७ वैशाख २०८१ शुक्रबार
अर्थ

मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योग बन्द गरिदैँ

लाल बकैया क्रसर उद्योगमा जम्मा गरिएको नदीजन्य पदार्थ।तस्बिर: नागरिक

निजगढ नगरपालिका क्षेत्रमा सञ्चालन गरिएको क्रसर उद्योग मध्ये सात वटालाई बन्द गर्ने निर्णय गरिएको छ।ढुगा, गिट्टी, बालुवा उत्खन्न बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बिपरीत कारोबार गरेको भन्दै क्रसर उद्योगलाई  बन्द गर्न निर्णय  जिल्ला समन्य समिति बाराले जनाएको छ।

नदीजन्य तथा खनिजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकबाट नेपाल क्रसर उद्योग, हिमाल क्रसर उद्योग, लाल बकैया क्रसर उद्योग, चौलागाई क्रसर उद्योग, वैष्णवी क्रसर उद्योग, श्री बकैया क्रसर उद्योग र दंगाल क्रसरलाई तत्कालको लागि बन्द गर्ने निर्णय गरिएको जिल्ल समन्वय अधिकारी सुनिल चौरसियाले बताएका छन्।

ढुगा, गिट्टी, बालुवा उत्खन्न बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा उत्खनन् गर्ने कच्चा पदार्थको स्रोत सहितको बिवतरण प्रत्येक बर्षको भदौ मसान्त भित्रमा अनुगमन समितिमा पेश गर्नु पर्नेमा यी क्रसर सञ्चालकहरुले बिवतरण पेश नगरेको अवस्था रहेको चौरसियाले बताए।

जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेका अनुगमन टोलीले अनुगमन गर्दा यी क्रसरहरुले कति परिमाणमा स्टक जम्मा गरेको, जम्मा गरिएको नदीजन्य पदार्थको स्टक काँहाबाट ल्याए र निजगढ नगरपालिकालाई तिर्नु पर्ने राजश्व समेत नियम अनुसार नतिरेको देखिए पछि बन्द गराउन निजगढ नगरपालिकालाई लिखित रुपमै जानकारी गराएको चौरसियाले बताए।

क्रसर सञ्चालकहरुले बकैया खोलामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने र त्यसको बिवरण समेत नपठाउने कार्यलाई व्यवस्थित गर्नको जरुरी देखिएको बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताएका छन्।

निजगढ नगरपालिका प्रमुख सुरेश कुमार खनालले क्रसरहरुलाई व्यवस्थित गर्नको लागि मापदण्ड पुरा गर्नेलाई केही दिनको लागि बन्द गर्न लगाइएको बताएका छन्।

बन्द गरिएको क्रसर उद्योगहरुले जम्मा गरेका नदीजन्य पदार्थको स्टकको परिमाण, त्यसलाई खरिद गरेको बिल भरपाई र स्टक रहेको नदीजन्य पदार्थको नियम अनुसार राजश्व नगरपालिकालाई बुझाएमा पुनः सन्चालन हुने खनालले बताए।

मंसिर २४ गते निजगढमा सञ्चालित रहेको क्रसरहरुको जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा प्रमुखहरुको टोलीले स्थलगत अनुगमन गरेको थियो।

प्रकाशित: ८ पुस २०७७ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App