coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेलम्ची खानेपानी सुरुङमार्गमा पुनः गेट जडान अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गमा पुनः गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यसअघि जडित संरचनामा त्रुटी फेला परेपछि नयाँ डिजाइनमा बिगत चार महिनादेखि पुनः गेट जडानको काम भइरहेको हो ।  

‘त्रुटी सच्याउँदै गेट जडानको काम अन्तिमतिर पुगेको छ,’ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने । गेट रहने संरचनामा कंक्रिटिङ ढलान र फ्रेम बनाउने काम सकिएपछि फलामे गेट झुण्डाउने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार आयोजनाले पुस दोस्रो सातासम्म सुरुङमा गेट राख्ने कार्य सकिने अनुमान गरेको छ ।  

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटी भएको फेला परेको थियो । गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिए पनि दुईको ज्यान गएको थियो ।  

घटनापछि खानेपानी मन्त्रालयद्धारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानविन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटी रहेको औँल्याएको थियो । समितिकै छानविन प्रतिवेदनको सिफारिसअनुसार असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य भइरहेको छ । पहिला बाहिरबाटै बाहिरै खोल्न मिल्ने गरी गेट जडान गरिएको थियो । अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी गेट जडान भइरहेको हो । बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी राखिएका गेट सुरुङमा जम्मा भएको पानीको चापले धकेलेर नटबोल्ट खुस्कँदा दुर्घटना भएको थियो ।  

तीन महिनाभित्र मंसिरसम्ममा गेट जडानको काम सक्ने गरी काम थालिएको थियो । प्राविधिक कारणले गेट जडानमासमेत ढिलाइ भइरहेको प्रवक्ता पन्तले बताए । आयोजनाका विज्ञ टोलीको निरीक्षण र निगरानीमा गेट जडानको काम भइरहेको उनले जनाए । ‘पुनः समस्या नआओस् भनेर विज्ञ टोलीले स्थलगत अनुगमन गरिरहेको छ,’ पन्तले भने ।  

गेट जडान सकिएपछि विज्ञ टोलीले समग्र सुरुङको अवस्थाबारे प्रतिवेदन बुझाउने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रतिवेदनको सिफारिसका आधारमा सुरुङमा पानी छिराएर परीक्षण (पथान्तरण) थालिने छ । ‘विज्ञको प्रतिवेदन अनुसार मात्र पथान्तरण थालिने भएकाले त्यो कहिले सुरु हुने भनेर अहिल्यै भन्न सक्ने अवस्वा छैन,’ प्रवक्ता पन्त बताउँछन् ।  

साढे २६ किलोमिटर लामो सुरुङमार्गका चार अडिट टनेल अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा रहेका चारवटै गेट पुनः जडान भइरहेको हो । नयाँ गेट जडान गर्नुअघि पुरानो निकालेर संरचना भत्काइएको थियो । सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्स (मुहान) को पनि काम गरिरहेको छ । इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट पुनः डिजाइन, निर्माण, जडान भइरहेको छ । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरिरहेको छ । पूरानो गेटको काम पनि यी दुई कम्पनीले गरेका थिए ।  

गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो । परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो । सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो । सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो । अब पुनः पथान्तरणको काम सक्न त्यति नै समय लाग्ने आयोजनाले जनाएको छ ।  

गेट सच्चाउँनेसँगै हेडवक्र्सको काम पनि एक साथ भइरहेको छ । आगामी अप्रिलसम्म हेडवक्र्सको काम सक्नुपर्ने सम्झौता छ । अहिले हेडवक्र्समा कंक्रिट बिच्छाउने काम सकिएको छ । फागुनसम्म पथान्तरण परीक्षण सकेर हेडवक्र्सको काम सकेसँगै (अप्रिलसम्म) मेलम्ची पानी काठमाडौँ पु¥याउन आयोजना कस्सिएको प्रवक्ता पन्तको दाबी छ ।  

प्रकाशित: ३ पुस २०७७ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App