट्टी हालिएको छ भने कतै छोडिएको छ।’ राष्ट्रिय राजमार्ग मर्मतका नाममा झारा टराइ गर्नु उचित नभएको बताउँदै उनले भने,‘रि–सिलिङ गरिएको ठाउँमा मोटरसाइकल गुडाउनै सकिँदैन, एकातिर चलायो भने अर्कोतिर भाग्छ।’ सडकमा लाइनिङ भएका कारण त्यस्तो समस्या आएको बताउँदै अर्का स्थानीय सुरत रावत भन्छन्,‘सडक डिभिजन कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोमा गुणस्तरहीन काम भएको छ।’ रि–सिलिङका नाममा झारा टार्ने काम भएको बताउँदै उनले भने,‘वनबेहडादेखि चौमालासम्मको १० किलोमिटरको यात्रा गर्दा सबैलाई प्रष्टै थाहा हुन्छ कि यो सडकमा ठेकेदार कम्पनीले झारा टार्ने कामबाहेक केही गरेन।’ मर्मत सम्भारका नाममा सडकमा लापरबाही गर्ने ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालयले नियमन गर्नुपर्ने उनले बताए।
पूर्वपश्चिम राजमार्गको अत्तरिया–चिसापानी सडक खण्डको मर्मत सम्भारको ठेक्का पाएको कालिका जोशी जेभीले रि–सिलिङका नाममा सडकमा कतै गोल गिट्टी हालेको छ भने कतै छोडेर झारा टार्ने काम गरेको छ।
वनबेहडादेखि चौमालासम्मको सडकमा बनाइएको रि–सिलिङ गणस्तरीय नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले स्वीकारे। उनले भने,‘हामीले सडकको अवस्था राम्रो नभएको भनेर निर्माण कम्पनीलाई पत्राचार गरिसकेका छौँ, त्यसलाई चाँडै पुनःमर्मत गर्न निर्देशन दिइसकेका छौँ।’
नोजलको समस्याका कारण बनबेहडादेखि चौमालासम्मको सडकमा गरिएको रि–सिलिङ गुणस्तरीय नभएको स्वीकार्दै निर्माण कम्पनी कालिका जोशी जेभीका गणेशदत्त जोशीले भने,‘केही गल्ती भएकै छ, हामी त्यसलाई सच्चाउँछौँ।’ उनले दुई तीन दिन घाम लागेमा तापक्रम बढेपछि लाइनिङ भएको ठाउँमा पुनः मर्मत गरेर रि–सिलिङको काम दोहार्याउने बताए। ‘नोजलका समस्या कारण त्यस्तो भएको रहेछ,’ उनले भने,‘अब तुरुन्तै त्यो ठाउँमा पुनः मर्मत गरिन्छ।’
कैलालीको अत्तरियादेखि चिसापानीसम्मको ७९ किलोमिटर सडक ‘पाइलट सडक मर्मत योजना’ अन्तर्गत मर्मत सम्भारको काम भइरहेको हो। १७ करोडको लगानीमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले गरेको ठेक्का आह्वानमा कालिका जोशी जेभीले सकारेको थियो। २०७५ फागुन ७ गते सम्झौता भएको सडक २०७८ फागुन ७ सम्म सो क्षेत्रमा निर्माण गर्नुपर्ने सम्पूर्ण सडक मर्मतको काम सोही निर्माण कम्पनीले गर्नेछ।
लाइनिङले दुर्घटना भय
पूर्वपश्चिम राजमार्गको वनबेहडा–चौमाला सडक खण्डमा भर्खरै गरिएको रि–सिलिङ (नयाँ गिट्टी भर्ने काम) गुणस्तरीय नहुँदा बनेको लाइनिङले दुर्घटनाको भय बढेको छ। सडकमा लाइनिङ हुँदा रफ्तारमा गुडेको मोटरसाइकल अनकन्ट्रोल हुँदा दुर्घटना बढ्ने समस्या बढेको सरोकारावाला बताउँछन्। ‘सो क्षेत्रको सडकमा भएको लाइनिङले दुर्घटनाको भय बढेको छ,’ स्थानीय प्रकाश थापाले भने,‘यो सडक निर्माणका नाममा लापरबाही गरियो, जसले गर्दा दुर्घटनाको भय बढेको छ।’ जिल्लामा हुने दुर्घटना मध्ये झण्डै ७० प्रतिशत दुर्घटना पूर्वपश्चिम राजमार्गमा हुने गरेको प्रदेश ट्राफिक कार्यालय बताउँछ।
प्रकाशित: ८ पुस २०७७ ११:२९ बुधबार